|

पर्वत : गत असार ३१ मा बजेट पास गर्नका लागि मार्सल लगाएर जबरजस्ती चलेको गण्डकी प्रदेशको संसद् बैठक दुई महिनापछि बस्ने तयारी भएको छ।

पृथ्वीसुब्बा गुरुङको सरकार ढलेपछि नेपाली कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको नयाँ सरकारले पूर्व सरकारका योजनाहरू कटौती गरेको भन्दै प्रतिपक्षी एमालेले विरोध गर्दै आएको थियो।

बजेट पास नै गर्न नदिने अवस्थामा मार्सल लगाएर जबरजस्ती बजेट पास गराएको गठबन्धन सरकार त्यसपछि बस्ने संसद् बैठक एमालेबाट पुन अवरुद्ध गरिन सक्नेमा ढुक्क थियो। 

पूर्व सरकारले लागू गरिरहेका योजनाहरू कटौती गरेको, गठबन्धन सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्ता ठेक्का लाएको बाँडेको तथा यसअघि ठेक्कामा गइसकेका क्रमागत योजनाहरू काटिएको आरोप लगाएको थियो।

रकमान्तर गरेको, रिस साँधेर नै एमाले सरकारले बनाएका योजनामा बजेट नदिइएको लगायतका आरोप पनि एमालेले लगाएको थियो। विनियोजन विधेयक सदनमा पेस भएको दिन असार ३१ गते बजेट पारित गर्नुपूर्व एमालेले १० बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री पोखरेललाई बुझाउँदै सरकारको जवाफ समेत खोजेको थियो।

त्यसअघि नै असार २७ र २८ गते पनि एमालेले सदन अवरुद्ध गरेको थियो।

गुरुङ नेतृत्वको सरकारले सञ्चालन गरेर पोखरेल नेतृत्वको सरकारले बजेट कटौती तथा रकमान्तर गरेका १४ वटा क्रमागत योजनामा बजेट दिने भएपछि गठबन्धन सरकारले संसद् बैठक आह्वान गर्ने तयारी गरेको हो।

बजेट विनियोजन नभएको भए एमालेले पुनः त्यही माग राख्दै सदन अवरुद्ध हुन सक्ने त्रासका कारण उनीहरूलाई शान्त पार्न वर्तमान सरकारले एमालेको माग अनुसार नै क्रमागत योजनामा बजेट विनियोजन गरेको हो।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काका अनुसार गत भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १४ वटा क्रमागत योजनाहरुलाई पुनः बजेट विनियोजन गर्ने भनी निर्णय भएको छ। 

‘भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमा पहिलेबाट चलिरहेका क्रमागत योजनाको निरन्तरताको बारेमा छलफल भएको थियो। जसमा १४ वटा क्रमागत योजनालाई निरन्तर दिने निर्णय भएको छ’ मन्त्री खड्काले भने, ‘ती योजनाका लागि २३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। अर्थ मन्त्रालयमा रहेको विविध कोषबाट यो वर्षका लागि २० प्रतिशत रकम विनियोजन गर्ने निर्णय गरेका छौँ।’

प्रतिपक्षले राख्दै आएको मागको सुनुवाइ भएपछि अब सदन अवरुद्ध नहुने विश्वासका साथ गण्डकी प्रदेश सभा सचिवालयले आउँदो भदौ २९ गते बर्खे अधिवेशन आह्वान गरेको छ।

अधिवेशनमा केही विधेयक पेस गर्ने तयारी सरकारको छ। बैठकको कार्यसूची भने भदौ २८ गते बस्ने कार्य व्यवस्था समितिले तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.