|

धनगढी : एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभाका सांसद कित्ता क्लियर गर्न थालेका छन्। नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक  १३ सांसद प्रदेश सांसदले आजै प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर सनाखत गर्ने तयारी गरेका छन्। उनीहरू कार्यालयमा पुगिसकेका छन्।

प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसदमध्ये अधिकांश नेकपा (एकीकृत समाजवादी) रोज्ने पक्षमा देखिएका छन्। प्रदेश सभामा विगतमा १७ जना माधवकुमार नेपाल र सातजना केपी शर्मा ओली पक्षमा थिए। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १३ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा आजै सनाखत गर्दै छन्। 

'आज १३ जनाले सनाखत गर्ने तयारी गरेका छौं, हामी निर्वाचन आयोग कार्यालय पुगेका छौ।' समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भनिन्, ‘२२ गतेसम्म थप दुई-तीन जनाले सनाखत गर्नुहुन्छ।’

जोशीसहित भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, अर्चना गहतराज, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नयाँ पार्टीको पक्षमा सनाखत गर्ने बताइएको छ।

 ‘१४, १५ जना सांसदले नयाँ पार्टीको पक्षमा सनाखत गर्नुहुन्छ,’ भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले भने। 

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरूले पनि रावलको साध छाडेको चर्चा छ।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरूले नेकपा एमालेमै रहने बताएका छन्। यता, प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्य आएको जानकारी दिए। ‘आज सनाखतका लागि आउँछौ भनेर केही सांसदले जानकारी गराउनुभएको छ,’ भट्टले भने। 

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरूमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए। नयाँ पार्टी दर्ता भएपछि अंक गणित फेरबदल भएकाे छ।

निर्वाचन आयाेगले नयाँ पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेकाे थियो। 

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ। दल दर्ताका लागि निवेदन दिएको दिन भदौ २ गतेदेखि गणना गरिएको थियो। 

दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा उल्लेख छ, ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन।’

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ। 

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र बोकेर जानुपर्ने बताइएको छ। 

त्यस्तै, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.