|

काठमाडौं : विभिन्न मिठामिठा परिकारको साथमा बुधबार दर खाइँदै छ। आफ्ना दु:ख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसरमा नेपाली महिलाहरुले दर खाँदैछन्।

भाद्र शुक्ल द्वितियाका दिन दर खाने चलन छ।  दर खाने दिनबाट हरितालिका तिज सुरु भएको मानिन्छ। कोरोनाको महामारी र निषेधाज्ञाका कारण टाढाटाढा रहेका चेलबेटीहरु यसपालि माइतीघरमा भेला भएर खीर, गुँद, हलुवा, ढकनी, घ्यु दही दूध मिठाई, फलफूल लगायतका  मिठा परिकारको दर खाँदैछन्।

कोरोना महामारीका कारण अघिल्लो वर्ष भने जमघट रोकिएको थियो। पछिल्लो समय महिना दिन अघिदेखि नै दर खाने चलन बढ्दै गएको छ। भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका खाद्यान्नको दर खाने चलन रहेको बुढापाकाको भनाइ छ।

हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तिज भने बिहीबार  मनाउँदैछन्। हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ। अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानीसमेत नपिई आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बढेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन भएको हो।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ। दरको नाममा कतिले माछा–मासु तथा मादकपदार्थको सेवन गर्न थालेको पनि बताइन्छ। ती परिकारमा उच्च क्यालोरीयुक्त भएको यस्ता खानेकुराहरु चाँडै भोक लाग्न नदिने, र शक्ति वर्धक हुन्छन्।

धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन्। तिजका दिन बिहानै नुहाइ धुवाइ गरी भगवान् शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा व्‍यस्त हुने गर्छन्।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको व्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ। तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत वस्ने गर्छन्। कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन्।

धार्मिक दृष्टिकोणले राम्रो मानिएको उपवास स्वास्थको लागि पनि उत्तिकै राम्रो हुन्छ। व्रतले शरीरमा भएको विकारहरु हटेर जान्छन्। यसले  शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुको यसले साथै तौल नियन्त्रणमा पनि सहयोग गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.