|

भक्तपुर : नेपाली कांग्रेस भक्तपुरको अधिवेशन आज  (शुक्रबार) देखि सुरु भएको छ। भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा एकसाथ कांग्रेसको स्थानीय पालिकाको वडा तहको अधिवेशन सुरु भएको हो।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार भक्तपुरका स्थानीय पालिकाको वडा तहको अधिवेशन सुरु भएको जिल्ला सभापति दुर्लभ थापाले बताए। उनले ३८ वटै वडामा वडा इकाइ कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुको लागि मनोनयन दर्ता आजै गर्ने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए यही २१ गते आइतवार निर्वाचन हुने तालिका रहेको छ।

भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर र सूर्यविनायक नगरपालिकामा १०–१० तथा मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा ९-९ वटा वडा रहेका छन्।

अधिवेशनबाट प्रत्येक वडामा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र १३ जना सदस्यसहित २० सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। कार्यसमितिको कोषाध्यक्ष भने इकाई सभापतिको प्रस्तावमा निर्वाचित सदस्यहरु मध्येबाट निर्वाचित गरिन्छ।

कांग्रेसको विधानअनुसार प्रत्येक वडाबाट क्रियाशील सदस्य संख्याको आधारमा दुईतिहाइ महिलासहितको क्षेत्रीय प्रतिनिधि चयन हुनेछ। पालिकाको सभापतिदेखी माथिल्लो समितिमा उम्मेदवार हुन र पालिका देखी जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरु चयनका लागि क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नु पर्नेछ।

कांग्रेसको वडा तहबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुको अहम् भूमिका रहनेछ।

त्यसैले जिल्लाका नेतृत्वको ध्यान यतिखेर पालिकाका वडा वडामा केन्द्रित भएको छ। जिल्ला सभापति बन्न पनि क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने अनिर्वाय व्यवस्थाले नेताहरुको ध्यान वडाको प्रतिनिधि चयनमा बढी केन्द्रीत भएको कांग्रेस नेताहरू बताउँछन्।

‘वडा-वडाबाट निर्वाचित हुने प्रतिनिधिको अनुहारले पनि पालिकाको नेतृत्व चयनको खाका स्पष्ट हुने भएकाले नेताहरुको ध्यान वडामा केन्द्रीत भएको हो,’ एक कांग्रेस नेताले भने।

भक्तपुरका ३८ वडाबाट वडा सभापतिसहित ९८८ जना जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ। त्यसमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकाको वडा –४ बाट वडा सभापतिसहित ६६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकाबाट वडा सभापतिसहित ३२४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ। जसमध्ये वडा नं १ बाट ३६, २ बाट १६, ३ बाट ३६, ४ बाट ६६, ५ बाट ४६, ६ बाट ४६, ७ बाट ३६, ८ बाट १६ र ९ बाट २६ जना प्रतिनिधि चयन हुनेछ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकामा वडा नं. १ मा २६, वडा नं. २ मा ३६, वडा नं. ३ मा २६, वडा नं. ४ मा २६, वडा नं. ५ मा ४६, वडा नं. ६ मा २६, वडा नं. ७ मा १६, वडा नं. ८ मा १६, वडा नं. ९ मा १६ र वडा नं. १० मा २६ गरी २६० जना प्रतिनिधि चयन हुनेछ।

जिल्लामा भक्तपुर नगरपालिकामा सबैभन्दा कम क्षेत्रीय प्रतिनिधि चयन हुनेछ। यहाँको १० वटा वडामा प्रत्येकमा वडा सभापतिसहित १६ जना गरी कुल १६० जना प्रतिनिधि चयन हुनेछ।

चाँगुनारायण नगरपालिकामा २४४ जना प्रतिनिधि चयन हुने। जसमध्ये वडा नं. १ मा ३६, वडा नं. २ मा १६, वडा नं. ३ मा २६, ४ मा २६, ५ मा ३६, ६ मा १६, ७ मा २६, ८ मा ३६ र ९ मा २६ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.