|

काठमाडौं : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको ४ महिना लामो निषेधाज्ञा हटेसँगै बिस्तारै सबै क्षेत्र चलायमान हुँदै गएका छन्। यस्तोमा स्वास्थ्यविदहरूले सरकारसँग दैनिक २ लाख जनालाई कोरोनाविरुद्ध खोप लगाउन अनुरोध गरेका छन्।

जनस्वास्थ्यविदले पनि निषेधाज्ञा हटाएर जनजीवन सामान्य बनाउने प्रयास सकारात्मक रहेको बताए। जनस्वास्थ्यविद डा किरण पाण्डेले निषेधाज्ञा खुकुलो भएपछि नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सरकारले खोपलाई प्राथमिकतामा राखेर बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्ने सुझाव दिए।

‘अहिले सरकारले दैनिक १ लाख जनालाई भ्याक्सिन लगाइरहेको भनिरहेको छ। तर, धेरैभन्दा धेरै जनसंख्यालाई भ्याक्सिन लगाउनु पर्छ भन्ने मलाई लाग्छ। औसतमा दिनको २ लाखलाई लगाउने हो भने अहिलेभन्दा दोब्बर मानिसलाई खोप लगाउनु पर्‍यो। त्यसले धेरै फरक पार्छ,’ डा.पाण्डेले थाहाखबरसँग भने।

स्थानीय प्रशासनले कोभिड–१९ नियन्त्रण गर्न सावधानी अपनाउनुपर्ने र पालना नगरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए पनि अनुगमनमा चुनौती देखिन्छ। निषेधात्मक व्यवस्थाका कारण व्यवसायमा ठूलो क्षति पुगेको बताएका व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि अनुगमनमा चुनौती छ।

निषेधाज्ञा हटाए पनि प्रशासनले भीडभाड हुने सभा सम्मेलन, जुलुसलगायत गतिविधि सञ्चालन नगर्न अनुरोध गरेको छ। एकातिर तत्काल विद्यालय खोल्न नपाइने भने पनि विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति आए स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएको छ।

अहिले उपत्यकासहित देशका विभिन्न जिल्लामा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुन थालेको छ। यससँगै राजनीतिक दलका कार्यकर्ता भेला, जुलुस र र्‍यालीजस्ता भीडभाडजन्य गतिविधि रोकिएका छैनन्। मनोरञ्जन तथा रात्रिकालीन व्यवसाय पनि खुल्ला भइसकेको छ।

यस्तो स्थितिमा सरकार र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले महामारी नियन्त्रणसम्बन्धी कामको व्यवस्थापन कसरी गर्न सक्छ भन्ने प्रश्न थाहाखबरले सिसिएमसीका प्रवक्ता नूरहरि खतिवडासँग सोधेको थियो।

उनले भने, 'अस्पतालमा बेड र डाक्टरको व्यवस्था, आइसियू तथा भेन्टिलेटरको व्यवस्था, अक्सिजन उपलब्ध गराउने कुरामा सिसिएमसीले सरकारलाई (स्वास्थ्य मन्त्रालय) लाई घचघच्याउने मात्रै हो। व्यवस्थापन मन्त्रालयले गर्ने हो। त्यसका लागि खोप उपलब्ध गराउने प्रयास भइराखेकै छ। बेड र स्वास्थ्यकर्मीको संख्या बढाउने कुरा पनि भइराखेकै छ। तेस्रो लहर नै आयो भने पनि आवश्यक तयारी भइरहेको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.