|

अस्मिना पाण्डे

बुटवल  :         

लेकैबाट के चरी झर्‍यो,

बस्योकी बसेन रातो बरैमा।

शिरफूलमा दिलमेरो बस्यो,

दिलमेरो बसेन पापी घरैमा।

पहिला गहनाको ज्यादै महत्व हुन्थ्यो। गहना असाध्यै मन पर्ने घरमा दु:ख भए पनि गहनामा दिल बसेको कुरा छोरीले माइतमा आएर आफ्ना आमाबुवा दिदिबहिनीलाई सुनाएको हो यो गीतमा।

 त्यस्तै, दैलामुनिको काकरीको बतिलो, आमा टिपेर थालैमा।

आइन् छोरी नभन्नुहोला, आमा म परेँ जालैमा। 

यस्ता हुन्थे तीजका गीत विगतका दिन सम्झिँदै बुटवल योगीकुटीकी ६० वर्षीय शिला पाण्डेले भनिन्।

अहिलेका तीज के तीज। आफैँले जुराएका गीतमा भाका हालेर गाउँदा अर्कै आनन्द र खुशी लाग्थ्यो। रमाइलो लाग्थ्यो। शिला पाण्डेको १३ वर्षको उमेरमा बिहे भयो।  मनले चाहेर होइन बाध्यताले। यो केटासँग बिहे गर भनेपछि गर्नपर्थ्यो। नचाहँदा नचाहँदै भएको बिहे, पराईको घर, ऊ बेलाको संस्कार, बुहारी भएर हेपिनु पर्दाको पीडा मान्छे त के बाच्न मन लाग्नु तर बाध्यता सबैले दु:ख सुख गरेकै हुन्थे। अनि चित्त बुझाउनै पर्ने। उ हेर्यौ उस्तै उ हेर्र्यौ उस्तै संसार नै यस्तौ छ भन्ने लाग्थ्यो उनी भन्छिन्।

ऊ बेला त कोही मान्छे आयो भने मात्रै माइतीको बारेमा गीत खरखरी जुराउन सकिन्थ्यो। न कापि चाहिन्थ्यो न कलम मनैभरि गीत संग्लेका हुन्थे पाण्डे सम्झिन्छिन्।

तीजमा बा, दाजु भाई कोही आउछन् की गाँउका अरुकोही संग निम्तो पठाउछन् भन्दै बस्न पर्ने बाध्यता थियो। न फोन थियो न चिठी खबर थाहा हुन्थ्यो। नत्र वर्ष दिनसम्म औंसीको रातझैँ भएर बस्न पर्‍थ्यो' पाण्डेले सुनाइन्।

बुटवल ४ लक्ष्मीनगरकी भगवती घिमिरेको पनि तीजको सम्झना उस्तै छ। १२ वर्षमा बिहे गरेकी घिमिरे भन्छिन्, 'बिहे भएको हो कि खेल खेलेको जस्तो लाग्थ्यो। धेरै दु:ख थियो घर गर्न। छोरीको जनम त के जनम हो भगवान भन्थेँ मैलेँ।' काखमा, पेटमा ,काधमा बच्चाबच्ची हुन्थे। खोलाको बाटो उतीबेला माइत जान पाएसी संसार भुलिन्थ्यो। माइत गएर आफ्नै भाका यसरी गित गाइन्थ्यो उनी सुनाउँछिन्।

पर्वतले रट्टै पानी बोक्यो छट्टै, मुख काटेका टिनमा मिर्मी जालैमा।

रुँदै हिँड्न रट्टै पर्यौ मलाई छट्टै ,हास्ने खेल्ने दिनमा मिर्मी जालैमा।

उनी भन्छिन्, 'अहिले विष्णु माझी बैनीले गाएको गीत मलाई असाध्यै मन पर्छ। जेलमा थियौँ हामी महिलालाई बोल्न दिइँदैनथ्यो केही अधिकारका बारेमा थाहा थिएन घर परिवारले कतै जान अनुमति दिए जानी हो नदिए बस्ने हो। हो, उती बेला ब्राहमणहरूकोमा अलि गीतमा भनेझै श्रीमानले जाड रक्सी खाने कुट्ने हुदैनथ्यो। संस्कार बलियो थियो तर पीडा पनि उत्तिकै थियो। आमाहरूले घरैको दूधमा खीर बनाउने तामाको तरकारी, काक्राको अचार जे खान मन लाग्छ त्यही परिकार बनाउनुहुन्थ्यो।'

शिरै लाउने शिरफल बाकसमा राखुला, यो मनको बिरह केमा राखुला ?

घरमा राखम भनी स्वामी सोझा छैनन्, माइतमा राखम भनी आमा छैनन्।

आमा मात नभएको भगवानले लगेर, स्वामी सोझा नभएको सौता भएर।

यस्ता गीत हुन्थे। यस्ता गीत गाउँदा आमा गुमाएका साथीहरू धरधरी रुन्थे, रुँदै गीत गाउँदै , नाच्दै गरिन्थ्यो।

दरखाने दिनमा गाइने गीत तीजका दिन श्रीमानको आयु लामो होस् भनेर र स्वास्थ्य लाभको कामना गरेर गाउने गीतहरू हुन्थे। पञ्चमीमा गाईने गीत छुट्टै हुन्थे।

जस्तै : कहाँमा जान्छेउ रानी चरी बगाल बरिलै भगवानलाई भेटन । भगवानलाई भेटन के के पाँहुर चाहिन्छ बरिलै फलपाती अक्षेता

'यस्ता गीतहरू गाउँथ्यौ। ऊबेला पुरुषले गीत गाउँदैनथे मादल बजाएर साथ दिन्थे। अहिले धेरै फरक भयो यस्तो होला भनेर त मैले सोचेकै थिइनँ'  घिमिरे भन्छिन्।

तीजको महत्व

तीजको महत्वका विषयमा संस्कृतविद् राजेन्द्र आचार्य भन्छन्, 'तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ, भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्।यसो गर्दा अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भन्ने जनविश्वास छ।'

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाने चलन छ।

रजस्वला हुँदाको पाप कटाउने भन्ने चलनले पुजा गरिन्छ भन्ने चलन रुढी हो यसलाई परिमार्जन गर्नुपर्ने उनी बताउँछन्। श्रीमानको आयुको लागी भनेर श्रीमती वा नारीहरू मात्रै बस्न पर्नुपर्छ भन्ने मान्यता गलत हो यसमा श्रीमान श्रीमती नै दुबै जनाको स्वास्थ्यलाभ र दिर्घायुको कामना गरेर व्रत बस्नुपर्ने आचार्यको भनाई छ। हरेक चाडपर्वको सामाजिक सास्कृतिक महत्वका बोरमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताए।

संस्कृति जोगाउनमा महिला पुरुष दुवै मिलेर अगाडी बढ्नुपर्ने आचार्य बताउँछन्। उनले तीजका पुराना गीत र भाका यसरी सुनाए : तीजका खाजा मिठा भदौरे तामाले ,

नरोउ भान्जी लिन आउछु भन्थे मामाले

बिहानै उठेर एक्लै जाँतो लतार्ने

दोसरी मेराबाबा बाँदर लगार्ने

चार माना चामल छन् गैरी खेत रोपाइलाई

कति दुख देखाम बरै मेरा बाबालाई।।

'तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ। पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ' उनी भन्छन्। तर, तीजका नाममा व्रतका नाममा भएका रूढी परम्परालाई हटाउँदै जानुपर्नेमा उनी जोड दिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.