|

भोजपुर : भोजपुरमा कार्यालय स्थापना भएको वर्षदिन नपुग्दै १७ करोड बढी राजस्व संकलन भएको छ। स्थानीयको लामो समयदेखि धरान, धनकुटा पुगेर कर तिनुपर्ने बाध्यता अन्त्य भएपछि करको दायरामा आउनेको संख्या बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा रु.१४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले जानकारी दिए। यो आर्थिक वर्षका साउन महिनामा मात्र तीन करोड बढी राजस्व संकलन भएको कार्यालयको भनाइ छ।

अधिकृति न्यौपानेले भने, ‘कार्यालय स्थापना भएर यहीँबाट सेवा सञ्चालनमा आएपछि करको दायरामा आउने मानिसहरुको संख्या उल्लेख्य रहेको छ। यो आर्थिक वर्षको पहिलो महिना (साउन) मा मात्र तीन करोड राजस्व संकलन भएको छ।’

कार्यालय स्थापना हुँदाको अवस्थामा तीन हजार ८ सय ९३ करदाता रहेकोमा एक वर्षको अवधिमा दुई हजार ३२१ नयाँ करदाता थपिएर अहिले छ हजार २१४ पुगेको अधिकृत न्यौपानेले बताए।

‘करदाताको संख्या झण्डै ५० प्रतिशतले बढेको छ। यो यही कार्यालय स्थापना भएको सकारात्मक प्रभाव पनि हो। हुन त  अन्य ठाउँको तुलनामा खासै ठूलो रकम त होइन यदपि, यहाँको बजारको अवस्था, भूगोल, जनसंख्या, उद्योग व्यवसायलाई हेर्दा यो धेरै ठूलो उपलब्धि हो।’ कर अधिकृत न्यौपानेले भने, ‘हामीले करसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ। सेवाग्राहीको कामलाई छिटो छरिटो बनाउँदै काममा प्रभावकारिता कायम गरिरहेका छौँ। जसकारण पनि करदाताको संख्या दैनिक रूपमा थपिँदै गएको अवस्था छ। कार्यालय स्थापनाको एक वर्ष पनि पुगेको छैन, त्यसैले केही वर्षपछि यसमा अझ विकास हुने अवस्था छ।’

हालसम्म  आयकर रु.नौ करोड ६८ लाख ३२ हजार, घर बहाल कर रु. एक करोड २४ लाख ७२ हजार, ब्याज कर रु. आठ लाख २५ हजार, मूल्य अभिवृद्धि कर रु. ६ करोड २२  हजार र अन्तशुल्क रु.१८ लाख ५४ हजार संकलन भएको कार्यालयले जनाएको छ। 

 जिल्लामा कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएसँगै करको दायरामा आउनेको संख्या दिनानुदिन बढी रहेको कार्यालयको भनाइ छ। विगतका दिनमा कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिन लगाएर धरान धनकुटा पुग्नुपर्ने बाध्यता थियो।

तर, गत वर्षको असोज महिनामा यहाँ नै कार्यालय स्थापना भएपछि स्थानीयको त्यो अवस्था अन्त्य भएको छ।

स्थानीय आङलाक्पा लामाले भने, ‘ढिलै भए पनि जिल्लामा कार्यालय स्थापना भएको छ। विगतका दिनमा चारदिनसम्म लगाएर कर तिर्न गएको तीतो अनुभव छ। तर, अहिले आफ्नै जिल्लामा कर तिर्न पाउँदा निकै खुसी लागेको छ। यसले हामी जस्ता सर्वसाधरणलाई निकै ठूलो सेवा पुगेको छ।’

कार्यालय आसपासमा बैंकका शाखा नभएकाले बैंकमार्फत राजस्व भुक्तानी गर्न केही झन्झट भएकोले नजिकै बैंकको शाखा स्थापान गर्नु पने उनीहरूको माग छ।

 कार्यालय स्थापना भए पनि कर तिर्नमा स्थानीयहरु जागरुक भएको कार्यालयको भनाइ छ। साना करदाताहरूले असोज समान्तसम्म कर बुझाउन सक्ने कार्यालयले जनाएको छ। साना व्यवसायीहरूलाई कर तिर्न, स्थायी लेखा नम्बर  लिनलगायत काम गर्न सहज भएको छ।

करदाता सेवा कार्यालयमा अनलाइन सेवासमेत सञ्चालन भएकोले २० लाखसम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरुले घरबाटै कर तिर्न सक्नेसमेत कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.