|

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण रहस्यमय बन्दै गएको छ। घटना भएको चार दिन सम्म पनि बीभत्स हत्या प्रकरण रहस्यमै छ।

सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसी घटनास्थल मादी आइपुगेका छन्। प्रहरीका विभिन्न टोलीले घटनाको सुक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।

हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले दाबी गरे। अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रुपमा लागेको सुवेदीले बताए। ‘अहिलेसम्म हत्यामा संम्लग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सुक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख छ।’

हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालित छन्।

हत्या अनुसन्धानलाई फराकिलो रुपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको सुवेदीले बताए। अनुसन्धानको क्रममा मृतकको घरभित्र खानतलासी गर्दा चार लाख ७१ हजार रुपैयाँ नगद र केही सुनका गरगहना फेला परेकोले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ।

घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरलेसमेत केही तथ्य पत्ता लगाउन नसकेपछि मंगलबार धरान फिर्ता गरिएको छ। घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली प्रहरी नायव उपरीक्षक रूगम कुँवरको नेतृत्वमा मंगलबारदेखि घटनास्थलमै छ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.