|

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच तय भएको मैत्रीपुर्ण खेलका लागि भारतीय टीम नेपाल आइपुगेको छ।

प्रशिक्षक इगोर स्टिमाकसहित २५ सदस्यीय टिम नेपाल आइपुगेको हो। नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको भन्दै नेपालसँगको मैत्रीपुर्ण खेलले साफ च्याम्पियनसिपमा फाइदा पुग्ने बताए।

कोरोना महामारीका कारण दर्शक प्रवेश भने नहुने संभावना बलियो रहेको छ। यद्दपी एन्फाले मंगलबार दर्शकका विषयमा निर्णय गर्ने जनाएको छ। एन्फाले खेलमा भ्याक्सिन लगाएका र पिसिआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ।

सरकारले कुनै जवाफ नदिएको जनाइएको छ। नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा भारतले १३ खेलमा जित हात पारेको छ भने नेपाल केवल २ खेलमा विजयी भएको छ। बाँकी चार खेल बराबरीमा सकिएका छन्। 

भारतले नेपालको पोस्टमा ३३ गोल गर्दा नेपालले भने ९ गोल गरेको छ। पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बइमा भएको सो खेलमा भारत २–० ले विजयी भएको थियो। दुई टिमबीच दशरथ रंगशालामा २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्तखेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसअघि सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल  र भारतबीच प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपालले २–१ को जित निकालेको थियो। नेपालविरुद्ध भारतका कप्तान सुनील क्षेत्रीले सर्वाधिक गोल गरेका छन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दा पाँच गोल गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.