८ सय ६६ स्थानीय तहका जनप्रतिनिधि लोसपामा र ३ सय १३ जनप्रतिनिधि एकीकृत समाजवादीमा

|

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमाले छाडेर १३ जना प्रदेश सांसद र ३ सय १३ स्थानीय तहका जनप्रतिनिधिले माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा मंगलबार सनाखत गरेका छन्।

यसैगरी सनाखत गर्ने अन्तिम दिन मंगलबार प्रदेश २ का १६ जना सांसद र ८ सय ६६ स्थानीय तहका जनप्रतिनिधिले जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्। 

एमाले र जसपा विभाजन भएपछि निर्वाचन आयोगले सांसदहरूलाई नयाँ पार्टी रोज्न दिएको आजसम्म दिएको समयअनुसार उनीहरूले नयाँ दल रोजेका हुन्।

एमाले परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सांसद अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, हसिमा खातनु, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र डिल्लीप्रसाद उप्रेतीले सनाखत गरेका छन्।

यसैगरी, जसपा छाडेर लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलमदेवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, जितेन्द्र सोनल, अभिराम शर्मा, प्रह्लाद गिरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी र डा.डिम्पल झा रहेका छन्।

प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाबाट २५ गरी जसपाका कुल ५५ प्रदेशसभा सदस्य थिए।

त्यसैगरी, प्रदेशसभामा नेकपा एमालेका २१ जना सांसद थिए। एमालेका २१ मध्ये १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि प्रदेश २ को प्रदेशसभामा केपी शर्मा ओलीभन्दा माधवकुमार नेपाल पक्ष बलियो देखिएको छ।

लोसपामा ८ सय ६६ र एकीकृत समाजवादीमा ३ सय १३ स्थानीय तहका जनप्रतिनिधिको सनाखत

त्यस्तै प्रदेश २ मा जसपाबाट छुट्टिएर बनेको लोसपाका पक्षमा ८ सय ६६ र एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीका पक्षमा ३ सय १३ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् ।

जनता समाजवादीबाट लोसपामा महोत्तरीका २ सय ५८, बाराका १ सय ३८, सर्लाहीका १ सय ३७, धनुषाका १ सय ९, सप्तरीका ९६, रौतहटका ८८, पर्साका २८ र सिरहाका १२ जना स्थानीय तहका सदस्यले सनाखत गरेका छन्।

त्यस्तै, एकीकृत समाजवादीका पक्षमा रौतहटका ८४, सिरहाका ६१, सर्लाहीका ४८, धनुषाका ४८, बाराका ३२, सप्तरीका २९, महोत्तरीका ६ र पर्साका ५ जना स्थानीय तहका सदस्यले सनाखत गरेका छन्।

लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्। जसमा ६ पालिकाका प्रमुख, १० पालिकाका उपप्रमुख र ४४ वडाध्यक्ष छन्।

धनुषाका १ सय ९ स्थानीय जनप्रतिनिधिले लोसपा रोजेकोमध्ये १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख छन् भने १४ वडाध्यक्ष छन्। त्यस्तै, २ उपप्रमुख र ८ वडाध्यक्षले एकीकृत समाजवादी रोजेका छन्।

सप्तरीका १ मेयर र ३ उपमेयर, धनुषाका १ मेयर र २ उपमेयर, महोत्तरीका ६ मेयर र १० उपमेयर, सर्लाहीका ५ मेयर र ४ उपमेयर, रौतहटका १ मेयर, बाराका ३ मेयर र ५ उपमेयर, पर्साका २ उपमेयरले लोसपामा सनाखत गरेका छन्।

त्यसैगरी, एकीकृत समाजवादीमा सप्तरीका ३१ जनाले सनाखत गरेकामध्ये २ जनाले सनाखत फिर्ता लिन पाउँ भन्दै निवेदन दिएका छन् भने लोसपामा सनाखत गरेका १ जनप्रतिनिधिले सनाखत फिर्ताका लागि निवेदन दिएका छन्।

एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ।

प्रदेश निर्वाचन कार्यालयमा भदौ १५ गतेदेखि भदौ २२ सम्म एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी र जसपाबाट छुट्टिएर बनेको लोसपामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको पार्टीगत सनाखत सम्पन्न भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.