|

हेटौंडा : एमाले छोडेर नयाँ दल रोज्न निर्वाचन आयोगले दिएको समय सकिनै लाग्दा बागमती प्रदेशका प्रतिपक्षी दलले सरकारको दिन गन्ती गर्न थालेका छन्।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दल छनोट गर्न निर्वाचन आयोगले दिएको समय भदौ २२ गते सकिँदैछ। २३ गते उता प्रदेशमा आधिकारिक रूपमा एमाले विभाजन हुने र सरकार अल्पमतमा पर्ने निश्चितजस्तै भएपछि विपक्षी दलले सरकारको दिन गन्ती गर्न थालेका  हुन्।

दल विभाजनसम्बन्धी अध्यादेशले एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी रोज्नलाई स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई दिएको समय मंगलबार सकिँदैछ। यसबीच बागमती प्रदेशका १३ सांसदले एमाले त्याग्दै नवगठित एकीकृत समाजवादी रोजिसकेका छन्। अब अन्य सांसद नयाँ दलमा जाने सम्भावना छैन।

१३ जनाले मात्रै छोड्दा पनि ५६ जना सांसदसहित बहुमतमा रहेको एमाले ४३ जनामा खुम्चिएको छ। व्यावहारिक र गणितीय रूपमा अल्पमतमा परिसकेको एमाले नेतृत्वको प्रदेश सरकार २३ गतेबाट वैधानिक रूपमा पनि अल्पमतमा पर्ने निश्चित छ। सरकार स्पष्ट अल्पमतमा पर्ने र विश्वासको मत पनि नपाउने भएपछि विपक्षी गठबन्धनले सरकारको दिन गन्ती गर्दै नयाँ सरकार गठनको लागि दौडधुप सुरु गरेका छन्।

गठबन्धनले नयाँ सरकार गठनको प्रस्ताव लैजाने

अष्टलक्ष्मी नेतृत्वको प्रदेश सरकारलाई जतिसक्दो छिटो बिदा गर्न प्रतिपक्षी दल एकजुट भएका छन्। केपी शर्मा ओलीकै पथमा अष्टलक्ष्मी हिँड्ने भएकाले उनले राजीनामा पनि नदिने र संसदमा विश्वासको मत पनि नलिने प्रमुख प्रतिपक्षी दल माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेल बताउँछन्।

‘उहाँले विश्वासको मत पनि माग्नु हुन्न र राजीनामा  पनि दिनु हुन्न भन्ने हामीलाई थाहा छ। त्यसैले एमाले आधिकारिक रूपमा विभाजन हुने बित्तिकै हामी बहुमत पुर्‍याएर प्रदेश प्रमुखकोमा जान्छौं,’ उनले भने। जम्कट्टेलले शाक्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको हुँदा आफूहरू अविश्वासको प्रस्ताव लैजानतिर नलाग्ने बताए।

थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘उहाँले विश्वासको मत माग्नुपर्ने हो तर उहाँले मत नपाउने भएपछि माग्नु हुन्न। उहाँले विश्वासको मत नपाउने भएपछि हामी पनि अविश्वासको प्रस्ताव लैजाँदैनौं। बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान्छौं। ’

२३ गते एमाले विभाजनले औपचारिकता पाउने बित्तिकै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने उनको भनाई छ। सरकार अल्पमतमा परेपछि के गर्छ भन्ने नहेरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै जम्कट्टेलले अष्टलक्ष्मी नेतृत्वको सरकारको दिन गन्ती सुरु भइसकेको बताए।

उनले वर्तमान एमाले नेतृत्वको सरकार धेरै दिन नटिक्ने भन्दै केही दिनमा नै गठबन्धनको सरकार बन्ने बताए । ‘अष्टलक्ष्मी जस्तो राम्रो सिनियर नेतालाई हामी आफैं मुख्यमन्त्री बनाउँथ्यौं तर, उहाँ प्रतिगमनको मतियार बनेर भुतले खाजा खाने बेलामा मुख्यमन्त्री बन्नु भयो। अब उहाँ धेरै दिन सरकारमा बस्नु हुन्न,’ उनले थपे।

अष्टलक्ष्मीले छापामार शैलीमा रातारात शपथग्रहण गरेको र संसद अधिवेशन अन्त्य गरेको आरोप उनले लगाए। जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी नरहने पनि स्पष्ट पारेका छन्। यसअघि नै ३ वटा प्रदेशमा माओवादीले नेतृत्व गरिरहेको हुँदा बागमती प्रदेशमा दाबी नरहने उनको भनाई छ।

नवगठीत एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले शाक्य नेतृत्वको सरकार धेरै दिन नटिक्ने बताए। पाण्डेले २३ गते संसदले एमाले विभाजन भएर समाजवादीमा गएका सदस्यहरुको नाम प्रकाशन गरेपछि आफूहरुले संसदीय दल गठन गर्ने बताए। उनले संसदीय दल गठन भएपछि शाक्यविरुद्व अविश्वासको प्रस्ताव लिएर जाने बताए।

‘उहाँले राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने भन्नुभयो भने हामी अविश्वासको प्रस्ताव लिएर जान्छौं। तर उहाँले मात्र भनेर हुँदैन, वरिपरि रहेका ओलीका कार्यकर्ताले जे भन्छन् उहाँले त्यही गर्नुपर्छ। राजीनामा दिनु भएन र विश्वासको मत पनि माग्नु भएन भने हामी उहाँ नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउँछौं,’ पाण्डेले भने।

उनले समाजवादीका सांसदले पनि अष्टलक्ष्मीलाई साथ दिन्छन् भन्दै भ्रमको खेती गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाए। पाण्डेले कुनै पनि हालतमा एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यलाई समर्थन नगरिने स्पष्ट पारे।

अष्टलक्ष्मी प्रतिपक्षीलाई कुर्ने

आधिकारिक रूपमा दल विभाजन भएर अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। तर उनले विश्वासको मत नलिने संकेत गरेकी छिन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने भन्दै प्रतिपक्षी दलको भूमिकाको प्रतीक्षा गर्ने बताइन्।

उनले सरकार अल्पमतमा परिसकेपछि प्रतिपक्षी दल कसरी आउँछन् आफू त्यसैगरि अघि बढ्ने प्रतिक्रिया दिएकी हुन्। ‘भदौ २२ गतेसम्म म्याद छ। त्यसपछि प्रतिपक्षी दलहरू कसरी आउँछन् हामीले हेर्नुपर्‍यो,’ उनले भनिन्, ‘हिजोको हाम्रो सम्बन्ध राम्रो नै छ। हामी समझदारीका साथ अगाडि बढ्छौं।’

शाक्यले एमाले विभाजन भएर सरकार अल्पमतमा परेपछि प्रतिपक्षी दलले निभाउने भूमिकालाई हेरेर मात्रै कसरी अगाडि बढ्ने भन्ने कुरा तय हुने बताइन्।

गठबन्धन सरकार बन्ने पक्का

एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने भएपछि विपक्षी गठबन्धन नेतृत्वको सरकार बन्ने पक्का भएको छ। १ सय ९ जना सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५५ जना चाहिन्छ।

हालसम्म ५६ सांसदसहित एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर, दल विभाजन हुँदा १३ सांसदले नयाँ दल रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको छ।

प्रदेशका अन्य साना दलसँग मिलेर संयुक्त सरकार गठन गर्न एमालेले पहल गरिरहेको भएपनि सरकार गठनका लागि आवश्यक मत पुग्दैन। प्रदेशमा गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्।

यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिएपनि ५१ जना मात्रै हुन्छ। तर, सरकार गठन गर्न ५५ जना चाहिन्छ। त्यसैले अष्टलक्ष्मी नेतृत्वको एमाले सरकारले निरन्तरता नपाउने निश्चित छ।

केन्द्रदेखि गठबन्धनमा रहेका ५ दलमध्ये बागमती प्रदेशमा ३ वटा दल मात्रै छन्। यी ३ दलमात्रै मिल्दा पनि प्रदेश सरकार गठन गर्न आवश्यक मत पुग्छ।

गठबन्धनमा रहेको माओवादीको २३, कांग्रेसको २२ र समाजवादीको १३ गर्दा प्रदेशमा ५८ सांसद हुन्छन् । यो सरकार गठन गर्न चाहिने बहुमत संख्या हो। त्यसैले बागमती प्रदेशमा विपक्षी गठबन्धन नेतृत्वको सरकार बन्ने पक्काजस्तै देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.