चौठचन्द्र पर्व भाद्र शुक्ल चतुर्थी तिथिको राति मनाइन्छ। यो चन्द्रमाको पूजा हो। भनिन्छ, यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ।

|

जनकपुरधाम : जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा शुक्रबार चौठचन्द्र पर्व मनाइँदै छ। यो पर्व भदौको शुक्लपक्ष चौथी तिथिमा मनाइन्छ। मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।

चौठचन्द्रमा व्रत बस्ने चलन छ। यसका माध्यमबाट मैथिल कला संस्कृतिसमेत उजागर हुन्छ। खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाउने गरिन्छ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउँछिन्। प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ। फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार गरि पूजामा व्यस्त छन्।

मिथिला क्षेत्रमा यो पर्व हेमांग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ। ठाकुर आफै ज्योतिष थिए। उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले पर्वको सुरुवात गरेको मान्यता छ।

मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहीआएको छ।

चौठचन्द्र पर्वको महत्व

चौठचन्द्र पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित रहेको संस्कृतिविद तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले बताए। उनले भने, ‘हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन। यसमा कुनै तामझाम हुँदैन। यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घरआँगनबाट उत्पादन भएको प्रयोग हुन्छ।’

उनका अनुसार मानिस जन्म लिएपछि उनीहरुले सूर्य र चन्द्रमालाई मात्र नहेरेर बाँकी सबै देवीदेवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ।

चौठचन्द्र पर्व भाद्र शुक्ल चतुर्थी तिथिको राति मनाइन्छ। यो वास्तवमा चन्द्रमाको पूजा हो। भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ।

पर्वको प्रारम्भ

मिथिला क्षेत्रमा मनाईने विभिन्न लोक पर्वको प्रारम्भबारे प्रमाणिक त्यस्तो केही उपलब्ध छैन। जसरी यो समाजले आफ्नो आवश्यकता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे। त्यो कतै अभिलेखमा पाइँदैन। यो पिँढी दर पिँढी हस्तान्तरण हुँदै आयो। तर पनि केही अवधारणा यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छन्– जुन यसप्रकार छन्।

मिथिला क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन्। कृषि कर्मबारे उनका वचन अत्यन्त सटीक हुन्थे। आज पनि मिलेका छन् तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ।

एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिइसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गईसकेको हुन्छ। यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकोले यसको व्यवहार त्यसभन्दा अगाडीदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ।

चौठचन्द्रको कथा

मिथिला क्षेत्रमा मनाउने चौठचन्द्रको विभिन्न प्रचलित कथा रहेको शिक्षाविद वयोवृद्ध शिक्षक रमापति चौधरी बताउँछन्। उनका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमयन्तक मणिको प्रसंगमा लागेको कलंकबाट मुक्त भएकाले यसको पौराणिक महत्व पनि स्थापित भएको छ।

त्यसैगरी श्रीमद्भभागवतमा पनि एउटा कथा रहेकोे छ। द्वापरमा द्वारिकापुरीमा सत्रजित नामक एउटा गरिब यादवले भगवान सूर्यको आराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले। उनी छिट्टै धनाढ्य हुन पुगे। चारैतिर यो खबर फैलियो। एकदिन राजाको दरबारमा सत्रजित गलामा मणि धारण गरेर नै पुगेछन्। मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै झलमल्ल भयो।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे। तर उनले मानेनन् र बहाना बनाई घर फर्किहाले। घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए। कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँका बलशाली भालुले हात पारे।  उनी त्रेता युगमा भगवान रामको सहायक थिए। भालुको निवास एउटा विशाल गुफामा थियो।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजाकहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो। आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्ष्यहरुको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे। १० दिनमा पनि गुफाबाट श्रीकृष्ण बाहिर न आएपछि सँगै आएका सैनिकहरु निराश भई राजधानी फर्के। त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो।

समय बित्दै जाँदा २८औं दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ लिएर राजधानी फर्के। वास्तवमा जाम्बवान भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्बवतीलाई लिएर उनी आएका थिए। त्यो दिन भाद्र शुक्ल चतुर्थीकै दिन थियो। श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.