|

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा बसेकी छन्। प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा नै अल्पमतमा परेकी शाक्य अगाडि कसरी बढ्ने भन्ने बारेमा ‘पर्ख र हेर’ को अवस्थामा बसेकी हुन्।

आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा पुगेकी शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा आधिकारिक रुपमा दल विभाजन भइसकेपछि मात्रै सरकारको आगामी भूमिका तय हुने बताइन्।

उनले हालसम्म प्रदेशमा आधिकारिक रुपमा पार्टी विभाजन भइनसकेको भन्दै आफू २२ गते कुरेर बसेको बताइन्। ‘केही साथीहरूले एमाले छोडेर नयाँ दल रोजिसक्नु भएको छ। तर पनि २२ गतेसम्म दल चयनको समय छ। त्यसपछि मात्रै एमाले विभाजन भएर हामी अल्पमतमा पर्ने हौँ' उनले भनिन्, एमाले आधिकारिक रुपमा विभाजन भएपछि कस्तो परिस्थिति आउँछ त्यसलाई सामना गरेर अघि बढ्छौँ।’

शाक्यले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याएमा त्यसको सामना गर्न फरक भूमिका निर्वाह गर्ने भन्दै उनले थपिन् ‘पहिलादेखि सम्बन्ध राम्रो भएको हुँदा विपक्षी दलहरूले पनि अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ जस्तो त मलाई लाग्दैन। त्यही पनि हामीले उहाँहरूको भूमिकालाई पनि हेर्नुपर्ने हुन्छ। दल विभाजनपछि के कस्तो अवस्था आउँछ त्यहीअनुसार अघि बढ्छौँ , छोड्नपर्ने अवस्था आएछ भने छोड्न पनि तयार छौँ।'

केन्द्रमा एमाले आधिकारिक रूपमा विभाजन भएर दुई दलमा परिणत भइसकेको छ। दल विभाजनसम्बन्धी अध्यादेशले दल चयनको लागी २१ दिनको समय दिएको हुँदा हालसम्म प्रदेशमा आधिकारिक रुपमा एमाले विभाजन भइसकेको छैन। बागमती प्रदेशको रहेको एकसय ९ जना सांसदमध्ये ५६ सांसदसहित एमाललेले बहुमतको सरकार चलाउँदै आएको थियो। तर, एमालेबाट निर्वाचित १३ जना सांसदले एमालेबाट फुटेर बनेको नेकपा (एकिकृत समाजवादी) रोजिसकेका छन्।

२२ गतेसम्म दल चयनको समय हुँदा हालसम्म प्रदेश सरकार व्यावहारिक रुपमा अल्पमतमा परे पनि कानुनी रुपमा बहुमतमा नै छ। एमाले साना दलसँग मिलेर बहुमत पुर्‍याउने प्रयासमा भए पनि सरकार गठनको लागि पर्याप्त मत पुग्दैन।

२३ गते आधिकारिक रूपमा प्रदेशमा एमाले विभाजन हुने हुँदा ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ। तर, मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ। अब उनले २२ गतेपछि संसदमा विश्वासको मत लिन्छिन् वा राजीनामा दिन्छिन् भन्ने दुई विकल्प छ। एमालेबाट विभाजित भएर नेकपा समाजवादीमा गएका सांसदहरुले भने मुख्यमन्त्री शाक्यलाई नयाँ दलमा आउन आग्रह गरिरहेका छन्।

सांसद मुनु सिग्देलले शाक्य पहिला माधव नेपालकै खेमाको रहेको भन्दै २२ गतेसम्ममा समाजवादीमा नै आउन आग्रह गरिन्। ‘हामीले नै उहाँलाई मुख्यमन्त्री बनाएको हो। उहाँलाई प्रदेश सरकारबाट बिदा गर्न मन छैन , एमाले छोडेर समाजवादीमा आउनुभयो भने उहाँ हाम्रो अभिभावक हो हामी उहाँको संरक्षण गर्छौ,’उनले भनिन्।

अष्टलक्ष्मीलाई डोरमणिको चुनौती

पदबाट राजीनामा दिएर अष्टलक्ष्मीलाई दलको नेता बनाउँदै मुख्यमन्त्री प्रस्ताव गरेको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री शाक्यलाई चुनौती दिएका छन्।

आइतबार जिसस मकवानपुरको वार्षिक समीक्षालाई सम्बोधन गर्दै पौडेलले आफूले विगतमा सुरु गरेको काम वर्तमान सरकारले पूरा गर्छ कि गर्दैन हेर्न बाँकी छ भन्दै अष्टलक्ष्मीलाई चुनौती दिएका हुन्। राजनीतिक उथलपुथलले गर्दा साढे ३ वर्षमा आफू नेतृत्वको सरकार बाहिरिएर नयाँ सरकार आएको भन्दै पौडेलले भने ‘यसअघिको सरकारले सुरु गरेको विगतको कामलाई वर्तमान सरकारले पूरा गर्छ कि गर्दैन हेर्न बाँकी छ।’

पौडेलले दुरगामी दृष्टिकोण राख्ने नेतृत्व मात्रै सफल हुने भन्दै समृद्व नेपाल सुखी नेपालीको नारालाईै आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए। मुख्यमन्त्री शाक्यलाई लक्षित गर्दै पौडेलले भने ‘देश परिवर्तनको लागि दीर्घकालीन सपना देख्ने र त्यसलाई पूरा गर्न लाग्ने नेतृत्व मात्रै सफल हुनसक्छ। त्यस्तो नेतृत्वले मात्रै विकासले देशको काचुली फेर्न सक्छ।’

 एमाले विभाजन अघि नेता नेपाल खेमा रहेकी शाक्य र ओली खेमामा रहेका पौडेलबीचको सम्बन्ध राम्रो थिएन। पौडेलले प्रदेश सरकारको नेतृत्व गर्दा ल्याएको बजेट र कार्यक्रमको शाक्यले विरोध गर्दै आएकी थिइन्। तर, पौडेलकै प्रस्तावमा मुख्यमन्त्री बनेपछि उनले सुरु गरेका काम र योजनालाई पूरा गर्ने कि नगर्ने भन्ने चुनौती शाक्यमाथि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.