‘सुशील कोइरालाविरुद्ध चुनाव लड्नु प्राविधिक गल्ती’

|

चितवन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवन कांग्रेसमा पनि चुनावको सरगर्मी बढ्दै गएको छ। चितवन कांग्रेसले भदौ २१ गते वडास्तरको निर्वाचन गर्दै छ।

यहीबेला कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न आवाज उठेको छ।

पूर्व-सभापति विकास कोइरालाले पाएको सजाय पूरा भएको भन्दै उनको कारबाही फुकुवा गर्न तरुण दल चितवनले माग गरेको छ।

यद्यपि, चितवन कांग्रेसले विकास कोइरालाको कारबाही फुकुवा गर्न केन्द्रीय कार्यालयमा यसअघि नै पत्राचार गरिसके पनि फुकुवा भने भएको छैन। विंस. २०७० सालको संविधानसभा निर्वाचनमा साविक चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध विकास कोइरालाले बागी उम्मेदवारी दिएका थिए।

बागी उम्मेदवारी दिएपछि उनलाई अनुशासनको कारबाही गर्ने कांग्रेसले निर्णय गरेको हो। विकास कोइरालाको कारबाही फुकुवा गरी उनको क्रियाशील सदस्यता नवीकरण गर्न चितवन कांग्रेसले २०७६ चैत १३ गते निर्णय गरी सोहीअनुसार केन्द्रमा सिफारिस गरेको थियो। विकास कोइराला २०६७ को १२औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिनु प्राविधिक गल्ती भएको विकास कोइरालाले बताए। सजाय भोगिसकेपछि कारबाही फुकुवा नहुँदा अचम्मित परेको उनी बताउँछन्। ‘अझै पनि गल्ती स्वीकार नगरेको भन्ने कुरा गर्लान् मान्छेहरु। प्राविधिक रुपमा त गल्ति गरेको हो। कांग्रेसमै रहँदा कांग्रेसकै नेताविरुद्ध चुनाव लड्ने कुरा त प्राविधिक कुरा हो। मैले स्वीकार गरेकै छु। सजाय पनि भोगेँ। अब त्यसअघि पार्टीमा गरेको योगदान सबै सकियो त?’, उनले भने।

६ वर्षका लागि कारबाही गरिएको भनिएकोमा उक्त अवधि सकिसकेको तर कारबाही फुकुवा नभएको गुनासो गरे। कारबाही फुकुवाका लागि जिल्लाले केन्द्रमा लेखेर पठाइसके पनि केन्द्रले भने अझैसम्म फुकुवा गरेको छैन। चोरबाटोबाट पार्टीको क्रियाशिल सदस्यता नवीकरण गरिदेऊ भन्ने किसिमको मान्छे आफू नभएको उनले बताए। उनीजस्तै विभिन्न समयमा सुशील कोइरालाविरुद्ध बागी उमेदवारी दिएका अन्यको भने कारबाही फुकुवा भइसकेको छ।

कारबाही फुकुवा नै नभएपनि पार्टी भने नछाड्ने उनले बताए। ‘कांग्रेस हुने भनेको पदमा जाने, टिकट पाउने कुरा मात्रै त होइन’, उनी भन्छन्, ‘म नक्कली होइन, सक्कली कांग्रेस हो। कारबाही नै यत्तिकै रहिरहे पनि पार्टी छाड्ने कुरा चाँहि हुँदैन।’

कांग्रेस चितवनका पूर्व-सभापति कोइराला समर्थकका अधिकांश नेता कार्यकर्ताहरु अझै पनि पार्टीमा क्रियाशील छन्।

‘६ वर्षपछि स्वत फुकुवा हुने कुरा त विधानमै छ। ८-९ वर्ष भइसक्यो। पार्टी छोडेर पनि गएको छैन। प्राविधिक रुपले मात्रै न पार्टीमा छैन। पार्टीमा विद्रोह लडेको विकास कोइराला पहिलो मान्छे मात्रै पनि होइन। पार्टीमा उतारचढाव त हुन्छ नै। सुशील कोइरालासँग त अरु पनि बागी लड्नुभयो नि’, उनले भने।

सुशील कोइरालासँग बागी लडेका व्यक्तिलाई दुई महिनामै केन्द्रीय सदस्य बनाएको समेत उनले बताए। आफूलाई अझैसम्म कारबाही फुकुवा नभएको विषयमा केही थाहा नभएको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.