|

काठमाडौं : सदाझैँ शनिबार बिहान पनि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि ठूलै भिड थियो। अन्तर्राष्ट्रिय विमानस्थल यस्तो संगमस्थल हो, जहाँ वर्षौं छुटेका आफन्तको मिलन र अब वर्षौं छुटिनुपर्नेहरूको कथा एकैपटक देखिन्छ।

एकातिर मलिन अनुहार,रसाएका आँखाको आँसु पुछ्दै,फिक्का हाँसोका साथ बिदाइका हात हल्लाइरहेकाको भिड, अर्कातिर वर्षौं छुटिएका आफन्त नेपाल फर्कंदा खुसी।

विमानस्थलमा देखिने यस्तो दृश्य नौलो भने होइन। तर, त्यही माझमा अलि फरक दृश्य पनि थियो। रातो रङको कुर्ता सुरुवाल,मुखमा मास्क,मलिन अनुहार,आँखाबाट झरेका आँसुलाई रुमालले पुछ्दै अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि बसिरहेकी थिइन् राधा ज्ञवाली। उनका ती भिजेका आँखाले विमानस्थलको कार्गो फलामको ठूलो गेटतर्फ हेरिरहन्थ्यो।

सामान्यतया कार्गोबाट सामान आउने गर्दछ। तर, उनी सामानको पर्खाइमा थिइनन्। विदेशमा अस्ताएका आफ्ना श्रीमानको अस्तु पर्खिरहेकी थिइन्। मलेसियामा ४० वर्षीय श्रीमानको मृत्यु भएपछि अस्तु लिनका लागि रुपन्देहीबाट आएकी हुन्। उनको साथमा २३ वर्षीया छोरी आएकी थिइन्। आठ वर्षदेखि विदेशिएका श्रीमान नेपाल आउने आशामा बसेकी ज्ञवालीले जिउँदो शरीरलाई स्वागत गर्न पाइनन्।

'यही वर्ष दशैँमा घर आउँछु भन्नुभएको थियो', उनले गहभरी आँसु पार्दै भनिन्,‘दशैँ आउनु अगाडि अस्तु आइपुग्यो।'

परिवारको आर्थिक अवस्था सुदृढ गर्न र छोराछोरीको उज्‍ज्वल भविष्यका लागि ज्ञवाली ०७० मा रोजगारी खोज्दै मलेसिया गएका थिए। गणेशले त्यहाँको एक कम्पनीमा काम गर्दथे। रेष्टररेन्टसमेत चलाएका थिए। कमाई पनि राम्रै थियो। करिब डेढ महिना अगाडि गणेशलाई कोरोना पोजेटिभ देखियो। तर, उनले घरमा भनेका थिएनन्।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले छोरी निकितालाई फोन गरेर आफूलाई कारोना लागेर निको भएको सुनाएका थिए। कोरोना रिपोर्ट नेगेटिभ आएको केही दिनमा सास फेर्न गाह्रो भएर उनी अस्पताल गएका थिए। 'अस्पतालमै मृत्यु भएको खबर आयो। १५ दिन अगाडि नै मृत्यु भएको  खबर पायौँ ', छोरी निकिताले  भनिन्।

​कोरोनाले मृत्यु भएकाको शव ल्याउन नमिल्ने भएपछि अस्तु भए पनि आफ्नै हातले सेलाउनका लागि नेपाल मगाएको निकिताले बताइन्। ‘बुबाको साथमा बस्‍न त पाइएन लाश पनि ल्याउन पाइएन,सानो बाकसमा आएको अस्तु भने पनि बुबाको अन्तिम संस्कार गर्न मगाएका हौं', उनले भनिन्।

'हामीलाई अभिभावकत्व दिने आमा हुनुहुन्छ। तर, आमाको दु:खमा साथ दिने बुबा अब यो संसारमा हुनुहुन्न', छोरी निकिताले भनिन्, 'मेरो  आमा यो दुनियाँकै अभागी हुनुहुँदो रहेछ। जसले श्रीमानको लाशसमेत देख्न पाउनुभएन।

छोरीले बोलेको कुरा सुनिरहेकी राधाले आँसुको धारा बगाइन्। तर, ती आँसु पुछिदिने उनका श्रीमान अस्तु बनेर एउटा बन्द प्लाष्टिकभित्र सीमित थिए।

गणेश जस्तै वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार मलेसियाबाट ११ वटा अस्तु र ६ वटा शव नेपाल ल्याइएको छ। शनिबार बिहान ती शव नेपाल आइपुगेका हुन्।

ल्याइएका शवहरू सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वत जिल्लाका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.