|

धनगढी : एमाले सुदूरपश्चिमका नेता राजेन्द्र रावलले सुदूरपश्चिमका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई अपहरण शैलीमा एकीकृत समाजवादी रोज्न लगाइएको आरोप लगाएका छन्।

उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका सांसदलाई अपहरण शैलीमा सनाखत गर्न लगियो। विगतमा वडामा समेत जनमत नभएका केही मन्त्रीकै संलग्नतामा सांसद र स्थानीय जनप्रतिनिधिको अपहरण भइरहेको छ।’

उनले प्रदेशसभामा एकीकृत समाजवादी ठूलो पार्टी भएर कुनै फरक नपर्ने दाबी गरे। ‘आफ्नो स्वार्थ पूरा गर्नका लागि यहाँ राजनीतिमा अपराध गर्न थालिएको छ,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी पहिलो पार्टी भएर उदाउँछौं। दुई तिहाइको लक्ष्यसहित हामी अगाडि बढेका छौं।’

सुदूरपश्चिममा नेकपा एमालेका सांसद तथा जनप्रतिनिधिले धमाधम पार्टी त्यागेपछि नेकपा (एकीकृत समाजवादी) पार्टीमाथि अपहरणको आरोप लागेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सांसद र जनप्रतिनिधि अपहरण गरेको आरोप लगाएको हो।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गरिसकेका छन्। योसँगै प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ भने सभामुखसहित ११ सांसदमा सीमित एमाले चौथोमा खुम्चिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.