|

काठमाडौं : टोकियो पाराओलिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट विमुख भएकी छिन्।

नेपालले अहिलेसम्म पाराओलिम्पिकमा कुनै पदक जित्न सकेको छैन। तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहको रिपिचेजको फाइनलमा पराजित भएपछि उनी काँस्य पदक जित्नबाट वन्चित भएकी हुन्।

आज (शुक्रबार) भएको रिपिचेजको फाइनलमा पलेशा चिनियाँ खेलाडीसँग हारिन्। उनले चीनकी युजी लीलाई १२–९ ले खेल सुम्पिएकी हुन्। रिपिचेजमा क्वार्टरफाइनल र सेमिफाइनल जितेर हौसिएकी पलेशाले चिनियाँ प्रतिद्वन्द्वीलाई पराजित गर्न सफल भएको खण्डमा ऐतिहासिक पदकको हकदार बन्ने थिइन्।

पहिलो खेलमा उनी बेलायतकी खेलाडी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि स्वर्ण पदकको भिडन्तबाट अलग भएकी थिइन्। त्यसपछि काँस्य पदकका लागि भएको रिपिचेज भिडन्तमा उनी अगाडी बढेकी थिइन् ।

रिपिचेजको क्वार्टरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले हराएर अघि बढ्दा सेमिफाइनलमा सर्बियाली खेलाडी मारिया मिसेभलाई २३–१५ ले हराउँदै फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।

उनको हारले पाराओलिम्पिकमा पहिलो पदक जित्ने नेपालको आशा यसपटक पनि तुहिएको छ। पलेशाले वाइल्ड कार्ड पाएर पाराओलिम्पिकमा सहभागिता जनाएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.