|

धनगढी : केन्द्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले फुटेपछि केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मकै राजनीतिमा तरंग आएको छ। नेकपा एमाले फुटेपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे।

अहिले माधव नेपालको नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्ता तान्न भरपुर प्रयास गरिरहेको छ। यस्तै, अर्कातिर एमालेलाई पनि पुरानो शक्ति जोगाइराख्न चुनौती छ।

एमाले र समाजवादीबीचको तानातानमा अहिले स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरु पनि परेका छन्। यही तानातानमा सुदूरपश्चिमकी एक सांसद पनि परेकी छन। ती सांसद हुन् आर्थिक मामिला राज्यमन्त्री समेत रहेकी अर्चना गहतराज।

भदौ १५ गते सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरे। त्यो दिन एमालेका १३ सांसदले एकीकृत समाजवादीमा सनाखत गर्ने दाबी गरिएको थियो।

तर, अन्त्यमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज र सांसद तारा लामा तामाङ सनाखत गर्न आएनन्। त्यसपछि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनुकुमारी चौधरी, सांसदहरु मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले मात्रै समाजवादीमा सनाखत गरे।

त्योबेला आर्थिक मामिला राज्यमन्त्री गहतराज, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र सांसद तारा लामा तामाङको कागजपत्र नपुगेपछि सनाखतमा नआएको बताइएको थियो। उनीहरूले कागजपत्र तयार गरेर भोलिपल्ट सनाखत गर्ने एकीकृत समाजवादीले दाबी गरेको थियो। तर, उनीहरुमध्ये गहतराजले अझै सनाखत गरेकी छैनन्।

यसैबीच राज्यमन्त्री गहतराजले अब आफू विभाजनतर्फ नजाने बताउन थालेकी छन्। उनलाई आफूतिर तान्न एकीकृत समाजवादीका नेताहरू सक्रिय भए पनि सफल हुन सकेका छैनन्।

‘अर्चनाजी यतै आउन सकारात्मक हुनुहुन्थ्यो।’ एकीकृत समाजवादीका एक नेताले भने, ‘बीचमा उहाँले कुरा फेर्नु भो। अहिले एमालेमै बस्छु भन्नु भएको छ।’

माधव बलियो, ओली कमजोर

एमाले विभाजनपछि सुदूरपश्चिममा एमाले कमजोर देखिएको छ। प्रदेशमा सांसदहरूले धमाधम माधव नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेर एमाले त्याग्न थालेसँगै एमाले कमजोर ठहरिएको हो।

एमाले एकता कायमै भएका बेला सुदूरपश्चिम एमाले अध्यक्ष केपी शर्मा ओलीको पकड क्षेत्र मानिन्थ्यो। तर, अहिले एमाले फुटेपछि माधव पक्ष बलियो देखिएको हो।

हालसम्म सुदूरपश्चिममा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ। आज सोमबार प्रदेश सांसद माया तामाङ (बोहरा)ले  एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्।

(आइतबार) थप तीन जना सांसदले सनाखत गरेका थिए। त्यस्तै, अरू १० जना सांसदले यसअघि नै सनाखत गरिसकेका थिए। आज भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरूले पनि माधवको साथ छाडेको चर्चा छ।

विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्। सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने जनाएको छ।

यससँगै सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा (एस) का १४, नेकपा एमाले सभामुखसहित ११, नेपाली कांग्रेस १२ र जसपाका २ सांसद हुनेछन्।

यद्यपि निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा भदौ २२ सम्म भएकाले सांसद यताउता हुन सक्ने नेताहरू बताउँछन्। अझै २ जना सांसद समाजवादीमा आउने र प्रदेशसभामा सबैभन्दा ठूलो दल पनि एकीकृत समाजवादी नै हुने नेताहरुको दाबी छ।

एमालेमै रहेपछि कमजोर बने भीम रावल

कुनै बेला एमाले उपाध्यक्ष डा. भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो। तर, एमाले विभाजन हुँदा रावलको पकड कमजोर हुँदै गएको छ। तत्कालीन समयमा माधव समूहमा रहेका रावलले एमालेमै रहने र माधवको साथ छाड्ने निर्णय गरेपछि उनी कमजोर बनेका हुन्।

एमालेको आन्तरिक विवादका क्रममा माधव नेपाल समूहमा १७ सांसद थिए भने ओलीतिर ७ जना मात्रै थिए। विभाजनअघि नेपाल समूहका रावलकै इसारामा सुदूरपश्चिमको राजनीति घुम्थ्यो।

एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वको सरकार ढाल्न खोजेको थियो। तर, नेपाल समूहले त्यो सफल हुन दिएन। त्यसका लागि भीम रावल नै सक्रिय भए। यद्यपि एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेपछि रावलले शक्ति गुमाउँदै गएका छन्।

उनीनिकट सुदूरपश्चिम प्रदेशसभाका १४ सांसद एकीकृत समाजवादीमा लागेका छन्। अहिले रावल आफूनिकट अन्य सांसदलाई समाजवादीमा जानबाट रोक्न सक्रिय छन्। एकीकृत समाजवादी पार्टी संसदमा सबैभन्दा ठूलो दल बन्ने दाउमा छ। यद्यपि, रावल समाजवादीलाई ठूलो दल बन्नबाट रोक्ने रणनीतिमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.