|

काठमाडौं : ‘त्रिविले साह्रै दु:ख दियो, रजिष्ट्रेशन नम्बर हाल्नलाई नै एक साता धाउनुपर्‍याे,’आइतबार बिहान साढे १० बजे त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रणको कार्यालय बल्खुमा पैसा बुझाउन लाइनमा बसिरहेका नवीन घिमिरे यस्तै गुनासाे गर्दै थिए। 

संखुवासभाका घिमिरेले मानविकी शंकायबाट साउनमा तीन वर्षे स्नातक तह पार गरे। तर उनको प्रत्येक मार्कसिटमा त्रिविले रजिष्ट्रेसन नम्बर नै हालिदिएन। ‘मेरो तीन वटै वर्षको मार्कसिटमा रजिष्ट्रेशन नम्बर नै हालिएन,’ उनले भने,‘नम्बर त त्रिविले हाल्नुपर्ने हो, हाम्रो गल्ती हैन, त्रिविको गल्तीले गर्दा दु:ख पाइयाे।’ 

उनलाई स्नातकोत्तर भर्नाका लागि तत्कालै ट्रान्सक्रिप्ट चाहिएको छ। तर अहिले सम्म रजिष्ट्रेशन नम्बर नै मिलाउन सकेका छैनन्। ‘म लगातार सात दिन यहाँ धाएको छु, तर कहिले रजिष्ट्रेशन विभागका कर्मचारी कोरोना लागेकाले काम नभएको भन्छ, कहिले प्राविधिक त्रुटि भन्छ, यसरी नै अहिले सम्म झुलाइरहेको छ,’उनले भने। ​

उनले एक वर्षको मात्रै मार्कसिटमा रजिष्ट्रेसन नम्बर सच्याउन एक सय रुपैयाँ शुल्क त्रिविले लिने गरेको बताए। ‘मेरो तीन वर्षको त तीन सय तिर्नुपर्छ,’ घिमिरेले भने,‘यस्ता अरुको थुप्रै समस्या छ, बिगार्दा पैसा पाउँछन् कर्मचारी, त्यसैले जानी जानी गल्ती गर्छन।’

जहाँ पनि लाइन नै लाइन

हरेक सेवाग्राही पहिला बुझ्नकाे लागि सोधपुछ कक्षमा जान्छन्। त्यहाँ फर्म पनि पाइन्छ। तर, त्यहाँ धेरै भीडभाड हुन्छ। अहिले पनि कोभिड-१९ संक्रमणको जोखिम कायमै छ।

तर भीडभाड व्यवस्थानमा त्रिविको कुनै चासो छैन। ठेलाठेल गरेर नै सेवा लिइरहेका छन् सेवाग्राही। सबैभन्दा बढी भौचर भर्नाका लागि बैंकको लाइनमा बस्नुपर्ने बाध्यता छ। 

लाइनमा भेटिएका गुल्मीका शंकर कोइराला भन्छन्, ‘त्रिविको सेवा लिनै नसकिने, सानो कामको लागि पनि एक दि यही खर्चिनुपर्छ, जहाँ पनि लाइनमा बस्नुपर्ने, कोरोना फैलिन्छ की भन्ने त्रास अर्काेतिर छ।’

उनले अनलाइन माध्यामबाट भुक्तानी दिने व्यवस्था भए धेरै सहजता हुने बताए। ‘त्रिविले अनलाइन माध्यमबाट भौचरका लागि पैसा बुझाउन लगाएर यहाँ भौचर मात्र प्रिन्ट गर्ने व्यवस्था गरेमा यसरी घण्टौं लाइनमै बस्नुपर्दैन थियो,’ उनले भने। 

खाजा खाने समयमा पुरै कार्यालय शुन्य

त्रिविले कर्मचारी खाजा खाने समय दुई बजेदेखि तीन बजेसम्म एक घण्टा ताेकेको छ। उक्त समय कार्यालय सुनसान हुन्छ। त्यो समयमा सेवाग्राही एक घण्टा कुर्नुपर्ने बाध्यता छ। 

‘गत बिहीबार खाजा खाने समयमा म आइपुगे छु, एक घण्टा सम्म कर्मचारी नै थिएनन्, कुरेरै बसे। कर्मचारी पालैपालो खाना खान गएमा सेवा राेकिने थिएन,’ उनले भने। सबै निकायमा सेवा चुस्त र छरितो नै नहुने गरेको भनाइ छ।

परीक्षा नियन्त्रक भन्छः सेवाग्राहीको चाप बढेकाले समस्या भयो

परीक्षा नियन्त्रण कार्यालयका सह-नियन्त्रक महेशराज ओझाले पछिल्लो समय विद्यार्थीको संख्या बढेकाले धेरै भिडभाड हुने गरेकाे बताए। ‘परीक्षा नतिजा प्रकाशित गरिएकाले धेरै अहिले ट्रान्सक्रिप्ट लिन विद्यार्थी आएका हुन,’ उनले भने, ‘आजबाट धेरै चाप छैन, उनीहरू नै सामाजिक दुरी कायम गरेर बसेका छन्।’

उनले समयमै विद्यार्थीलाई सेवा दिने गरेको दाबी गरे। एउटा रजिष्ट्रेशन हाल्न सात दिनसम्म लागेको प्रश्नमा ओझाले भने, ‘रजिस्ट्रेशन नम्बर हाल्न र सच्याउन समय लाग्दैन, रजिष्ट्रेसन सम्बन्धी काम गर्ने कर्मचारीलाई कोरोना देखिएर तीन दिन सेवा नै बन्द भएको थियो, त्यही बेला उहाँ आउनु भएकोले होला।’

खाजा खाने समय एउटै तोकिँदा सेवाग्राहीलाई समस्या हुने गरेको भने उनले स्वीकारे। उनले भने, ‘खाजा खाने समय नै  २ देखि ३ बजेसम्म मात्रै तोकिएको छ, त्यहीबेला मात्रै सबै कर्मचारी जानुपर्ने व्यवस्था छ, यसले गर्दा सेवाग्राही मर्कामा पर्ने गरेकाले खाजा खाने समय फेरबदल गर्ने भनेका छौँ, गर्छौ,’उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.