|

सर्लाही : राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि मंगलबार (हिजो) साँझ ५ बजेबाट सकिएको छ। २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गराएका छन्।

त्यसअनुसार सर्लाहीसहित देशभरमा नेता माधव कुमार नेपालनिकट रहेकाहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा र महन्थ ठाकुरनिकट रहेका जनप्रतिनिधिहरुले जसपा छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) को पक्षमा सनाखत गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय मलंगवाका अनुसार सर्लाहीमा १३९ जनाले लोकतान्त्रिक समाजवादी र ४८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

एमालेका प्रदेशसभा सदस्यहरु बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती र रवीन्द्र बैठा तीनै जनाले एकीकृत समाजवादीमा छन्।

त्यसैगरी, स्थानीय पालिकाहरुमा भने हरिपुर नगरपालिकाका मेयर, उपमेयरसहित त्यहाँका केही र लालबन्दी, हरिवन तथा बागमतीका केही वडाध्यक्ष एवं वडा सदस्यहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन्। लालबन्दीका मेयर मानबहादुर खड्का, उपमेयर, हरिवनका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, ईश्वरपुरका मेयर मनोज देवकोटा, उपमेयर एकाबती चौधरी लगायतका जनप्रतिनिधिहरू भने एमालेमै बसेका छन्।

सर्लाहीमा एमालेका संघीय सांसद छैनन्। त्यसैगरी, राजपाबाट निर्वाचित दुवै संघीय सांसदहरू प्रमोद साह र महेन्द्र यादव जसपामा बसेका छन्। त्यस्तै, राजपाका ८ मध्ये ५ जना प्रदेश सभा सदस्यहरु पनि जसपामै बसेका छन्।

राजपाका प्रदेश सांसदहरु अशोक यादव, सन्जय यादव, सन्चमाया मोक्तान, निरा कुमारी साह र प्रदेश सरकारको मन्त्री समेत रहेका राम नरेश साह जसपामै छन्। उपेन्द्र महतो, गौरीनारायण साह र निलमदेवी भुमिहारनीले मात्रै लोसपा रोजेका छन्।

त्यसैगरी, स्थानीय तहमा भने लोसपा बलियो देखिएको छ । राजपाबाट जितेका ७ वटा पालिकाका प्रमुखमध्ये ५ जना लोसपामा लागेका छन्।

बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह, गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादव, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साह र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लोसपामा छन्।

कविलासीका मेयर कौशल किशोर राय जसपामा बसेका छन् भने फोरमबाट जितेका पर्सा गाउँपालिकाका अध्यक्ष किसुन देव रायले पनि जसपानै रोजेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.