धारा बनेपछि पानीबारे कुनै निकायले राखेनन् चासो

|

काठमाडौं : बुधबारको अपरान्ह १२ बजेको चर्को घाम। त्यही घामले तिर्खाएपछि सुन्धाराका नितेश अधिकारी प्यास मेट्न खाली मिनरल वाटरको बोतल बोक्दै सुईं सुईं भृकुटीमण्डपमा रहेकाे धारातर्फ आए।

पानी भरेर तिर्खा मेट्ने उनको धोको थियो। तर धारा खोल्दा पानी नै आएन। त्यसपछि उनले उनका साथीलाई भने, ‘यो धारा त अस्ति मात्र बनेको होइन र ! तर, पानी आउँदैन रहेछ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत २० गते नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोल्दै मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गरेकी थिइन्। तामझामका साथ गरिएको उद्घाटनमा उक्त धारामा २४ घण्टा पानी आउने र सबैले उपयोग गर्न पाउने बताइएको थियो। 

तर उद्घाटन भएको ५ महिना नबित्दै धारामा पानी आउन छाडेको छ। अहिले धारामा लगाएको रंग खुइलिसकेको छ भने लेऊ उम्रिन थालेको छ। पातपतिंगरले धारा कुरूप बन्दै गएको छ। तर कुनै निकायले लेखाजोखा गरेका छैनन्। 

पानी थाप्न आएका अधिकारीले पानी नआउने धारा बनाएर सर्वसाधारणलाई झुक्याएको बताए।

‘यसो धारा हेर्दा त नयाँ छ, पहिला २४ सै घण्टा पानी आउने सुनेको थिएँ, खै पानी नै नआउने रहेछ। यस्तो धारा चाहीं किन बनाउनु परेको हो ?,’ आक्रोश पोख्दै खाली बोतल बोकेर उनी त्यहाँबाट फर्किए।

‘मेलम्चीको पानी नआए पनि सुन्दरीजलको पानी पठाउन सकिन्थ्यो’

गत असारमा मेलम्ची र इन्द्रावतीमा आएको ठूलो बाढीले मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेपछि यतिखेर उपत्यकामा पानी आएको छैन। तर, पनि सुन्दरीजललगायत स्रोतको पानी अहिले पनि उपत्यकाभित्र वितरण भइरहेकाे जानकारी दिँदै भृकुटीमण्डपका स्थानीय रामेश्वर ढकालले त्यही स्रोतको पानी  धारामा ल्याउन सकिने बताए।

‘उद्घाटनको दिन पानीको फोहोरा नै बनाएर राष्ट्रपतिले धारा उद्घाटन गरिन्। तर मेलम्चीको पानी नआएदेखि नै यहाँ पनि पानी आएको छैन। अहिले पानी आउँछ भन्दै धेरैले भाँडा बोकेर पानी थाप्न आउँछन्। पानी नै छैन । त्यसै फर्किन्छन्। अरु स्रोतबाट भएपनि पानी पठाए उनीहरूलाई सहज हुन्थ्यो,’ उनले भने।

लाखौं खर्चिएको धारामा निकास पनि छैन, अपांगमैत्री पनि छैन

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले सबै सर्वसाधारणको पहुँच पुग्ने ठाउँ भृकुटीमण्डप नै भएकोले त्यहीं ढुंगेधारा बनाएको थियो। उक्त जमिन भने समाज कल्याण परिषद,भृकुटीमण्डप सञ्चालन कार्यालयको हो।

उद्घाटन गर्नकै लागि  हतार–हतार गरी एक साता पनि नलगाइ धारा बनाइयो। तर, पानीको निकास हुने ठाउँ भने बनाइएन। पानी जाने निकास नहुँदा धारामा पानी आएको बेला आउने सबै पानी कार्यालयभित्र छिर्ने गरेको भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले बताए। 

‘पहिला पानीको निकास कहाँबाट दिने भनेर डिजाइन गरेर पो धारा बनाउनुपर्छ। डिजाइन बिना हतार-हतार धारा बनाउँदा अहिले सबै पानी कार्यालयभित्र छिर्छ।अहिले पो पानी आउँदैन। आएपछि यही भित्र छिर्छ। हामीले गरेको पिच बाटाे पनि धाराको लागि भत्काइयो, अहिलेसम्म कसैले पनि पिच गरिदिएन,’ उनले भने।

उनका अनुसार पहिला धारा अपांगमैत्री बनाउने कुरा थियो तर, बनेन। ‘धारामा पहिला उभिएर पानी थाप्ने जाली पनि थिएन,’ भट्टराईले भने, ‘पछि हामीले आफ्नै खर्चमा हालेका हौँ, अपांगमैत्रीको त कुरै छोडौं।’ 

पानी आए नआएको सम्बन्धित निकायलाई छैन जानकारी

खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले पानी नआएको विषयमा कुनै जानकारी नभएको बताए।

थाहाखबरकर्मीले पानी नआएको विषयमा जानकारी गराएपछि उनले भने, ‘मेलम्चीको पानी नआएकोले त्यहाँको धारामा नआएको होला । म सोधीखोजी गरेर अरु स्रोतको भएपनि पानी धारामा पठाउँछु।’ उक्त ढुंगेधारा निर्माण गर्दा करिब २ लाख रूपैयाँ खर्च भएकाे उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.