तीन वर्षमा २० करोड खर्च

|

काठमाडौं : पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्वरूप फेरिएको छ। नेपाली प्राचिन कला संस्कृति झल्कने कलाकृतिको प्रयोग गरी विमानस्थललाई आकर्षक बनाइएको छ। 

आगमन कक्षको भित्तामा परम्परागत कला, संस्कृति झल्कने चित्रहरू देख्न सकिन्छ। जसले विमानस्थलको सोभा थपिदिएको छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा, परम्परागत आँखीझ्याल, गौतम बुद्धको मूर्ति, विभिन्न सांस्कृतिक सम्पदाले यात्रुको ध्यान केन्द्रित गर्दछ। 

विदेशबाट पहिलो पटक नेपाल प्रवेश गर्नेहरूका लागि नेपालको परम्परा, कला संस्कृतिप्रति आकर्षण बढाउनका लागि  विमानस्थल सजाइएको नागरिक जड्यान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उनले भने,‘हाम्रो कला संस्कृति संरक्षण तथा प्रवर्धनमा यसले सहयोग पुर्‍याउँछ।’

नेपालको समग्र संस्कृतिको झल्को दिनका लागि विमानस्थललाई ‘बुटिक’ बनाउन लागिएको हो। अन्तराष्ट्रिय विमानस्थललाई बुटिक बनाउनका लागि २०७५ सालमा योजना अगाडि बढाइएको थियो। सोही योजनाको काम तीन वटा प्याकेजमा भइरहेको छ। 

प्रवक्ता क्षेत्रीले भने,‘ तीन वटा प्याकेज मध्ये दुई वटाको काम सम्पन्न भइसकेको छ। एउटा अन्तिम चरणमा पुगेको छ।’ उनका अनुसार पहिलो प्याकेजमा विमानस्थल ‘रिनोभेसन’को काम गर्नुपर्ने थियो । जसमा फ्नोरिङ तथा सिलिङ बनाउने काम सकिएको छ। दोस्रो चरणमा आगमन कक्षलाई बुटिक बनाउनु पर्ने थियो। हाल सो काम पनि सकिएको छ।

तेस्रो चरणमा टर्मिनल भवनको विस्तार र भवनको बाहिरको छानो राख्ने काम गर्नुपर्ने थियो। तेस्रो चरणका काम भइरहेको क्षेत्रीले बताए। उनले भने,‘बुटिक विमानस्थलकाे काम अन्तिम चरणमा पुगेको छ, तेस्रो प्याकेजको काम अबको दुई महिनाभित्र सकिने छ।’ 

क्षेत्रीका अनुसार तीन चरणको काम सकिएपछि विमानस्थलको चेकिङ र अराइभल क्षेत्र विस्तारको काम सुरु हुने छ। विमानस्थल आसपासका पसललाई बुटिक बनाउने, टर्मिनल अगाडि वाटर फाउन्टेनलाई बुटिक बनाउने काम बाँकी छ। 

 ३ वर्षमा २० करोड खर्च

सरकारले अन्तराष्ट्रिय विमानस्थललाई बुटिक बनाउनका लागि २०७५ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा योजना अगाडि बढाएको थियो। जसका लागि २९ करोड बजेट छुट्याइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। बुटिक बनाउनका लागि तीन वटा प्याकेजमा छुट्याइएको थियो। सो काम सुरु भएको तीन वर्षमा २० करोड खर्च भएको क्षेत्रीले बताए। 

  

सबै तस्विर  सौजन्य : राजकुमार क्षेत्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.