अनुगमनपछि अख्तियारले भन्यो - निवेदन परे छानविन गरी कारबाही गर्छौं

|
भासिएको कार्यालय भवन

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन बाहिरबाट हेर्दा देखिन्छ चिरिच्याट्ट भवन। कालो सिसाका झ्याल ढोका। यही कारण जो कोही यो भवन देखेपछि आकर्षित हुन्छन्। 

तर, यी भवनको भित्री कथा भने बेग्लै छ। भित्र छिरियो भने पनि कार्यालयको फ्लाइट र बरण्डातिर भने विभिन्न फूल,गमला राखेर चिटिक्क सजाइएको छ। सिसाका रेलिङ छन्। 

तर, कार्यालयको भुइँतलाको पछाडिपट्टिको जमिन भासिँदै गएको देखिन्छ। नयाँ भवनको भुइँतला वाल नै फुटेको छ। भुइँमा ओछ्याएको ब्लक भासिँदै गएका छन्। भवनको कम्पाउन्ट वाल ढलेको छ।

                                                                                            भत्किएकाे कम्पाउन्ट वाल

तर, यो नयाँ भवनको उद्घाटन भएको आठ महिना मात्रै भएको छ। २०७७ पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भवनको उद्घाटन गरेका थिए। तर, ती भवन जीर्ण बन्दै गएको हो।

गत आइतबार राति ठूलो पानी पर्‍याे। त्यो पानी चुहिएकाले यतिखेर कार्यालयको पार्किङ गर्ने ठाउँ जलमग्‍न बनेको छ। सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन। त्यति मात्रै होइन भवनको केही दिनअघि फल्स सिलिङ झरेपछि त्यहाँ काम गर्ने कर्मचारी यतिखेर त्रसित छन्।

​त्यहाँका एक कर्मचारीले भने,‘पानी चुहिएकाले पार्किङस्थल ताल बनेको छ,फल्स सिलिङ पनि झर्‍यो,ठेकेदार र निर्माण गर्ने सम्बन्धित निकायको लापरबाहीले गुणस्तरहीन काम हुँदा यस्तो भएको हो,हामीलाई केही भयो भने यसको जिम्मेवार को बन्ने?।’

शौचालय चुहिँदा दुर्गन्धित

कार्यालयको शौचालयसमेत चुहिएको छ। कार्यालयको पछाडिपट्टि दिसापिसाबको पानी चुहिएकाले लेउ जमेकाे छ। दुर्गन्ध फैलिएपछि कर्मचारी काम गर्ने सकिरहेका छैनन्।

‘यो दिसापिसाबबाट निस्किएको पानी हो,जमेर हरियो बनेको छ,यो वरिपरि हिँड्नै सकिँदैन,नयाँ भवन देखिए पनि यसको भित्री हालत भनिसाध्य छैन,कुरा उठाउँदा जागिरबाट निकालिएला भन्ने डर,’नाम नखुलाउने स्वार्थमा अर्का महिला कर्मचारीले भनिन्।

                                                                                शाैचालयबाट चुहिएकाे दिशापिसाबकाे पानी

कार्यालयको लिफ्ट पनि गत असारदेखि नै बिग्रिएको छ। हतारमा काम गरिएकाले खानेपानीका लागि जडान गरिएको बोरिङ जडानबाट सफा पानी आएको छैन। त्यसो त पानी राख्ने ट्यांकी नै ह्वांगै राखिएको छ। तर, मर्मतमा कुनै निकायको चासो छैन।

तत्कालीन महान्याधिवक्ता अग्निप्रसाद खरेलले उक्त भवन २०७५ असोज २४ गते शिलान्यास गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार शर्मा–समानान्तर जेभीले कार्यालय बनाउन ठेक्का पाएको थियो। भवनमा करिब ७३ करोड खर्चिएको प्राधिकरणले जनाएको छ।

                                                                                      जमिनबाट भासिएकाे ब्लक 

‘हतारमा काम गर्दा समस्या देखियो’

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भवनबाट पानी नचुहिएको तर्क गरे। उनले भने,‘पानी चुहिएको होइन,ढलको समस्याले पानी जमेको हो,ठेकेदारलाई बोलाएर मर्मत गरिरहेका छौँ,अब व्यवस्थित भएपछि समस्या आउँदैन।’

उनले भवन गुणस्तरीय नै रहेको भन्दै कोही कर्मचारी त्रसित हुनुपर्ने कारण नरहेको बताए। ‘फल्स सिलिङ कहिलेकाँही झरिहाल्छ,त्यो अरू घरमा पनि समस्या आउँछ,भवन जग बलियो नै छ,’उनले भने। 

                                                                                           बिग्रिएको भवनको लिप्ट

जमिनको ब्लक भासिएको विषयमा भने बेसमेनमा पानी जमेकाले समस्या आएको बताए। भने,‘उद्घाटनका लागि हतार-हतारमा पनि काम पनि भयो,अहिले पानी जमेकाले पनि ब्लक भासिएको हुनसक्छ,यस विषयमा हामी पनि हेर्छौं।’ 

पार्किङस्थलमा पानी जमेको हुँदा करेन्ट प्रवाह हुने डरले लिफ्ट बन्द गरेको उनको भनाइ छ। उनले भने,‘अन्डरग्राउण्डमा पानी जमेकाले करेन्ट लाग्ला कि भनेर लिफ्ट बन्द गरेका हो,बिग्रेको होइन,पानीको निकास भएपछि सञ्चालन हुन्छ।’

व्यवस्थित रूपले ढल निकास गर्छौ’ 

पुनर्निर्माण प्राधिकरणका केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख कृष्ण सिंहले ढल फाल्ने पाइपको साइज नमिल्दा समस्या निस्किएको तर्क गरे। उनका अनुसार कार्यालयभित्र ढल पाइप ६ सय एमएमको जडान गरिएको छ।

तर, कार्यालय गेटबाहिर भएको पाइप भने ३ सय एमएमको मात्र छ। ‘पाइप सामान साइजको नहुँदा कार्यालयभित्रबाट बाहिर पानी जान सकेन,सानो पाइपमा पुगेपछि ढल,पानी फर्किर पार्किङमा जमेको हो,’सिंहले भने। 

फेरि ठूलो साइजकै ढल ठेकेदारले हाल्ने काम थालेकाले अब यस्तो समस्या ननिस्किने उनले दाबी गरे।  उनले कहीँ कतै छतमा लिकेज भएमात्र पानी चुहिएको हुन सक्ने र भवनको भने केही समस्या नभएको बताए।

‘यो कार्यालय प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यन्वयन इकाई भवन काठमाडौंले बनाएको हो,’उनले भने,‘पानी जमेपछि अख्तियार टोली पनि आएर अनुगमन गरेका छौँ,अब प्राविधिक टोली खटाएर अरू समस्या देखिए त्यहीअनुसार थप प्रक्रिया थाल्छौँ।’

                                                                                           पार्किङ स्थलमा जमेको पानी

गुणस्तरहीन काम भए अख्तियारले कारबाही गर्ने

कार्यालयमा पानी चुहिएको समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत सोमबार कार्यालयको स्थलगत अनुगमन गरेको थियो।

त्यसबेला छलफल मात्रै भएको बताउँदै आयोगका सूचना अधिकारी बेदप्रसाद भण्डारीले गुणस्तरहीन काम भएको पाइए ठेकेदारलगायत सम्बन्धित कार्यालयलाई कारबाही गर्ने बताए।

‘अस्ति त्यहाँ गएर छलफल मात्रै भएको थियो,गुणस्तरहीन भएको भनी केही निवेदन आए फेरि अनुगमन थाल्छौँ,सञ्चारमाध्यममा प्रकाशित भएको समाचारको आधारमा पनि अनुगमन गरी गुणस्तरहीन भएकाे तथ्य फेला परेमा कारबाही हुन्छ,’भण्डारीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.