|

काठमाडौं : छिमेकी देश भारतको केरलामा निपा भाइरस देखिए पछि नेपालमा पनि जोखिम हुने भन्दै सरकारले अस्पतालहरूलाई सजग रहन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै इर्वास (अर्ली वार्निङ रिर्पोटिङ सिस्टम) सेन्टिनेल साइट तथा अस्पतालहरूलाई सजग रहन एक सय १८ वटा अस्पतालाई निर्देशन दिएको छ।

नेपालमा यसको जोखिम कति छ?

महाशाखाका प्रमुख डा कृष्ण पौडेलले हालसम्म नेपालमा यसको संकास्पद विरामी नभेटिए पनि खुल्ला सीमा भएको छिमेकी देशमा देखिएपछि जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन अस्पतालहरूलाई निर्देशन दिएको बताए। ‘हाम्रोमा अझैसम्म यसको संकास्पद केश भेटिएको छैन तर खुल्ला सीमा जोडिएको देशमा देखिएपछि सजग रहनु पर्छ’ उनले भने।

रोगको एकिन निदान नहुँदै वा तीव्ररूपमा बिरामीको स्वास्थ्य अवस्था विग्रिदै गएका वा मृत्यु भएका विरामीहरूको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरण गर्ने प्रबन्ध इर्वास रिर्पोटिङमार्फत सूचित गर्न अस्पताललाई निर्देशन दिएकाे पाैडेलले बताए। उनले यस किसिमको अवस्था स्वास्थ्य संख्यामा देखिएमा विरामीहरूको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छिटो पठाउन अस्पतालहरूलाई निर्देशन दिएको पनि जानकारी दिए।

के हो निपा भाइरस ?

निपा भाइरस पशुबाट मानिसमा सर्ने र मानिसमा सरेपछि मानिसबाट मानिसमा सर्ने एक प्रकारको सरूवा रोग हो। याे भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोग संक्रमित चमेरो, सुगुर तथा मानिसको प्रत्यक्ष सम्पर्कमा आए सर्ने गर्दछ। यो संक्रमणलाई सबैभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

निपा भाइरस निकै छिटो फैलिने भाइरस हाे। जसले जनावर र मानिसलाई गम्भीर रूपमा बिरामी बनाउँछ। निपा भाइरस भएका मानिसको मृत्युदर झण्डै ७० प्रतिशत रहेको बताइन्छ।

२०१६ सालमा नेपालमा पनि निपा भाइरस फैलिएको आशंका गरिएको थियो। मोरङको लेताङ र राजविराजमा झण्डै ७-८ जना बालबालिकाका मृत्यु भएको थियो।

मानव शरीरमा कसरी असर गर्छ ?

चिकित्सकका अनुसार निपा भाइरस मानव शरीरमा छिरेपछि तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र धेरै टाउको दुख्ने र इन्सेफ्लाइटिस हुने र मानिसको मृत्युसमेत हुने गर्दछ।

संक्रमणको सुरुवाती चरणमा सास फेर्न गाह्रो हुन्छ। केही बिरामीहरूलाई स्नायुसम्बन्धी समस्या हुने भए पनि श्वासप्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ। यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्न सक्छ। यसको सुरुवाती लक्षण भने ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने र टन्सिलाइटिस हुने र विस्तारै शरीर अन्य गम्भीर समस्या देखाउँदै जाने गर्दछ।

यसरी बच्न सकिन्छ निपा भाइरसबाट

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार निपा भाइरसको हाल सम्म कुनै औषधि र खोपसमेत नबनेको हुँदा यसबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प भएको बताउँछन्। 

उनका अनुसार सकेसम्म सुगुर र जंगलबाट ल्याइने फलफूलहरू खादा सावधानी अपनाउनु पर्ने बताए। 'निपा भाइरसबाट बच्न, सुगुरको मासु खाँदा र जंगलबाट ल्याइएका फलफूल खाँदा विशेष ध्यान पुर्‍याउनु पर्छ, यस्ता खानेकुराबाट यो भाइरस सर्ने सम्भावना धेरै हुन्छ' उनले भने।

यस्तै हाम्रो देशमा धेरै कृषि पेशा अपनाउने हुँदा खेतबारीमा काम गर्न जाँदा विषेश सावधानी अपनाउनुपर्ने समेत उनले बताए। फलफूल राम्रोसँग पखालेर खाने, तरकारी राम्रोसँग पकाएर खाने, गाईवस्तुको गोठ र फार्महरू सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्रै पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भिडभाड जाँदा मास्क लगाउने गर्नुपर्छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.