|

काठमाडौं : अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा आएको शक्तिशाली इडा आँधीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। 

उत्तर पूर्वी अमेरिकी राज्यहरुमा अहिलेसम्मकै ठूलो वर्षाका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने सडक र बस्ती जलमग्न भएका छन्। न्यूजर्सीका गभर्नर फिल मर्फीका अनुसार न्यूजर्सीमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ। 

न्यूयोर्क शहरमा दुई वर्षको बच्चासहित कम्तीमा १४ जनाले ज्यान गुमाएका छन्। पेन्सिलभेनियाको सबैभन्दा ठूलो शहर फिलाडेल्फियामा ३ र कन्नेक्टिकटमा एक जनाले ज्यान गुमाएका छन्। आँधीसँगै भइरहेको भीषण वर्षाका कारण न्यूजर्सीका सबै २१ वटै काउन्टीमा आपतकाल घोषणा गरिएको छ। मौसम विभागले बाढीबाट हुने क्षति अझै बढ्न सक्ने चेतावनी दिएको छ। 

सोमबार लुइसियानाको तटमा ठोक्किएको इडा आँधीका कारण त्यहाँ हावाको गति प्रतिघण्टा २ सय ४१ किलोमिटर प्रतिघण्टा भएको थियो। न्यूयोर्क, मिसिसिप्पी, अलाबामा तथा फ्लोरिडा लगायतका राज्यका सडकहरु आँधीले क्षतविक्षत पारेको छ। 

यसैबीच राष्ट्रपति जो बाइडेनले जलवायु संकटबाट जोगिनका लागि ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन्।  देशभरी जलवायुसँग सम्बन्धित विनाश देखिएको भन्दै बाइडेनले यसबाट मुक्ति पाउनु ‘जीवन र मृत्युसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.