|

सुर्खेत : कर्णाली प्रदेशमा स्थानीय तहका ३५२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरीे नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। प्रदेशका १० जिल्लाका ३५२ जना जनप्रतिनिधिले मंगलबार साँझसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। 

निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार समाजवादी रोज्ने जनप्रतिनिधिहरुमा सल्यानका सबैभन्दा धेरै अर्थात् ७६ जना रहेका छन्। सल्यानको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित ७६ जनाले एकीकृत समाजवादी रोजेको समाजवादीका जिल्ला सचिव रमेश गौतमले जानकारी दिए। त्यहाँ स्थानीय तहको निर्वाचनमा एमालेका १४२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। सल्यान एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला हो।

त्यस्तै, कालीकोटमा दुई गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्षसहित ६५ जनाले एमाले छोडेका छन्। कालीकोट एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीको गृह जिल्ला हो।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाको गृह जिल्ला दैलेखमा ६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहसहित ६३ जनाले एमाले छोडेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुणनाथ योगीले जानकारी दिए। 

त्यस्तै, एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको गृह जिल्ला डोल्पामा ४२ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, आठ वडाध्यक्ष, चार जिल्ला समन्वय समितिका सदस्यसहित ४२ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको मन्त्री बुढाले जानकारी दिए।

जुम्लामा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्रीसहित ४४ जनाले एकीकृत समाजवादी रोजेको एकीकृत समाजवादीका नेता एवं प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा एमालेबाट एक–एकजना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडाध्यक्षसहित ९५ जनाले निर्वाचन जितेका थिए। निर्वाचित एक गाउँपालिका उपाध्यक्ष, ११ जनावडाध्यक्षसहित ४४ जना जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन्। 

त्यस्तै मुगुमा सोरु गाउँपालिकाका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल (बम)सहित २९ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए।

सुर्खेतमा पाँच जना वडा अध्यक्षसहित १५ जना स्थानीय तहमा जनप्रतिधिले एमाले छाडेका छन्। जाजरकोटमा १०, हुम्लामा पाँच जना र रुकुमपश्चिममा तीन जना जनप्रतिनिधिले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। 

कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित १६ जना सांसदमध्ये ३ जनाले यसअघि नै समाजवादीको पक्षमा सनाखत गरेका छन्। जसमा जुम्लाका सांसद पदमबहादुर रोकाया, रुकुम पश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले सनाखत गरेका हुन्।

यसअघि फ्लोर क्रस गरेपछि कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जना सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा भने नेकपा एकीकृत समाजवादीमै छन्। उनीहरूमध्ये प्रकाश ज्वालाबाहेक तीनजना प्रदेशका मन्त्री समेत रहेका छन्। कर्णाली प्रदेश सभामा अब एमालेका सभामुखसहित १३ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.