|

भक्तपुर : लोपोन्मुख भइसकेको सूर्यविनायक गणेशको खट जात्राले यसवर्ष पुनर्जीवन पाएको छ।

स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं. ६ र ८, ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सक्रियतामा दशकौंपछि गणेश चतुर्थीको अवसरमा शुक्रबार जात्रा सञ्चालन भएको हो।

हरेक वर्ष गणेश चतुर्थीको दिन सूर्यविनायकको जन्मोत्सवको रुपमा गणेशलाई खटमा राखी सिन्दुर छर्कंदै नगर परिक्रमा गराई मनाइने यो जात्रा सञ्चालन नभएको ५ दशकभन्दा बढी भइसकेको स्थानीय बताउँछन्।

सूर्यविनायक मन्दिरको प्रांगणबाट शुरु जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चा टोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाँउलगायत टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गरिएको थियो। जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सहभागिता थियो।

‘यो जात्रा परापूर्वदेखि चल्दै आएको जात्रा हो। तर बीचमा रोकिएको दशकौं भयो। गतवर्षदेखि पुनः सञ्चालन गर्ने तयारी भएपनि कोरोनाका कारण सम्भव भएन। यस वर्ष जात्रा सुरु गर्न सफल भएका छौं,’ जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले भने। उनले जात्रालाई अब निरन्तरता दिने बताए।

सूर्यविनायक मन्दिर सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा छ। सूर्यविनायकको जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुथीहरु पनि दुई वटै वडाको क्षेत्रमा रहेको छ भने जात्रामा दुई वटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा छ।

त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुई वटै वडाले २/२ लाख बजेट विनियोजन गरेको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापामगरले बताए।

‘जात्रा करिब करिब लोप हुने अवस्थामा पुगेकोले यसको संरक्षणका लागि यसवर्ष वडाबाट समेत बजेट विनियोजन गरी जात्रालाई फेरि जीवन्त बनाएका छौं’, थापाले भने।

काठमाडौं उपत्यकाका ४ प्रमुख विनायकमध्ये एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन्। यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुई पटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको राजथलाले बताए।

गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने यो गणेशको मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ बैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पुजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको उनले बताए।

स्थानीय वडाबाट बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन सहज भएको संयोजक राजथलाको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.