|

काठमाडौं : भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ। तथ्यांकअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय संक्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ। भदौ ३ गते सक्रिय संक्रमित ४० हजार ५०० जना थिए भने त्यो संख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ। यसरी हेर्दा सक्रिया संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ। 

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा संक्रमण पाइएको थियो। त्यस दिन कोरोना भाइरस संक्रमण निको हुने व्यक्तिको संख्या दुई हजार १२६ जना मात्र थिए। यो संख्यामा बिहीबार गिरावट आएको छ। बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र संक्रमित पाइएका छन्।

यता पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन्। बिहीबारसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संक्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ। पछिल्लो समय मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ। यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई संक्रमण घटेको चिकित्सकको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका संक्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले संक्रमण हुने व्यक्तिको संख्या घट्दै गएको र निको हुने संख्या बढेको पाइएको हो।

नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमण दरमा कमी आएको जानकारी दिए। उनका अनुसार परीक्षण गराएकामध्ये संक्रमण हुने दरमा कमी आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा संक्रमित भएर उपचार गराउन आउने बिरामीको संख्यामा कमी आएको छ। सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन्। धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले संक्रमण घटेको चिकित्सकहरुको भनाइ छ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा संक्रमित भएर आउने बिरामीको संख्यामा कमी आएको छ। एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच/छ जना मात्र बिरामी यहाँ आउने गरेका छन्। नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो। यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ। नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन्।

सरकारको तथ्यांकअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन्। नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ। कोरोना भाइरसको संक्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ। 

जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल संक्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि संक्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ।

जनस्वास्थ्यविद्हरुले अहिले संक्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले संक्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन्।सरकारले असोजसम्म कूल जनसंख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.