|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको लक्ष्मीखोला लघु जलविद्युत आयोजनाबाट ३ सय ६० घरधुरीले लाभ लिइरहेका छन्।

राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनिमितता भइरहेको बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेका लघु विद्युत् आयोजनाले गाउँ झलमल्ल पारेको छ। राष्ट्रिय प्रसारण लाइनमा वा ठूला नलविद्युत् परियोजनाको बिग्रँदा पुनर्निर्माण सुस्त गतिमा अघि बढिरहँदा लक्ष्मीखोला जलविद्युत् आयोजनाले गाउँमा हालसम्म नियमित गाउँलाई नियमित बिजुली दिइरहेको छ।

सरकारले विद्युत संकट कम गर्न लघु जलविद्युत आयोजनाको निर्माणलाई प्रवर्द्धन गर्ने नीति लिएको देखिन्छ। लघु जलविद्युत् आयोजनाबाट प्रतिवर्ष कम्तीमा ५ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा सरकारले यसअघि नै गरे पनि त्यो लागू गर्न चुनौतीहरू देखिएका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका-१ मारेककटहरेमा रहेको लक्ष्मी खोला जलविद्युत आयोजनाले वि. सं. २०६८ सालदेखि नियमित ४० किलोवाट विद्युत उत्पादन गर्दै आइरहेको छ। त्यतिबेला एक करोड २५ लाख रुपियाँ खर्च गरेर निर्माण गरेको उक्त आयोजनाले १० वर्ष पुरा गरिसकेको छ। विद्युत उत्पादन गर्न स्थानीयले २०६६ सालदेखि बैकल्पिक ऊर्जासँग सहकार्य गरेका थिए।

विद्युत उत्पादन गर्न बैकल्पिक उर्जाले ५० लाख र तत्कालीन मारेककटहरे गाउँ विकास समितिले ४ लाख रुपैयाँ अनुदान दिएका थिए भने बाँकी ७१ लाख रुपैयाँ लक्ष्मी खोला लघु जलविद्युत सहकारी संस्थाका शेयर सदस्यबाट संकलन गरिएको थियो।

विद्युत पहुँचमा वृद्धि

लघु तथा साना जलविद्युत आयोजनको विकास र संचालनपश्चात धेरै ग्रामिण क्षेत्रका नागरिकको जीवनयापनमा सहजता आएको छ। नेपालमा स्थापना भई संचालनमा आएका रहेका धेरै लघु तथा साना जलविद्युत आयोजनाका कारण विद्युतीकरणको थालनी क्रमिक रुपमा बढेको हो।

महालक्ष्मी १ स्थानीय २०६८ सालभन्दा पहिलेको समयमा अन्धकारमै वा टुकी बत्ती बालेर आफ्नो जीवन चलाईरहेका थिए। शहरी क्षेत्रमा सूचना प्रविधिका साधनको प्रयोग बढ्दै गर्दा यस क्षेत्रमा बिद्यार्थी कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भईरहदा त्यहाँका विद्यार्थीहरुले घाम छदैमा आफ्नो गृहकार्य सक्नुपर्ने र अन्धकारमै टुकी तथा झुम्रे वत्तीमा पढ्न बाध्य थिए। पूराना पूस्ताका धेरै ज्येष्ठ नागरिकले विद्युतबाट बलेका चिमसम्म देख्न पाएका थिएनन्।

वि सं २०६८ साल पश्चात लक्ष्मीखोला लघु जलविद्युत आयोजना संचालनमा आएपछि जल ऊर्जाको पहुँच विस्तार भएसँगै जीविकोपार्जनमा सहजता आएको छ। स्थानीय लक्ष्मी खोलाबाट ४० किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युतले धेरै नागरिकको आधारभुत आवश्यकता प्राप्त गर्न सहज भएको छ। आफ्ना पूर्खाले सिंगो जीवन अन्धकारमै गुजार्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रका नागरिकको नियति बनेको थियो।

लघु जलविद्युत आयोजनाले मूर्त रुप पाएसगैँ स्थानीयको जीवनशैली फेरिएको हो। घरमा बत्ती बाल्ने, विद्यार्थीका निम्ति पढ्न सहज, अध्ययन, घर घरमा मोबाइलको प्रयोग, टेलिभिजन तथा राईसकुकरको प्रयोग बढेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा संचालनमा आएको लघु जलविद्युत आयोजनाले एक सफल उदाहरण बनेको छ।

माग धान्न समस्या

राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनिमितता हुँदा देशका अधिकांश स्थान लामोसमयसम्म अन्धकार रहँदा पनि सधैँ बिजुली बाल्ने यो मारेककटहरे गाउँ विद्युतमा सम्पन्न देखिन्छ। जलविद्युत उत्पादन सहकारीका अध्यक्ष तेजबहादुर अधिकारीका अनुसार यहाँ ४० किलोवाटसम्म विद्युत उत्पादन हुँदै आएको छ। उत्पादन भएको निकै समयसम्म विद्युतको माग पुर्याउदैँ आएकोमा अहिले घरघरमा उपकरण बढेकोले विद्युतको माग बढेको अध्यक्ष अधिकारीले बताए।

उनले मारेककटहरेमा अहिले व्यवसायिक रुपमा पशुपालन बढेकोले च्यापकटर प्रयोग हुँदा एउटै घरमा २ किलोवाटसम्म विद्युत खपत हुने गरेकाले माग पूरा गर्न समस्या रहेको बताए। अधिकारीका अनुसार बेलुका ५ देखि ९ बजेसम्म र बिहान ५ देखि ९ बजेसम्म माग धान्न समस्या भएको छ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उत्पादन भएको विद्युत पनि खपत भएको छैन। उनले सबै घरमा बत्ती बाल्न र टिभी चलाउन र मोबाईल चार्ज मात्रै प्रयोग हुँदा समस्या नभएको बताए।

अधिकारीले मेसिनको आरामको लागि र पोल बनाउनको लागि दैनिक २ घण्टा लाइन काट्ने गरिएको बताए। अधिकारीका अनुसार विद्युतको माग कम भएको समयमा बैशाखदेखि भदौसम्म दिउँसो ३ देखि ५ बजेसम्म र असोजदेखि चैतसम्म दिउँसो २ देखि ४ बजेसम्म लाइन काट्ने गरिएको छ।

विद्युत महशुल महँगो

लघु जलविद्युत सहकारी गाउँलेहरुलाई उज्यालो बनाएर अहिले नाफा कमाउनमा व्यस्त छ। तर, राष्ट्रिय प्रसारण लाइनको भन्दा विद्युत शुल्क निकै महंगो तिर्न स्थानीय बाध्य छन। राष्ट्रिय प्रसारण लाइनको विद्युत महशुल २० युनिटसम्म नि:शुल्क बनाउने चर्चा चलिरहेको बेला लघु जलविद्युत आयोजनाका उपभोक्ता भने ८ युनिटसम्मको एक सय रुपैयाँ शुल्क तिर्न बाध्य छन्।

आयोजनाले ८ युनिट देखि २० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र २० युनिटदेखि माथि प्रतियुनिट ६ रुपैयाँका दरले महसुल लिँदै आएको स्थानीय हिस्मा मगरले बताइन्। उनले आधारभुत उपकरण चलाउन र विद्युत अनियमितताको कुरा नभएपनि विद्युत महशुल निकै महंगो तिर्नुपरेको गुनासो गरिन्।

यता, सहकारीले भने सुरुमा लागत खर्च बढी भएकाले यही शुल्क कायम गरिएको र अहिले राष्ट्रिय प्रसारण लाइन सस्तो भएकाले यो गुनासो आएपनि पहिले राष्ट्रिय प्रसारण लाइन पहुच बाहिर हुँदा यस्तो गुनासो नरहेको जनाएको छ। महशुल घटाउन सक्ने अवस्था नरहेको भएपनि राष्ट्रिय प्रसारण लाइन जोड्न पहल भइरहेको सहकारीले जनाएको छ।

कच्ची पोलको भर

करिब १० वर्ष अघिबाट सञ्चालन भइरहेको आयोजनाको धेरै पोलहरु कच्ची रहेका छन्। राष्ट्रिय प्रसारण लाइनले धमाधम फलामका पोल फेरिरहेको अवस्थामा यो आयोजना भने बाँसका पोल र मक्काएका काठका पोलको भरमा सञ्चालन भइरहेको छ।

यस्तो अवस्थामा विद्युत आयोजना सञ्चालन हुँदा ठूलो हावाहुरीको बेला त्रास उत्पन्न हुने गरेको स्थानीय चुडामणी मगरले बताए। उनले पोल फेर्न  र राष्ट्रिय प्रसारणमा जोड्न सहकारीका साथै स्थानीय सरकारले पहल गर्नुपर्ने बताए। राष्ट्रिय प्रसारणमा जोडिए त्रास हट्ने उनको अपेक्षा छ।

यता सहकारीका अध्यक्ष अधिकारीले राष्ट्रिय प्रसारण लाइन लाइनमा जोड्न ५० लाखका उपकरण चाहिने भएकाले सहकारीले नसक्ने भएकाले दाताको खोजी गरिरहेको जानकारी दिए। यस्तै महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले सानो क्षमताको भएर विद्युत अपुग भएको बताउँदै सहयोग गरिरहेको जानकारी दिए।

उनले केही वर्ष अघि नगरपालिकाले पोल र तार व्यवस्थित गर्न ७ लाख ५० हजार सहयोग गरेको जानकारी दिए। उनले नगरपालिकाको सहयोगले मात्रै नहुने भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्न समन्वय गर्न लागेको र केही समयपछि जोडिएर पोल र तार व्यवस्थित गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.