|

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।

मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।

नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं किसान समस्यामा परेका छन्। वर्षभरि खाने अन्न उब्जने खेत बगर बनेको र बाँकी केही खेतसमेत बाढीले कटान गरेपछि मण्डनदेउपुरका किसान निराश भएका छन्। अघिल्लो साँझसम्म हराभरा रहेको धानखेत एकाबिहानै बगरमा परिणत भइसकेको थियो।

०५९ सालपछि यति ठूलो बाढी यसै पटक आएको अनुमान छ। बाढीका कारण अहिलेसम्म क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन।

‘यसअघि खेतबाट बर्खे धान मात्र १० मुरी भित्र्याउँथें तर, यो वर्ष १० पाथी धान पनि भित्र्याउन सकिँदैन जस्तो छ,’ स्थानीय अम्बिका हमालले बताइन्। धान हरियो भइसकेको खेतमा यतिखेर बाढीले बगरमा परिणत भएको छ,’ उनले भनिन्, ‘खेतको मलिलो माटो सबै बगेर ढुंगा, बालुवा र गेग्रान थुप्रिएको छ।’ 

त्यस्तै कान्छा तामाङले धान रोपाइँका लागि झण्डै ३० हजार रूपैयाँ खर्च गरे। तर, अहिले खेत बगर बनेको छ। रोपाहार, आली लगाउने खेताला खोज्दा धेरथोर खर्च भयो,’ उनले भने, ‘बरु त्यो पैसाले बेसाएर खाएको भए भरथेग हुन्थ्यो होला। आफ्नो दुःखको त कुरै छाडौं, लगानी मात्रै खेर गयो।’

बाढीले खेतमा क्षति पुर्‍यायाएको भएपनि यकिन तथ्यांक भने आइनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। खोलाको धार खेततर्फ सोझिएपछि बाढीपीडित किसानलाई जमिन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ताले सताएको छ। 

अब धानको बिऊ पनि नपाइने र पाइहालेमा छिप्पिइसकेको बिऊ रोप्न नमिल्ने हुँदा यसवर्ष खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था नरहेको उनीहरुको भनाई छ।

चाखोला फाँटका परम्परागत कुलोेको नामनिसाना छैन। बचेका कुलोमा पानी नचढ्ने समस्या थपिएको छ। बाढीबाट जोगिएका खेतमा पनि पानी लगाउन सहज हुने अवस्था छैन। तटबन्ध तथा बाढी रोकथाम नहुँदा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ। 

स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रुपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने, तत्कालका लागि क्षतिपूर्ति र बाँकी खेतमा सिँचाइका लागि कुलो मर्मत गरिदिनुपर्ने माग किसानको छ।

पुण्यामाती खोलामा आएको बाढीले बनेपाको पुलबजार, गोदामचोक, श्रीखण्डपुरलगायत क्षेत्र डुबानमा परेको थियो। त्यस्तै वडा कार्यालय, इलाका प्रहरी चौकी, मन्दिर आदि पनि डुबानमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.