|

पर्वत : एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड बिहीबार साँझ सञ्चालनमा आएको छ। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्र बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो आवागमनका लागि भने अझै केही समय लाग्ने भएको छ।

भदौ १७ गते रातिको भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे ८ किलोमिटर सडकमा २० ठाउँमा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।

मौसममा सुधार आएपछि भदौ १९ गतेदेखि मध्यपहाडीको पर्वतखण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझ बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीले बताए।

‘क्षतविक्षत बनेको बाटोलाई एक साताको मिहिनेतपछि एकतर्फी खुलाइएको छ। लामा कन्स्ट्रक्सन, प्रहरी, सेना र सशस्त्रबाट खटिएको जनशक्तिले निकै मिहिनेत गरेर यति छिटो बाटो खुलाउन सकिएको हो,’ उनले भने, ‘बाटो सुरु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन्।’

बाटो बन्द हुँदा साविकको धौलागिरिका चारै जिल्लाका सवारी छुटेका थिएनन् भने बाहिरबाट आएका सवारीसाधन जिल्लाको मोदी गाउँपालिका–५ पातिचौरमा रोकिएका थिए।

बाटो सञ्चालनमा ल्याउन लामा कन्स्ट्रक्सनले पहिरो खसेका विभिन्न ठाउँमा ७ वटा एक्स्काभेटर प्रयोग गरेको थियो। पहिरोसँगै खसेका विशाल ढुंगा हच्काउनसमेत नसक्दा सेनाले लगातार ३ दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाएपछि बाटो खोल्न सकिएको हो।

‘अन्यत्रको पहिरो त मेसिन प्रयोग गरेर पन्छाउन सकियो तर मोदी गाउँपालिका–५ को भ्याप्ले नजिकै सबैभन्दा बढी समस्या भएको थियो। ३ दिनसम्म सेनाले विस्फोट गराएपछि मात्रै एक्स्काभेटरले बाटो सफा गर्न सकिने अवस्था बन्यो,’ सेनाको केबलजंग गुल्म पर्वतका गुल्मपति सेनानी शमशेरबहादुर सिंहले भने, ‘ढुंगा फुटाउन यहाँ विस्फोटक पदार्थ नभएकाले म्याग्दीबाट ल्याएर विस्फोट गराइएको हो।'

यसबीच आएका धेरै पैदलयात्रुलाई सुरक्षाकर्मीको सहयोगमा गन्तव्यमा पठाइएको पनि उनले बताए।

सडक अवरुद्ध हुँदा सवारी भएकाहरूले पोखरा–वालिङ–कार्कीनेटा–कुश्मा हुँदै वैकल्पिक सडक प्रयोग गरे पनि त्यो खण्ड निकै लामो थियो। लामो यात्रा तय गर्न नसक्नेले पोखराबाट पातिचौरसम्म सवारीमा आएर त्यहाँबाट करिब दुई घण्टाभन्दा बढी समय हिँडेर चुवा निस्की कुश्माबजार आउने गरेका थिए। आकस्मिक हिँड्नु परेका कतिपयले पनि चुवाबाट हिँडेरै पातिचौर पुगेर सवारीमार्फत पोखरा गए।

मध्यपहाडीको पर्वतखण्ड साविकको धौलागिरिको एक मात्र कालोपत्रे, सहज र छोटो सडक हो। यो सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुन्छ। सडक अवरुद्ध भएकाले यी सामग्रीको अभाव हुनुका साथै तरकारी र फलफूलको मूल्य आकासिएको थियो।

सडक हुँदै बागलुङबाट पोखरा पुग्न साढे २ घण्टा र पर्वतबाट पोखरा पुग्न २ घण्टा लाग्ने गरेको थियो। त्यसमा पनि तीजको बेला भएकाले माइत जानेहरू र आकस्मिक बिरामीले करिब ८० हजार रूपैयाँसम्म भाडा तिरेर हेलिकोप्टर नै चार्टर गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो। सडक अवरुद्ध भएपछि चारै जिल्लाका आकाशमा हेलिकोप्टर पटक–पटक उडेको देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.