'ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ'

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिँदै वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीमा कुनै सुधार नदेखिएको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले लेखेका छन्, 'तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।’

गौतमले ओलीलाई संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नगरेको आरोप पनि राजीनामा पत्रमा लगाएका छन्। 

'तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशन सम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो', गौतमले लेखेका छन्, 'त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो।'

उनले ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ भएको पनि उल्लेख गरेका छन्।  

'फेरि पनि तपाईँसँगको चार दशक लामो मित्रताका कारण अब उप्रान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ,' गौतमले लेखेका छन्। 

उनले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन्।

गौतमले एमाले परित्याग गरे पनि कुन पार्टीमा जाने खुलाएका छैनन्। उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जानसक्ने बताइएको छ। उनीनिकट प्राय: सबै नेता समाजवादीमा गइसकेका छन्।

मदन भण्डारी जीवराज आश्रित र मोदनाथ प्रश्रितसँगै वामदेव सहित पुष्पलाल समूह परित्याग गर्दै बनेको मुक्तिमोर्चा समुह सहित तत्कालिन झापा विद्रोहबाट गठन भएको कोअर्डिनेसन केन्द्र मा ले मा समाहित भएका थिए।

त्यसबेला संगठन निर्माणमा सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल,अमृत बोहोरा, इश्वर पोखरेल, प्रदीप नेपाल, रत्न कुमार बान्तवा, गोविन्द न्यौपाने लगायत बाहिर रहेर संगठन निर्माण गरिरहेका थिए। उनीहरुले नै २०३५ साल पुस ११ गते मोरङको ग्रामिण इलाकामा सम्मेलन गरि नेकपा (माले) गठन गरेका हुन्।

मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, के पी ओली, घनेन्द्र बस्नेत, मनकुमार गौतम, मनकुमार तामाङ, भीष्म धिमाल, भोगेन राजवंशी, दुर्गा अधिकारी लगायतका झापा विद्रोहका नेताहरु कारावासमा थिए।

उनीहरु २०४० देखि क्रमश २०४५ सम्ममा कारावासबाट मुक्त भए। झापा काण्डका बन्दी मध्ये सबैभन्दा धेरै बन्दी जीवन बिताउने मोहनचन्द्र अधिकारी हुन् । उनले १७ बर्ष बन्दी जीवन बिताए। उनलाई नेपालको नेल्सन मण्डेलाका रुपमा चित्रित गरिन्थ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.