|

पर्वत : गत भदौ १७ गतेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको चुवादेखि पातिचौरसम्मको सडकमा २० ठाउँ पहिरो झरेका छन्। उक्त सडक साबिकको धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सवारी आउजाउ गर्ने एक मात्रा कालोपत्रे भएको, सहज र छोटो नाका हो।

सोमबार यो सडक खण्ड बन्द भएको चौथो दिन चलिरहेको छ। सबै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ।

सडक बन्द हुँदा विभिन्न कामका लागि आउजाउ गर्नुपर्ने चार जिल्लाका नागरिकले सास्ती त पाएका छन् नै त्योभन्दा झनै खतरा कालोबजारी र महँगीको बढेको छ।

बाटो बन्द हुँदा मालबहाक ट्रकहरू भित्रिन नपाउँदा चारै जिल्लामा पेट्रोलियम पदार्थ, फलफूल तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुँदै जान थालेको छ। गाउँको उत्पादनले नधान्ने भएका कारण चितवन, पोखरा, तनहुँलगायत ठाउँहरूबाट धौलागिरिमा ठूलो परिमाणमा खाद्य बस्तु तथा अन्य उपभोग्य वस्तुहरू आउने गरेको छ।

तर, पहिरो खसेको मध्यपहाडीको अर्को विकल्प नहुँदा बाटो बन्द रहने बेलासम्म आयात पनि बन्द नै रहने अवस्था देखिएको छ।

सामग्री आयातको विकल्पको रूपमा पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा खण्डलाई प्रयोग गर्न त सकिन्छ। मध्यपहाडी लोकमार्ग हुँदै पोखराबाट पर्वत सदरमुकाम कुश्मा पुग्न बढीमा दुई घण्टा लाग्छ। तर, पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा आउने मालबहाक ट्रकलाई दुई दिन लाग्न सक्छ।

अर्को बाटो भनेको बुटवल–गुल्मी–बडीगाड–गलकोट–बागलुङ सडक हो। यो सडक रुपन्देही जिल्लामा कालोपत्रे भएको भए पनि त्यसयता भने कच्ची नै छ। वर्षा नरोकिएका कारण यो सडकबाट सामग्री ढुवानी गर्नु निकै कठिनको कुरा हो।

तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव हुँदै जान थालेको कुश्माका फलफूल तथा तरकारी व्यवसायी रामप्रसाद रखाल बताउँछन्।

‘दुई सय ५० मा बेच्ने गरेको स्याउ चार सयमा, ६० को बन्दा  सयमा, डेढ सयको काउली दुई सयमा, ७० को करेला एक सय २० मा, ६० को टमाटर एक सय २० मा बेचिएको छ’ उनले भने, ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ। त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन। सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन।’

पेट्रोलियम पदार्थ लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायीहरू बताउँछन्। ‘अझै १-२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसिएसनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो।’

बजारमा सामग्री अभाव हुँदै जाँदा महँगी र कालोबजारी बढ्न सक्ने भएकाले प्रशासनले यो बारेमा गोप्य अनुगमन गरिरहेको र कसैले त्यस्तो गरेको पाइएमा तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

‘प्रशासनले कसैलाई ग्राहक बनाएर पसलमा पठाउँछ, कालोबजारी र महँगीबारे सूचना लिएर आएपछि प्रशासनले तुरुन्तै एक्सन लिन्छ’ उनले भनिन, ‘हामी एकतर्फी रूपमा भए पनि छिटो बाटो सञ्चालनमा ल्याउनुपर्छ भनेर लागिरहेका छौँ। पहिरोबाट पीडित बनेकाहरूलाई राहत दिनका लागि पनि व्यस्त भएका छौँ। अभावको समस्या लामो रहँदैन।’

वैकल्पिक मार्ग नभएका कारण डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामग्रीहहरु लिएर आउँदै गरेका ट्याङ्कर तथा ट्रकहरू पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन्।

पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वत लगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा पनि समस्या भएको छ। आलु, दूध, खसी बोका लगायतका उत्पादन धौलागिरिबाट निर्यात हुने गरेको भए पनि सडककै कारण समस्या भएको छ। निर्यात गर्न नसक्दा सबैभन्दा बढी मर्कामा दूध उत्पादक कृषकहरू परेका छन्। बागलुङको दक्षिण क्षेत्र र पर्वतबाट दैनिक रूपमा दूध पोखरा पठाउने गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.