वामदेवजीसँग कुरा भइरहेको छ, भ्रम फैलाइयो : अध्यक्ष नेपाल

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेबाट ‘विद्रोह’ गरेर नयाँ पार्टी गठन गरेको माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले गत सोमबार फेसबुक स्ट्याटस लेख्दै पार्टी छाडेको घोषणा गरे। अध्यक्ष नेपाल नेतृत्वको पार्टीले जनताको बहुदलीय जनवाद स्वीकार गरेर अघि नबढेको भन्दै असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजाने दाबी गर्दै माधव नेपालले पनि झेली कुरा गर्न जानेको उनले आरोप लगाए। नेपालले लेखेका थिए, ‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो, विदा।’

नेता नेपालले मात्रै होइन एमाले उपाध्यक्ष वामदेव गौतमले पनि समाजवादी पार्टीले जबजको सिद्धान्त नबोकेको भन्दै पार्टीमा प्रवेश गर्न आनाकानी गरिरहेका छन्। 

एकीकृत समाजवादीले जबज छाडेको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। उक्त पार्टीको घोषणापत्रमा मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद भएको स्पष्ट रुपमा लेखिएको छ। 

घोषणापत्रमा उल्लेख छ, ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो। यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। तर, मार्क्सवाद कुनै जड सूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो। त्यसैले यसको प्रयोग सिजर्नात्मक रूपले हुन्छ र हुनुपर्दछ।’​

‘नेपालमा मार्क्सवाद प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै मार्क्‍सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो। यो पार्टी अग्रजहरूले प्रस्तुत गर्नुभएको मार्क्‍सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारमा दृढ छ।’ 

घोषणापत्रमा भनिएको छ, ‘वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले पनि त्यही निर्देश गरेको छ। आजको परिस्थितिमा मार्क्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन मुलुकको विशिष्ट परिस्थिति अनुरुप विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ।’

कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्था भएकाले समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ। 

समाजमा रहेका सबैखाले विभेदहरूको अन्त्य गरी न्याय र समानतासहितको स्वतन्त्रता भएको तथा जनताको सुख र समृद्धिको सुनिश्चितता भएको समाज साम्यवादी समाजको स्थापना गर्ने सबै लक्ष्य प्राप्तिको संघर्षमा डटिरहन प्रतिबद्ध रहेको उल्लेख छ। 

जबज आत्मसाथ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले जबज नछाडेको दाबी गर्छन्। 

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै भने, ‘जनताको बहुदलीय जनताको देखाएको बाटोमा त्यसको मुल मर्मलाई आत्मसाथ गरेका छौँ। हामीले जबज छाडे भन्ने कसैले भ्रम नपारे हुन्छ।’

जबजलाई आत्मसाथ गर्दै वैज्ञानिक समाजवादको लक्ष्य तय गर्ने उनको भनाइ छ। 

‘हामी पुरानो चरित्र बोक्दैनौँ। देश र जनताको समस्यालाई बोकेर अगाडि बढ्छौँ। नेपालको वैज्ञानिक समाजवादकाे लक्ष्यमा लिएर अगाडि जान्छौँ’ अध्यक्ष नेपालको भनाइ छ।  

एमाले उपाध्यक्षसँग पनि छलफल भइरहेको उनले बताए। विधि र क्रान्तिकारी बाटोमा पार्टी चलाउन चाहानेहरुलाई आउन आग्रह गर्दै वामदेवको विषयमा साइबर स्यालहरूले झुटको प्रचार गरेको दाबी गरे। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.