|

काठमाडौं : हराएको खुशी पाउनु चानचुने कुरा होइन्। त्यसमाथि आशा मारिसकेको व्यक्ति पुन: सम्पर्कमा आयो भनेत्यो भन्दा खुशीको क्षण अर्को के हुन् सक्छ?

नेपालमा अझै कति व्यक्ति घर र परिवारसँग बेखबर छन्। सन्तान आउने आशामा बाबुआमा कुरेर बसेका छन्। परिवारसँग बेखवर बेपत्ता व्यक्ति परिवार भेट्ने आशामा छन्।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका-७ चिउरीडाँडाका डण्डराज खनालले  ३५ वर्षपछि आफूलाई जन्मदिने बुबाआमा भेटे। दाजुभाइ भेटे। आफ्नो गाउँ टेके।

बुधबार भेट्दा उनी हिन्दी लवजमा भन्दै थिए, 'जीवन भनेको भाग्यको खेल रहेछ। भाग्यमा जे छ त्यहि पाउने हो। भोग्ने हो।'

वि.स २०४२ सालतिर डण्डराज खोटाङबाट पढ्न धरान पुगे। तर, उनलाई घर फर्कन करिब ३५ वर्ष लाग्यो।

घर छोड्दा उनी १२ वर्षका थिए। अहिले उनी ५० वर्षको वरिपरि छन्। यो बिचमा उनले आफ्नो घर खोज्न गरेको संघर्ष र जीवनको उतारचढाव कम्ती दु:खद र रोचक छैन।

उनी घरबाट हिड्दा उनका माइला दाजु पनि सँगै थिए। तीन दिनको पैदल हिडेर उनी धरान पुगेको सम्झन्छन्। धरान पुगेको २ दिनपछि दाजु धरान बस्न नसक्ने भन्दै घर फर्किन कस्सिए। तर, उनी पढ्न आएको भन्दै पढेर मात्र घर फर्कने भनेर जिद्दी गरे। दाजु एक्लै गाउँ फर्के।

त्यसपछि उनले संकल्प गरे, 'कसैको घरमा काम गरेर भएपनि पढ्छु।' धरान उनका लागि पढ्न सक्ने अवस्था रहेन। उनी एकदिन गाडी चढेर धनकुटा पुगे। धनकुटामा एक नमकिन व्यापारीको काम गर्दै पढ्ने भन्दै बसे। त्यहाँ काम गर्ने अन्य ५ जना पनि थिए। जो एक वर्षदेखि काम गरिरहेका थिए। उनीहरूले यहाँ पढ्न पाइदैन भनेर भनिदिए। अनि नमकिनको प्याकेट बोकेर उनी त्यहाँबाट निस्के।

त्यसपछि उनी  धनकुटाबाट विराटनगर। विराटनगरबाट हेटौडा। हेटौडाबाट वीरगञ्ज। वीरगञ्जबाट जनकपुर। जनकपुरमा एक व्यवसायीको घरमा चार वर्ष बसेर उनले एसएलसी पास गरे। ति व्यवसायी त्यहाँबाट बसाइ सरे। त्यसपछि उनी काठमाडौं आइपुगे।

त्यतिबेलासम्म उनले घर सम्झेनन्। काठमाडौंमा उनले होटलमा काम गरिरहेका थिए। दिल्लीबाट आएको एक टोलीले यस्तै मिहिनेत दिल्लीमा गर्‍यो भने दोब्बर पैसा कमाइन्छ भनिदियो। त्यसपछि उनी दिल्ली पुगे।

दिल्लीको रमझम र संघर्ष गर्दागर्दै एकदिन उनले नेपालबाट गएका एकजनालाई आफ्नो दाजु दाताराम खनालको बारेमा सोधखोज गरे।

ती व्यक्तिले दाताराम बुटवलमा छन् भनेर बताइदिए। उनी दाजुलाई भेट्न बुटवल पुगे। लोक सेवाको तयारीमा रहेका दातारामले भाइलाई ५१ सालमा एक पटक भेटेको बताउँछन्। 'त्यो भेटमा आफू दिल्ली रहेको र  त्यहाँ आकाश शर्मा भनेर चिन्ने सुनाएको थियो।। दशैमा आउछु भनेर हिडेको मान्छे त्यसपछिका २८ वटा दशैमा पनि घर फर्किएन्', दाजु दातारामले भने।

लोकसेवाको तयारीमा रहेका दाताराम पास गरेर बझाङ पुगे। पछि डण्डराज बुटवल पुगेका थिए। तर, दाजु थिएनन्, न उनले कुनै ठेगाना छोडेका थिए।

दाताराम पनि बुटवल अस्पतालमा नपुगेका होइनन्। तर, त्यसबेला डण्डराज बुटवल आउन छोडिसकेका थिए। 'त्यसबेला फोनको जमाना थिएन्। गाउँको ठेगाना भाइले लिएको  थियो',दाताराम भाइलाई सोधे, 'अनि किन चिठी लेखिनस् त नी?'

डण्डराज केहिबेर मौन बसे। अनि अतिततिर फर्के।

दिल्लीमा होटलमा काम गरिरहेका थिए। उनी एकदिन चक्कर लागेर लडे। दुई दिनपछि उनको होस खुल्यो। बिडम्वना पुराना यादहरू गुमाए। ठेगाना लेखेको पत्र हरायो।

उनका अगाडिको दुनियाँ नै उनका लागि आफ्ना बने। आफ्ना अगाडि जे देखिन्छ। त्यो नै सत्य हो भन्ने लाग्यो।  उनले दिल्लीमा घरजम गरेँ। कोही कसैले पनि उनको विगत फिर्ता ल्याउन सकेनन्। तर, ११ वर्षपछि उनको जीवनमा उज्यालो थपियो। उनी पुराना दिन याद गर्न थाले। तर, पूर्णरुपले आफ्नो विगत भने अझै याद गर्न बाँकी थियो।

घरजम गरिसकेका थिए। उनी होटल छोडेर पसल खोलेका थिए।  एकदिन संयोगले उनको २ वर्षका जेठो छोरा घरबाट हराए। ६ घण्टापछि भेट्टाए। म पनि हराएको पो हुँ कि क्या हो जस्तो महसुस त्यो बेला महसुस भएको उनले सुनाए। 'म जहाँ थिएँ। त्यहाँ मलाई कहिल्यै आफ्नो आभास पनि भएन्।  मेरो अवचेतनमा मेरो घर अन्त कतै छ भन्ने लाग्यो', उनी भन्छन्।

तर, आफ्नो थाकथलो उनले भुलिसकेका थिए। उनी धरानको सम्झना गरेको सुनाउँछन्। '१२ वर्षको उमेरमा धरान पढ्न गएको याद छ। तर, कुन ठाउँबाट धरान गएको भन्ने याद भएन्। ३४ वर्षको अवधिमा कयौं पटक घर खोज्न विराटनगर, गाईघाट, धनकुटासम्म पुगेको थिएँ। यद्यपी मैले आफ्नो घर पत्ता लगाउन सकिन्', उनी हिन्दी लवजमा भन्छन्।

३५ वर्षपछि बुबाआमासँग डण्डराज

​​

एक युट्युव च्यानले जुराएको भेट

प्रविधिको प्रयोगले विकृति मात्र ल्याएको छैन। वर्षौंपछि बिछोडिएका व्यक्तिलाई घर फर्कने माध्यम पनि बनेको छ। डण्डराजले आफ्नो घर फर्कने माध्यम खोजिरहेका थिए। तर, मष्तिष्कमा गाउँको सम्झना आएपनि आफ्नो गाउँ कुन हो चिन्ने सकेका थिएन।

तर, फेसबुकमा उनले एकदिन 'नमस्ते खोटाङ' भन्ने युट्युव च्यानलको भिडियो देखे। जहाँ जिल्लामा विभिन्न क्षेत्रको भिडियो देखाइएको थियो। उनले उक्त भिडियो हेरे। भिडियोमा दिक्तेलको बारेमा थियो। बच्चा बेलामा आफु एकदुई पटक दिक्तेल गएको सम्झिए। उक्त भिडियोमा चिउरीडाँडाको भौगोलिक बनावटको बारेमा पनि थियो।

उनले त्यहाँ देखिएको डाँडो, खोलामा आफू हुर्किएको सम्झना गरे। त्यसपछि उनले निर्क्यौल गरे, 'मेरो घर यहि हो।' त्यो भिडियोमा फोन नम्बर पनि थियो। उनले त्यो नम्बरमा कल गरे।  त्यो  युट्युव च्यानल रहेछ सोही वडामा कार्यरत होम प्रधानको। प्रधानले नै उनको परिवारसँग भेटाइदिन सहयोग गरे। 


एउटा नामले मेटिएको डण्डराजको परिचय

भाइको खोजीमा दाइ दाताराम पनि नलागेका होइनन्। तर, जाने कहाँ? खोज्ने कता? ५१ सालको भेटमा भाइले आकाश शर्मा चिन्छन् भनेर दाजुलाई भनेका थिए। फेसबुकमा कतै भाइ भेटिहालिन्छ कि भनेर फेसबुकमा सर्च गरिरहन्थे दाताराम।

'मैले उसलाई फेसबुकमा आकाश शर्मा भनेर सर्च गरेर हेर्थे। तर, मैले खोजेको भाइको अनुहारसँग कुनै पनि अनुहार मिलेन। उसले फेसबुकमा नाम त आकाश कुमार राखेको रैछ। झुक्किएर मैले शर्माको ठाउँमा कुमार लेखेर सर्च गरेको भए वर्षौं पहिले हाम्रो भेट हुने रहेछ', उनी खिन्न मुद्रामा बोल्छन्।

 

दाजु दातारासँग डण्डराज

बुढेसकालमा छोरासँगको भेट

घरको काइला सन्तानको रूपमा रहेका डण्डराज फर्किन्छ कि भन्ने बुबा गुरुप्रसाद खनाल र आमा मोनिकर्णिका खनाललाई लागिरहन्थ्यो। ८५ वर्षीय आमा भन्छिन्, 'एक मनले त जिउँदै भएको भए त आउनुपर्ने भन्ने लाग्थ्यो। अर्को मनले भन्थ्यो एक दिन त कसो नआउला र?'

जीवनको लगभग साढे तिन दशक छोराको पर्खाइमा रहेका खनाल दम्पतीले आफ्नो जीवनको उत्तरार्द्धमा हराएको छोरासँग भेट्न पाएका छन्। 'छोराको अनुहार देख्न पाउँदिन कि भन्ने चिन्ता थियो। भगवानले मेरो चिन्ता सुनेछन्। छोरोको अनुहार देख्न पाएँ। मलाई हर्ष लागेको छ', उनले भनिन्।

छोरा हराएको सुरूका दिनमा खनाल दम्पतीले थाहा पनि पाएनन्। किनभने त्यो फोनको जमाना थिएन्। सायद पढेर फर्किन्छ भन्ने सोचेका थिए। दिन कटे। महिना कटे। वर्ष कटे। तर डण्डराज फर्किएनन्। त्यसपछि खनाल दम्पतीले छोरो फर्किने आशमा पूजापाठ लगाए। रुद्री गरे।

आमा भन्छिन्, 'ज्योतिषीकोमा गएर चिना पनि हेराएकी थिएँ। ज्योतिषीले छोरो फर्किन्छ भनेका थिए।'

गएको हप्ता उनी नेपाल आएका हुन्। तर, तीन महिना अघि  डण्डराजले घरमा आफ्नो खबरबारे चिठी पठाएका थिए । उनी सुनाउँछन्, 'मैले त बुबा आमा बितिसक्नु होला भनेर दाजुहरूलाई सम्बोधन गरेर चिठी लेखेको थिएँ। तर, बुबाआमा अझै मलाई कुरेर बस्नुभएको रहेछ। खुशीको सीमा नै छैन।'

 उनी चिठ्ठी भन्दा पहिले उनी घर आइपुगे। उनी सुनाउँछन्, 'मैले पठाएको चिठ्ठी म आफू घर आइसकेपछि मात्र आयो।'

उनी अब पुन: भारत फर्किएर आफ्नो परिवार नेपाल ल्याउने बताउँछन्। 'मैले मेरी श्रीमती र दुई छोरा लिएर छिट्टै नेपाल फर्किन्छु। अबको जीवन आफ्नै बुबाआमाहरूसँग बिताउँछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.