|

वैशाख पहिलो सातादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हल बुधबारबाट सञ्चालन गर्न दिने प्रशासनले अनुमति दिए पनि नेपाल चलचित्र संघले भने चलचित्र प्रदर्शन गर्न अझै एक साता लाग्ने जनाएको छ।

कति चलचित्र भवन तयारी अवस्थामा पनि नरहेकाले पनि चलचित्र प्रदर्शनमा ढिलाइ हुने देखिएको हो। निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनमा चलचित्रको अभाव रहने देखिएको छ। के हल खुल्न साथ दर्शकहरू आइहाल्छन्? निर्माण भएर प्रदर्शनको तयारीमा रहेका चलचित्रको अवस्था, हलको अवस्था लगायतका विषयमा थाहाकर्मी नवीन लुइँटेलले चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग कुराकानी गरेका छन्।

चलचित्र क्षेत्रमा लकडाउनले गम्भीर असर नै पारेको अवस्था रह्यो है?

हामी नै लगभग डेढ वर्षको हाराहारीमा लकडाउनमा रह्यौँ। त्यसबीचमा गत वर्ष पाँच महिनाका लागि चलचित्र हल खुल्ने अनुमति दिइएको पनि हो। त्यतिबेला पनि हामी चलचित्र निर्माता र चलचित्र प्रदर्शक चलचित्रको मुभमेन्टबाट सन्तुष्ट हुन सकेनौँ। कोरोनाको संक्रमण बढ्दै जाँदा पनि खोप आएको थिएन। त्यही बेला सम्पूर्ण नेपालीले खोप नलगाई चलचित्र क्षेत्रको आँकडा माथि नजाला भन्ने आँकलन गरेका थियौँ। २०७७ मंसिरपछि करिब पाँच महिना चलेको सिनेमा हल फेरि २०७८ बैशाखमा बन्द भए।

गत वर्षको तुलनामा यसपाली चाहिँ हामीले के भनेका छौँ भने अब चाडपर्व आयो र यो चाडपर्वको सिजनमा चाहि सिनेमा भवनहरू खोल्नुपर्छ। हामी सबैको माग पनि हो र चाहना पनि हो। त्यसै अनुरुप प्रशासनले हल खोल्ने अनुमति दियो तर, अलि पहिला नै यो घोषणा गरेको भए तयारी गर्न सहज हुन्थ्यो। यति मात्रामा कोभिड संक्रमित घटेको खण्डमा यो मितिमा सम्भवत खोल्न सकिन्छ, तयारी गर्दै गर्नुहोस् भनेका भए राम्रो हुन्थ्यो। तर, लामो समयबाट लकडाउन भएको हुँदा स्टाफहरू कहाँ पुगेका छन्, बिजुलीको स्थिति के छ, अन्य आवश्यक सामग्रीको अवस्था के छ, यो सबै हेरेर उहाँहरूलाई तयारी गर्न त केही दिन लाग्छ लाग्छ।

सिनेमा भवन मात्र खुलेर मात्र नि हुँदैन। हिजोकै चलचित्र दोहोर्‍याएर चलाएर दर्शकलाई तान्न गाह्रो हुन्छ। हामीले नयाँ सिनेमा दिनुपर्छ। त्यो पनि राम्रो नाम चलेको स्टारकाष्ट भएको राम्रो मेकरले बनाएको चलचित्र दियौँ भने दर्शकलाई हलसम्म तान्न सक्छ कि भन्ने हाम्रो आशा छ। ती सिनेमाहरूको बजेट पनि बढी हुन्छ। तर, सिनेमा एक चोटी लागेपछि म निकाल्छु पछि फेरि लगाउँछु भन्न पाइँदैन। एकचोटी लागेपछि यसको लाइफ सकियो। त्यसले गर्दा फिल्म तयार गरेर बसेका निर्माताहरूलाई बोलाएर छलफल गर्छौँ। फेरि अर्को सिनेमा भनेको प्रचारविना रिलिज गर्न सकिने अवस्था हुँदैन। हिजोका दिनमा पनि हामीले २/३ महिना पब्लिसिटी गरिसकेपछि मात्र रिलिज गर्थ्यौँ।

पहिलो चोटी लकडाउन हुने बखतमा चैत, बैशाख र जेठमा मात्र २३ वटा फिल्म रिलिजको तयारीमा थिए। जसले १५ –२० लाख या ३० लाखसम्म पब्लिसिटी गरेर बसेका फिल्महरू थिए। तर, लकडाउन हुँदा चलचित्र पनि रिलिज हुन सकेन। पब्लिसिटीको पैसा पनि त्यसै खेर गयो। अब लकडाउन खुल्दा पनि फेरि पब्लिसिटी गर्नै पर्‍यो। एकातिर पब्लिसिटीको पैसा अर्कोतिर करोडौंको लगानी, यहाँनेर दुविधा हुनसक्छ। मार्केट कस्तो हुन्छ, दर्शक खुलेर हलमा आउन सक्छन् कि सक्दैनन्। डिजिटल मिडिया, सामाजिक सन्जालमै इन्टरटेनमेन्ट आएका कारणले पनि दर्शक आफैंले इन्टरटेनमेन्ट पाइरहेका छन्।

राज्यले हामीलाई बुझ्नुपर्छ कि चलचित्र क्षेत्र इन्टरटेनमेन्टको माध्यम मात्र होइन। कला संस्कृतिको संवाहक पनि हो। यदि भोलि सिनेमा रहेनन् भने विदेशी प्रभाव प्रत्यक्ष पर्न सक्छ। विदेशी सिनेमाको प्रभाव बढ्दै गए हाम्रो देशको भाषा कला र संस्कृतिलाई पनि पछिल्ला पुस्ताले बिर्संदै जाने हुनसक्छ। तसर्थ राज्यले चलचित्रलाई कला संस्कृति जोगाउने माध्यम पनि हो भनेर बुझ्नुपर्छ। राज्यले हामीलाई संरक्षण गर्नुपर्छ। हामीले पहिल्यै सरकारलाई भनिसकेका थियौं, रिलिजको तयारीमा बसेका चलचित्रलाई कुल बजेटको २० प्रतिशत सहुलियत दिएको खण्डमा तिनीहरूले पब्लिसिटी गर्ने स्थिति हुनसक्छ। त्यसैगरी सिनेमा भवनको पनि केही माग छ। त्यो पनि राज्यले पूरा गरिदिएको खण्डमा यो क्षेत्र अगाडि बढ्न सक्छ।

दर्शकहरू आएर मज्जासँग चलचित्र हेर्ने वातावरण कहिलेसम्म बन्ला?

यो अहिले नै बन्ला भनेर पूर्वानुमान गर्न सकिन्न। मनोरञ्जन भनेको गाँस‚ बास र कपासपछिको वस्तु हो। तर, हामीहरूलाई के आश छ भने जो चलचित्र हेर्न पर्खाइमा बस्नुभएका हाम्रा दर्शक हुनुहुन्छ, कोभिड–कोभिड भनेर जुन मेन्टल्ली टर्चर भएको छ उहाँहरूलाई। उहाँहरू चलचित्रको माध्यमबाट थेरापी गर्न सिनेमा भवनसम्म आउनुहुन्छ भन्ने आश छ। त्यो भनेको दशैँको समय हो। त्यो बेलासम्म हामीले राम्रो चलचित्र पस्कन सक्यौं भने डेफिनेट्ली दर्शकको फ्लो बढ्दै जाने छ।

यो बीचमा कति हल प्रत्यक्ष मारमा परे? नेपाल चलचित्र संघसँग यहाँको छलफल भइरहन्छ?

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानसँग चलचित्र निर्माता संघले निरन्तर सहकार्य र छलफल गरिरहेका छौं। उहाँहरूको कुरा अनुसार कोभिड अघिसम्म पौने २०० हल रहेका थिए। तीमध्येमा ३५ वटा हल बन्द भएका छन्। तर, अहिले नै यति हल बन्द भए भन्न सकिँदैन। फिल्म चल्न थालेपछि यसको आँकडा आउनेछ।

मधुसुधनजीले १५ वटा जति हल चाहिँ अब नखुल्ने जानकारी दिनुभएको छ। कुमारी र जय नेपाल जस्ता राम्रा र पुराना सिनेमा हल बन्द भए भन्दा हामीलाई दुःख लाग्यो। कुमारी हलमा एउटा कलेज बसेको छ भने जय नेपालले फिल्म नदेखाउने पक्का भइसकेको छ। राज्यले पछिल्लो परिस्थितिलाई मध्यनजर गरेर हललाई प्रोत्साहन र संरक्षण गर्नुपर्छ। चलचित्रले मनोरञ्जन मात्र होइन कला संस्कृतिको जगेर्ना गरेको छ। त्यत्ति मात्र होइन राज्यलाई राजस्व पनि बुझाउने गर्दछ। हामीले निर्माता र सिनेमा भवन पक्ष भएर फिल्मी बक्स अफिस पनि लगाइसकेका छौँ।

कति वटा चलचित्र प्रदर्शनको पाइपलाइनमा छन्?

गत वर्षको लकडाउनअघि २५ वटा सिनेमा थिए। त्यसपछि जब लकडाउन खुकुलो भयो। केही सुटिङ भएर रोकिएका थिए। कुनै पोष्ट-प्रोडक्सनमा रोकिएका थिए। कसैले सेन्सर लिन बाँकी थियो। ती चलचित्र तयार भएर थपिँदा ६५ वटा चलचित्र कम्प्लिट भएर बसेका छन्। केही सुटमा जाने र केही सुट भएर बसेका छन्। जसको लगानीको कुरा गर्नुपर्दा १ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा नेपाली निर्माताहरूले लगानी गरेर अड्किएर बसेको छ।

राज्यले सहुलियत र प्रोजेक्ट लोन पनि नदिएको अवस्थामा बैंकिङ गरेरै लगानी गरेको हो। कसैले हाउजिङ लोन र कसैले व्यापार विजनेश लोन भनेर लिएको अवस्था छ। अहिले फिल्म इण्डस्ट्री अति प्रभावितमा परेको छ। मौद्रिक नीतिमा अति प्रभावितलाई दिने भनिएको ३ प्रतिशत या ५ प्रतिशत ब्याजमा लोन पाइएको छैन। निर्माताहरू १६ प्रतिशत ब्याजमा लोन लिइरहेका छन्।

किन महत्वपूर्ण छ चलचित्र?

नेपाली चलचित्रले नेपाली भाषाको पनि संरक्षण गरिरहेको छ। यदि नेपाली चलचित्र नबन्ने हो भने युट्युबबाट नेपाली नयाँ पुस्ताले विदेशी चलचित्र हेरेर उतैको मात्र भाषा सिक्न पुग्छन्। चलचित्रमा समेटिने भेषवूषा, पुराना गाउँ परिवेशका वस्तुहरू, लवज यी सबै संरक्षण गरेर एउटा दस्तावेजका रुपमा सुरक्षित राख्ने चलचित्र मात्रै हो। यसमा सरकारले भन्दा पनि ठूलो काम चलचित्र क्षेत्रले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.