|

धनगढी  : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज  (आइतबार) थप तीन जना सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्।

आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै आज औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका हुन्।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्। सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने जनाएको छ।

यससँगै सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा (एस) का १३, नेकपा एमाले सभामुखसहित १२, नेपाली कांग्रेस १२ र जसपाका २ सांसद हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.