|

दाङ : दाङमा रहेको यातायात व्यवस्था कार्यालयमा करिब २ वर्ष पहिले गाडीहरूको प्रदूषण जाँच गर्न ल्याइएका मेसिनहरू प्रयोगविहीन  हुँदा अहिलेसम्म दराजमा थन्किएका छन्।

वातावरण प्रदूषण गर्नेमा सवारीसाधनहरू पनि पर्ने गर्दछन् । तर, ती सवारीसाधनहरूले कतिको प्रदूषण गरेका छन्, भनेर समय समयमा प्रदूषण परीक्षण गर्ने गरिन्छ।

तर, यातायात कार्यालय दाङमा लाखौँ मूल्य पर्ने ती मेसिनहरू अहिले प्रयोगविहीन भएर दराजमा थन्काइएको छ।  कर्मचारी, ठाउँको अभाव र लामो रुटमा चल्ने सवारीका साधनहरूको बुटवलमा चेकजाँच हुने भएकाले पनि ती मेसिनहरू प्रयोगमा नआएको कार्यालयका निमित्त प्रमुख रविन्द्र केसीले बताए।

उनले भने, ‘यो सामान आएपछि चेकजाँच गर्नुपर्ने हो।  तर,  म गत असोजमा कार्यालयमा आएको हुँ। म आएदेखि नै विभागले बुटवलमा भ्याकेल टेस्ट फिटनेस सेन्टर खोलेपछि उतै हुने भएकाले पनि यहाँ नभएको हो।’

त्यस्तै, उनले यहाँ यो सेवा गर्नको लागि २ जनाको दरबन्दी भएयता पनि एकजना मात्र भएकाले र ठाउँको पनि अभावले गर्दा सेवा दिन नसकिएको बताए। कार्यालयमा प्रदूषण चेकजाँच गर्न २ वटा मेसिनहरू रहेका छन्। एउटाले डिजेलबाट चल्ने र अर्कोले पेट्रोलबाट चल्ने गाडीहरूको प्रदूषण चेकजाँच गर्न मिल्ने भएयता पनि ल्याएको केही समयमा मात्र प्रयोगमा आएको कार्यालय मेकानिकल सुपरभाइजर पदम गिरीले बताए।

उनका अनुसार केही समय कार्यालयले जग्गा भाडाका ल्याएर सेवा दिएको भएयता पनि अहिले बन्द भएको हो। उनले भने, ‘त्यतिबेला हामी २ जना थियौँ। इन्जिनियर पनि हुनुहुन्थ्यो। अहिले उहाँको सरुवा भइसक्यो। अहिलेसम्म कोही पनि आउनुभएको छैन। विगत २ वर्षदेखि म एक्लै छु। कर्मचारी र ठाउँको अभावले गर्दा पनि यो सेवा प्रदान भएको छैन।’

त्यस्तै उनले लुम्बिनी प्रदेशबाट पूर्वतर्फ जाने गाडीहरूको जाँचपास, रुटपरमिट र प्रदूषण चेकजाँच बुटवलको बेलबासमा रहेको कार्यालयबाट हुने गरेको समेत बताए। शुरुमा कार्यालयबाट सेवा प्रदान गर्दा पनि सेवाग्राहीहरू सेवा लिन खासै नआएको समेत उनको भनाइ थियो।

‘यो चेकजाँच रातो वा कालो प्लेट भएका सबैले गराउनु पर्दछ,’ उनले भने, ‘यो खासै कार्यान्वयनमा आएको छैन। यसमा ट्राफिक प्रहरीले पनि कडाइ गर्नुपर्छ। कार्यालयले पनि सेवा प्रदानको लागि आवश्यक जनशक्ति र ठाउँको व्यवस्थापन गर्नुपर्दछ।’

गाडीहरूको साइलेन्सर पाइपहरू राखेर कम्प्युटरबाट चेकजाँच गर्नुपर्ने र धेरै प्रदूषण गर्ने गाडीहरूलाई मर्मतका लागि पठाउने पर्नेसमेत उनले बताए। उनका अनुसार गाडीहरूले समय समयमा प्रदूषणसम्बन्धी चेकचाँज गराउनुपर्ने मापदण्ड अनुसारको भए एक वर्षको लागि हरियो स्टिकर दिइन्छ, नभए मर्मतको लागि पठाइन्छ।

कार्यालयमा हालसम्म साना ठूला गरी ७२ हजार बढि सवारी दर्ता भएका छन्। तर, लामो तथा छोटो दुरीमा चल्ने सवारीका साधनहरूले अहिले सम्म त्यो सेवा नलिएको बताएका छन्। तुलसीपुरदेखि पश्चिम हापुरेसम्म ट्याक्सी चलाउँदै आएका चालक प्रेमबहादुर खड्काले अहिलेसम्म आफूले प्रदूषणसम्बन्धी चेकजाँच नगराएको बताए।

त्यस्तै, उनले कोरोना महामारीमा पनि यातायात कार्यालयबाट कुनै पनि सेवामा छुट नपाएको गुनासो गरे। उनले गत वर्षभन्दा यस पटक अझ राजश्व बढेको समेत बताए।

त्यस्तै, तुलसीपुरदेखि नेपालगञ्‍ज हाइस गाडी चलाउँदै आएका चालक नवराज पाण्डेले अहिलेसम्म आफूले चेकजाँच नगराएको बताए। उनले यो नियम काठमाडौंमा लागू भएयता पनि उपत्यकाबाहिर त्यस्तो लागू नभएको समेत बताए।

त्यस्तै, दाङदेखि काठमाडौं बस चलाउँदै आएका अर्का चालक कमल चन्दले पनि सवारी प्रदूषण चेकजाँच अहिलेसम्म आफूले नगराएको बताए। उनले दाङबाट काठमाडौं जाँदा र आउँदा बुटवलमा राति पर्ने भएकाले पनि चेकचाँज नहुने बताए।

यातायात कार्यालय दाङमा साना तथा ठूला गरी करिब ७२ हजार सवारीसाधन दर्ता भएका छन्। ट्राफिक प्रहरीले पनि सवारी साधनले ट्राफिक नियम पालन नगरे कारबाही गर्दै आएको छ। तर, ट्राफिक प्रहरीले पनि त्योसम्बन्धी कुनै चेकजाँच नगर्ने गरेको बताएको छ। तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण पुजाराका अनुसार आफूहरूसँग उपकरण पनि नभएको र चेकजाँच पनि नगर्ने  गरेको बताए।

उनले आफू पनि भर्खरै तुलसीपुरमा आएको भन्दै उपकरण नै भए पनि चेकजाँचमा कडाइ गर्न समस्या हुनेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.