तालिम प्राप्त कुकुरसहित धरानबाट एसपीको नेतृत्वमा टोली खटाइयो

|

काठमाडौं :  संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाबारे प्रहरीको चारवटा टोलीले अनुसन्धान गर्ने भएको छ। संघीय, जिल्ला, इलाकासहित स्थानीय प्रहरीको टोलीले हत्या घटनाको अनुसन्धान गर्ने गरी प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।

घटनाको छानविनका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपीको नेतृत्वमा तालिम प्राप्त एउटा कुकुरसहित टोली परिचालन गरिएको छ। संघीय प्रहरी कार्यलय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली पठाइएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा एक टोली र इलाका प्रहरी चैनपुरबाट पनि इन्सपेक्टरको नेतृत्वमा पनि टोली खटिएको छ। प्रहरी टोली घटनास्थल प्रस्थान गरिसकेको र अझै केही समय लाग्ने उनले जानकारी दिए। प्रहरी टोली घटनास्थल पुगिसकेपछि तालिम प्राप्त कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान हुने प्रहरी प्रवक्ता राईले बताए।

​उनका अनुसार दोषी नउम्किऊन् भनेर भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ। प्रहरीका अनुसार आइतबार राति ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ।

५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय दीपक कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.