|

चितवन : साउन महिना लागेसँगै उच्च बनेको कोरोना संक्रमणदर विस्तारै घट्दै गएको छ। जिल्लाका र बाहिरबाट उपचारका लागि आउने संक्रमितको संख्या पनि घट्दै गएको छ।

गत साउनमा दैनिक २०० हाराहारीमा संक्रमण रहेकामा यही भदौ लागेसँगै संक्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा संक्रमण पुष्टि भएको थियो। यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा संक्रमण देखिएको थियो। साउन मसान्तबाट यो संख्या घट्दै गएको हो। साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो संख्या थप घट्दै गएको हो। कार्यालयको तथ्यांक अनुसार भदौ १ गते १०६ मा संक्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको  थियो। भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुग्दा यो संख्या ४१ मा झरेको छ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा संक्रमण देखिएको थियो। भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिइन्।  साउनमा संक्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो संख्या ३४ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

उनका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय संक्रमित छन्। तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन्। जिल्लामा हालसम्म २५ हजार १९३ संक्रमण पुष्टि भएको छ। तीमध्ये ४०५ को मृत्यु भइसकेको छ। संक्रमितमध्ये जिल्लामा धेरै महानगरका छन्। जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताइन्। साउनको अन्तिम साता जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजार ५०० पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.