उद्घाटन भएको दुई महिनामा सभा हल मर्मत‚ एक महिनापछि बिजुली उत्पादन

|

काठमाडौं : काठमाडौंमा रहेको ऐतिहासिक धरहरा २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले ढल्यो। धरहरा क्षतिग्रस्त भएको तीन वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको लागि २०७५ पुस १२ मा शिलान्यास गरे। शिलान्याशपछि अनेक विवाद निस्किए।

सम्पदा अभियान्ता ऐतिहासिक धरहरा सरकारले मासेर भ्युटावर बनाउन लागेको भन्दै विरोधमा उत्रिए। तै पनि काम रोकिएन। सरकार फेरिने सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीले निर्माणाधीन धरहराको हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरे। निर्माण पूरा नभई उद्घाटन भएपछि जस पाउन ओलीले उद्घाटन गरेको भन्दै आलोचना भयो।

धरहराको उद्घाटन भएको चार महिना बितिसकेको छ। सरकार परिर्वतन भएर शेरबहादुर देउवा नेतृत्व सरकार छ। तर‚ अझै पनि धरहरा निर्माण पूरा भइसकेको छैन। धरहरा पुनर्निर्माण आयोजनाका प्रबन्धक सञ्जय नकर्मीका अनुसार हालसम्म ५७ प्रतिशत मात्रै सकिएको छ। धरहरा टावर बने पनि पार्किङ‚ संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचनाको निर्माण पूरा भएको छैन।

‘अहिले धरहराको वाल लगाउने,पार्किङ ढलानको काम भइरहेको छ,’ नकर्मीले भने, ‘आगामी मंसिरसम्म सबै काम सकाउनुपर्ने थियो, तर सक्ने सम्भावना नभएपछि सरकारले अन्तिम म्याद आगामी असारसम्म थपिदिएको छ।’

आयोजनाका प्रबन्धक नकर्मीले थपिएको समयसम्म जसरी पनि बाँकी काम सक्नुपर्ने बाध्यता रहेको बताए। धरहरा निर्माणका लागि तीन अर्ब आठ करोड रुपैयाँ सम्झौतामा भएको छ। जसमध्ये अहिलेसम्म एक अर्ब ६८ करोडभन्दा बढी खर्च भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 

कोषको पैसा खर्च गर्न महालेखाको निर्देशन

महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा ‘मेरो धरहरा मै बनाउँछु’ अभियानबाट कोषमा जम्मा भएको रकम निर्माणमा खर्च गर्न निर्देशन दिइएको छ। महालेखाका अनुसार सरकारले २०७२/७३ देखि उक्त अभियान सञ्चालन गरेको थियो।

कोषमा २०७८ सम्म ८ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ। उक्त रकम धरहरा पुनर्निर्माण समयमा सम्पन्न गरी कोषको रकम  सदुपयोग गर्नु पर्नेछ। पुरानो धरहरा अगाडिको ४२ दशमलब २ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा पुनर्निर्माण गरिएको छ। 

गोदावरीको सनराइज हल चुहियो

प्रधानमन्त्री पदमा रहँदा नै ओलीले गत वैशाख ३१ मा ललितपुरको गोदावरीमा निर्माण भएको तीन हजार सिट क्षमताको गोदावरी सनराइज (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)को भर्चुअल माध्यमबाट उद्घाटन गरे। तर‚ मनसुन सुरु भएलगत्तै हलको विभिन्न भागबाट पानी चुहियो। यसबाट पनि ओलीले अपजस मात्र पाए। आलोचनाको शिकार भए।

विभिन्न सञ्चार माध्यममा पानी चुहिएको समाचार प्रकाशित भएपछि सहरी विकास मन्त्रालयले त्यसको जाँचबुझ गर्न सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन समेत गरेको थियो। सभा हाल केसी समानान्तर जेभीले करिब ४३ रोपनी क्षेत्रमा बनाएको थियो। उक्त भवन निर्माणमा करिब ८१ करोड रुपैयाँ खर्चिएको जनाइएको छ।  

अहिले भने चुहिएको सबै भाग मर्मत गरिसकेको गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बताइन्। उनले भनिन, ‘पानी चुहिएको समाचार बाहिर आएलगत्तै मर्मत गरिएको हो,अहिले पानी चुहिँदैन।’ अहिलेबाटै सभा हलमा कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ।

उपत्यकावासीको प्यास मेट्न नसकेको मेलम्ची पानी

काठमाडौं उपत्याकावासीले मेलम्चीको पानी पिउन घोषित मिति यता तीन दशक समय कुर्नु पर्‍याे। सधैं काकाकुल रहने उपत्यकावासीकाे तिर्खा मेट्न मेलम्ची खानेपानी आयोजनाले गत फागुनमा उपत्यकामा पानी खसाल्यो।

तत्कालीन प्रधानमन्त्री ओलीले गत फागुन २२ मा फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसालेका थिए। उपत्यकामा पानी भने चैत १५ गतेदेखि वितरण थालिएको थियो। 

पानी आएपछि उपत्यकावासीमा खुशी छाएको थियो। तर‚ ती खुशी तीन महिना पनि टिकेन । गत असारमा सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमामा आएको ठूलो बाढीले आयोजनामा ठूलो क्षति पुगेको छ। अहिले उपत्यकामा मेलम्चीको पानी आएको छैन।

फेरि साउन १६ र १७ गते आएको त्यहींको बाढीले आयोजनामा थप क्षति पुर्‍याएकाे छ। अब पानी कहिलेबाट आउने टुंगो छैन। उपत्यकावासीको भरोसा टुट्न थालेको छ। आयोजनाले मर्मत खर्चका लागि सरकारसँग अढाइ अर्ब रुपैयाँ माग गरेको छ। 

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले आगामी चैत र वैशाखसम्म अस्थायी रुपले भए पनि उपत्यकामा पानी ल्याउने योजना रहेको बताउँछन्। तर‚उक्त समयमा पानी आउने छाँटकाट देखिएको छैन। 

उद्घाटन भएको एक महिनापछि विद्युत उत्पादन

यीमाथिका आयोजना जस्तै ओलीले राष्ट्रिय गौरवको परियोजनाको काम नसकिए पनि उद्घाटन गर्न छाडेनन्। प्रधानमन्त्री पदमै रहेको बेला गत असार २१ गते अपर तामाकोशी अर्थात् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री निवास बालुवाटारबाटै उद्घाटन गरे। 

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा करिब ५० अर्ब रुपैयाँ लगानीमा बनेको आयोजना उद्घाटन भएको करिब एक महिनासम्म विद्युत उत्पादन हुन सकेन। यसबाट पनि तत्कालीन प्रधानमन्त्री ओली आलोचित भए।

आयोजनाका वरिष्ठ प्रशासकीय अधिकृत मित्रमणि पोखरेलका अनुसार गत साउन २० देखि  आयोजनाबाट मात्रै व्यावसायिक रुपमा ६ वटै टर्नबाइनबाट ४५६ मेगावट विद्युत् उत्पादन भएको छ। उनले भने, ‘सबै संरचना निर्माणको काम सकेर पनि विद्युत् उत्पादन भइसकेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.