पुरानो राप्रपा मिलाउनुपर्ने बाध्यता

|

धनकुटा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै धनकुटामा पनि यसको सरगर्मी जिल्ला जिल्लामा बढिरहेको छ। जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरुले टोल–टोल र वडा–वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिन थालेका छन्।

धनकुटाका चोकचोकमा र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा–परिचर्चा हुन थालेको छ।

यतिबेला सबै समूह आफ्नो रणनीति तय गरेर वडा र नगर समितिका उम्मेदवार चयन गर्ने र नगर सभापतिसहित वडा-वडाबाट प्रतिनिधि आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेका छन्।

पार्टीको १३ औं महाअधिवेशन दौरान जिल्ला सभापतिमा कमोट फागो र अग्निप्रसाद पौडेलले प्रतिस्पर्धा गरेका थिए। जसमा पौडेल विजयी भएर जिल्ला सभापतिको कार्यभार समालिरहेका छन्। फागो पौडेल प्यानल र पौडेल देउवा प्यानलबाट मैदानमा उत्रेका थिए।

१३ औं महाअधिवेशनमा धनकुटा कांग्रेसमा अधिकांश देउवा प्यानलका उमेद्वार विजयी भएका थिए। १३औं महाअधिवेशनमा देउवा पक्षका अग्निप्रसाद पौडेलले रामचन्द्र पौडेल पक्षका फागोलाई ६ मतले पराजित गरेका थिए।

कांग्रेसको विधानअनुसार वडाबाट छनोट भएका प्रतिनिधिहरूले स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउनेछन्।

विधानमा जिल्ला सभापति र गएको प्रदेश तथा संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार बनेकाहरु स्वत: स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधि हुन पाउनेछन्।

जसअनुसार वर्तमान जिल्ला सभापति अग्निप्रसाद पौडेल, गत निर्वाचनमा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार मनोहरनारायण श्रेष्ठ र र प्रदेशसभाकै समानुपातिक सांसद लीला सुब्बा स्वत: बनेकाहरु स्वत: स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधि बनेका छन्।

कांग्रेसको आगामी १८ देखि २२ गतेभित्रमा एकदिन जिल्लाभर वडा अधिवेशन, २७ गते स्थानीय तहको अधिवेशन, असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुने भएको छ।

कांग्रेसको धनकुटा जिल्ला समितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवसहित ४१ जना सदस्यको लागि सर्वसम्मत नभए निर्वाचन हुनेछ भने सदस्यहरूमध्येबाट कोषाध्यक्ष मनोनीत गर्ने विधानमा व्यवस्था छ।

यी हुन् आकांक्षी

धनकुटा कांग्रेसमा अहिले पनि देउवा र पौडेल समूह क्रियाशील रहेको देखिन्छ भने अन्य समूहको खासै प्रभाव रहेको पाइँदैन। जसमा आउने महाधिवेशनमा देउवा प्यानलबाट मनोहर नारायण श्रेष्ठ, अग्निप्रसाद पौडेल, नविनकिशोर शाक्य र दिनेश राई सभापतिका आकांक्षी रहेका छन्।

यस्तै, पौडेल पक्षबाट कमोट फागो, धीरेन्द्र मिश्र, इन्दिरा थापा, घनेन्द्र राज श्रेष्ठ र बालानन्द दाहाल सभापतिका आकांक्षी रहेको चर्चा रहेको छ।

देउवा प्यानलबाट सभापतिमा आकांक्षी रहेका श्रेष्ठ यसअघि २ पटक धनकुटा कांग्रेसको सभापति र हाल आमन्त्रित केन्द्रीय सदस्य हुन्।

यस्तै, पौडेल, शाक्य र राई कांग्रेस धनकुटाको वर्तमान कार्यसमितिका क्रमश: सभापति, उपसभापति र कोषाध्यक्ष रहेका छन्।

यता, पौडेल पक्षबाट सभापतिका आकांक्षी रहेका फागो गत महाधिवेशनमा सभापतिमा र मिश्र सचिबमा पराजित भएका थिए। यस्तै, थापा धनकुटा क्षेत्र नं. २ कि सभापति, घनेन्द्रराज श्रेष्ठ महासमिति सदस्य र दाहाल नेपाल विद्यार्थी संघ धनकुटाका सभापति हुन।

उनीहरूले हालसम्म उम्मेदवारी सार्वजनिक भने गरेका छैनन्। अहिले नै जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्दा वडाबाट हुने निर्वाचित हुने प्रतिनिधिमा चयन नहुने हो कि भनेर नेताहरुले घोषणा नगरेको र केही नेताहरू भने खुल्न थालेका छन्।

आकांक्षीमध्ये देउवा पक्षले मनोहर नारायण श्रेष्ठ र अग्निप्रसाद पौडेलमध्ये एक जनालाई सर्वसम्वत बनाउनुपर्ने पक्षमा छन् भने पौडेल पक्षले फागोको नाम सर्वसम्मतमा अघि सारेको आवाज सुनिन थालेको छ।

कांग्रेस धनकुटाको नेतृत्वमा आकांक्षी धेरै भए पनि अहिले आकांक्षा राख्नुको अर्थ नहुने सचिव विजयसन्तोषी राई बताउँछन्। जिल्ला अधिवेशनको लागि प्रतिनिधि वडाबाटै निर्वाचित भएर आउनुपर्ने विधानमा व्यवस्था भएकाले अहिले आकांक्षा राख्नुको अर्थ नहुने राईको भनाइ छ।

‘वडाबाट निर्वाचित भएर स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि प्रतिनिधि भएर आउनुपर्छ’, उनले भने, ‘अहिले आकांक्षा राखेर वडाबाटै निर्वाचित भइएन भने के गर्नु?’ पहिले वडाबाट निर्वाचित भएपछि आकांक्षा राख्दा उपयुक्त हुने राईको भनाइ छ।

यता, सभापतिका आकांक्षी रहेका धीरेन्द्र मिश्रले भने अहिले सभापतिका आकांक्षी रहेका वडाबाट निर्वाचित नहुने अवस्था नरहेको बताउँछन्। उनले वडा अधिवेशनमा एकाधबाहेक वडामा निर्वाचन हुने सम्भावना कमै रहेको बताए। आफू पनि सभापतिको आकांक्षी भएकाले आफूलाई युवाहरुको साथ रहेको मिश्रले बताए।

हाल जिल्ला समिति सदस्यहरु रहेका लेखनाथ पौडेल, अन्जना ताम्ली, मोहन बान्तवा, निर्मल ओझा सचिवमा आकांक्षी रहेका छन्। तर, सभापतिको टुंगो नलागी अन्य पदमा नटुंगिने बताउने पनि उति नै छन्। सभापतिमा धेरै आकांक्षी रहेकाले ती आकांक्षीहरू उपसभापति, सचिवको उम्मेदवार बन्न सक्ने पनि बताइएको छ।

यता, जिल्ला सभापति पौडेलले सभापतिमा दोहोर्‍याउनेभन्दा पनि साथीहरूले आफूलाई निर्विरोध सभापति हुनु भनेर सल्लाह आउने गरेको बताए। यसका लागि व्यापक छलफल भइरहेको उनले जानकारी दिए। उनले भने, ‘अहिलेको विषम परिस्थितिमा निर्वाचनमार्फत भन्दा पनि सहमति र सहकार्यमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ। साथीहरू सकारात्मक हुनुहुन्छ।’

उनले जिल्लामा समीकरणको कुरा हल्ला मात्र भएको दाबी गर्दै सबैलाई समेट्ने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। उनले सभापति हुँदा सबैलाई समान व्यवहार गरेकाले दुवै समूहले आफ्नो समूहबाट चुनाव लड्न अनुरोध गरिरहेको बताए।

पुरानो राप्रपा मिलाउनुपर्ने बाध्यता

धनकुटामा कांग्रेसको अधिवेशन गर्दा सुनिलबहादुर थापाको नेतृत्वमा कांग्रेस प्रवेश गरेको तत्कालीन राप्रपाको समूहलाई पनि समेट्नुपर्ने अवस्था छ। राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थापा हाल कांग्रेसको केन्द्रीय सहमहामन्त्री रहेका छन्।

केन्द्रको पदाधिकारी भएको कारणले कांग्रेसको विधानअनुसार उनी स्वत: धनकुटाबाट महाधिवेशन प्रतिनिधि भएका छन्। आफू कांग्रेस प्रवेश गर्दा तत्कालीन अवस्थामा रहेका कांग्रेस र राप्रपाको सहमतिमा अधिवेशन गर्ने सहमतिअनुसार सबैलाई समेटेर धनकुटामा अधिवेशन गरिने थापाले बताए। उनले आफूहरू राप्रपा त्यागेर कांग्रेस बन्न आएको हुनाले कुनै गुट उपगुट नगर्ने र नलाग्ने बताए।

थापाले वडादेखि जिल्लासम्मको अधिवेशन सकिएपछि आफूले केन्द्रमा कुन पदमा उठ्ने भनेर सार्वजनिक गर्ने बताए। अहिले केन्द्रीय पदाधिकारी भएकाले स्वत: पदाधिकारी दाबी हुने भए पनि यही पदमा भन्ने पछि सार्वजनिक गर्ने थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.