सम्झौताको मिति सकिँदा पनि कुनैमा ट्रष्ट मात्रै राखियो, कुनैको जगसमेत खनिएन

|

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर चोकमा बढी पैदल यात्रुको चहलपहल हुने भएपछि आकाशे पुल बनाउने योजना सडक डिभिजन कार्यालय काठमाडौंले तीन वर्ष अघि बनायो। सोही योजनाअनुसार आकाशे पुल निर्माणका लागि डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भयो।

आकाशे पुल निर्माणका लागि चार करोड रुपैयाँमा सम्झौता भएको हो। सम्झौता अनुसार आकाशे पुल २०७६ पुस मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने हो। तर‚ म्याद सकिएको आठ महिना भइसक्दा पनि निर्माण सकिएको छैन। यो अवधिमा पुलको ट्रष्ट मात्रै राखिएको छ। २०७८ जेठ २६ गते क्रेनको सहायताबाट पुलको ट्रष्ट राखिएपछि कुनै काम भएको छैन। 

ट्रष्ट राख्नुअघि पिल्लर मात्र उभ्याइएको थियो। जसकारण सर्वसाधारण ओहोरदोहोर गर्न समस्या भएको थियो। तत्काल काम थाल्न स्थानीयले विरोध र माग गरेपछि बल्ल ट्रष्ट हालियो।

थपिएको अवधिमा पनि जगसमेत खनिएन

डिभिजन कार्यालय काठमाडौंले कोटेश्वर चोकमा पनि पैदल यात्रुको सहजताका लागि आकाशे पुल बनाउने योजना अघि सारेको थियो। सोही अनुरूप पुल निर्माण गर्न प्राकृतिक/पवन/जेभीले नै २०७५ साल चैत २५ गते दुई करोड ८९ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको छ। सम्झौतामा २०७६ पुस मसान्तसम्म पुल ठड्याइ सक्नुपर्ने उल्लेख छ। 

सम्झौताअनुसार काम नभएपछि २०७७ पुस मसान्तभित्र काम सक्ने गरी पुनः सम्झौता भयो। तर‚ यो अवधिमा पुल बनेन नै हालसम्म पुलका लागि जग समेत खनिएको छैन। ।  

यसो भन्छ सडक डिभिजन कार्यालय

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली अहिले पनि नयाँ बानेश्वरको निर्माणधिन आकाशे पुलको काम भइरहेको दाबी गर्छन। ‘काम रोकिएको छैन, काम भइरहेको छ,’ उनले भने, ‘पुलको ट्रष्ट हालिसकिएको छ, अब पैदल हिँड्ने भर्‍याङ मात्र हाल्न बाँकी छ। यो महिनाभित्रमा सबै काम सकिन्छ।’ 

त्यहाँ काम गर्ने कर्मचारीमा कोभिड-१९ संक्रमण भएकाले काम ढिलाइ भएको उनले प्रष्टीकरण दिए। ‘यो एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने मोभेबल पुल हो,’ नेपालीले भने, ‘सबै संरचना जोड्नुपर्ने हुन्छ, तर कामदारलाई कोभिड भयो।’

अहिलेसम्म उक्त पुल निर्माणमा एक करोड ७० लाख रुपैयाँ खर्च भएको उनले बताए। नेपालीले कोटेश्वरमा बनाउने पुल योजना भने रद्द गरिएको जानकारी दिए।

‘आकाशे पुल बनाउने हाम्रो योजना थियो, तर नागरिक उड्डयन प्राधिकरणले हवाईजहाज उड्ने, अवतरण हुने बेलामा पुलले समस्या निम्त्याउने भन्दै नबनाउन लिखित पत्र नै हामीकहाँ पठाएको छ, त्यसैले अब त्यहाँ बन्दैन,’ उनले भने।

त्यस क्षेत्रमा आकाशे पुल निर्माणका लागि छुट्याएको बजेट अन्त ठाउँमा नै पुल बनाउने योजना रहेको प्रमुख नेपालीले बताए। उनका अनुसार नयाँबानेश्वको सिभिल अस्पताल अगाडि, महाराजगञ्जको टियु टिचिङ हस्पिटल र बबरमहलको काठमाडौं जिल्ला अदालत अगाडि अपांगतामैत्री आकाशे पुल बनाउने सडक डिभिजन कार्यालयको योजना छ।

जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि जोरपाटीमा काम थालिएन

गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक योजना तथा कार्यक्रममा बढी चहलपहल हुने जोरपाटी चोकमा आकाशे पुल निमार्ण गर्ने योजना समेट्यो। यसका लागि दुई करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको थियो।

पुल बन्ने खबरले स्थानीय र पैदल यात्रु हर्सित भएका थिए। तर‚ उक्त योजना कागजमा मात्रै सीमित भयो। नगरप्रमुख सन्तोष चालिसे लगायत जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि आकाशेपुलका लागि जोरपाटी चोकमा जगसमेत खनिएको छैन। जनप्रतिनिधिले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ।

पुल नबने पनि नगरपालिकाले बर्सेनि नीति तथा कार्यक्रममा भने उक्त पुल बनाउने योजना समावेश गर्ने गरेको छ। यता, नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले पुल निर्माण गर्न डिजाइन तयार भैसकेको जानकारी दिँदै अब तत्कालै काम थाल्ने बताए।  उनले भने, ‘छिट्टै काम थाल्छौं, हाम्रो कार्यकालभित्र पुल बन्छ।’

जयबागेश्वरीको आकाशे पुल निर्माण किन रोकियो? 

काठमाडौं महानगरपालिकाले गौशलास्थित जयबागेश्वरीमा बनाएको आकाशे पुल पनि फलामको खम्बा मात्रै ठडिएको लामो समय बितिसक्दा पनि अरु काम अगाडि बढेको छैन। ठडिएको फलाममा खिया लागेको छ। झार पलाएका छन्।

समयमा पुल नबन्दा त्यही ठाउँबाट सडक पार गरी पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजन र हिँड्ने पैदल यात्रुलाई जाेखिम छ। महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार व्यवस्थित नगरिएकाले काम रोकिएको बताए। उनका अनुसार उक्त क्षेत्रमा ११ हजार भोल्टेजको बिजुली तार र पोल छन्।

ती तार भूमिगत भएपछि मात्रै पुल बनाउन सकिने अवस्था छ। ‘प्राधिकरणलाई तार भूमिगत गर्न भनि अनुरोध गर्दा करिब ११ लाख भूमिगतका लागि खर्च माग्यो,’ प्रमुख थापाले भने‚ ‘महानगर दिन तयार भयो, काम सकेपछि भुक्तानी गर्छौं भन्दा पनि मानेन, तत्कालै भुक्तानी गर्नलाई लेखामा फायल बुझाएको छु।’

उनका अनुसार प्राधिकरणलाई पैसा दिएपछि तार व्यवस्थित गर्ने काम तत्कालै थाल्ने छ। दशैं आसपासमा रोकिएको काम पुनः सुरु हुने थापाले बताए। उक्त पुल निर्माणका लागि महानगरपालिकाले ७५ लाख बजेट बिनियोजन गरेको छ। चाबहिल चोकमा आकाशे पुल बनाएको ठेकेदार कान्छामान निर्माण सेवाले नै त्यहाँको पनि ठेक्का पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.