|

संखुवासभा  : संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको वीभत्स हत्याको घटना रहस्यमयी बन्दै गएको छ। हत्या भएको घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख  डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञटोलीले अहिलेसम्म केही तथ्य फेला पार्ने सकेको छैन। अपराध अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन सकेको छैन।

धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए। प्रहरी र स्थानीयको जानकारी अनुसार तेज बहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो।

सिंगो गाउँ नै शोकमा

परिवारै सखाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोला गाउँ शोकमा डुबेको छ। अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्की बताए। घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए। घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीले बताए।

घटना राति भयो कि बिहान अझै अन्योल

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ। बौद्धमानले भने, 'सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौँ। बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ। घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए। सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन। यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो।'

घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए? हत्या गरिएका ६ जनाको नै टाउकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ। विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार धारिलो हतियार प्रयोग गरि हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो। उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो।

पार्वतीको शव आँगनबाट ओछ्यानमा

जीवित रहेका बौद्धमान आफूलाई घटनाको विषयमा कुनै जानकारी नभएको बताउँछन्। उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहीर गई को कता गएछन् भनेर खोजी गरे तर कोही पत्ता नलागेपछि उनी पुन आफू सुतेकै ओछ्यानमा फर्किएका थिए। जुनबेला करिब ८ बजिसकेको थियो। ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे तर उनी उठिनन् उनले भने।

बौद्धमानले भनेअनुसार पार्वतीलाई मुर्छा पर्ने पुरानै रोग थियो। निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको मृत्यु भइसकेको जानकारी पाए। निकैबेरपछि होसमा आउने गरे पनि सोमबार बिहान भने उनी कहिल्यै नउठ्ने गरी गइन्।

घटनामा वर्ष ५८ का तेजबहादुर कार्की आमा ८४ वर्षीय पार्वती, ५२ वर्षीया श्रीमती कमला,३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दिपेन र ७ वर्षीय नातिनी गोमाको मृत्यु भएको थियो। १० जनाको परिवार रहेको कार्कीको जेठो छोरो रमेश मलेसिया र कान्छो छोरो नरेश दुबई वैदेशिक रोजगारीमा रहेका छन्। कान्छी बुहारी तारा झापाको दमकमा बस्दै आएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.