|

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) दलले आधिकारिकता पाएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। प्रदेशमा नेकपा एमाले विभाजन र एकीकृत समाजवादीले आधिकारिकता पाएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनको सक्रियता बढेको छ।

प्रदेशको मुख्यमन्त्री बनेको एक सातामा नै अल्पमतमा परेकी शाक्य आइतबार एकीकृत समाजवादीले आधिकारिकता पाएसँगै कानुनी रूपमा पनि अल्पमतमा परेकी हुन्। निर्वाचन आयोगले दल परिवर्तन गरेका सांसदलाई मान्यता दिएको पत्र आइतबार प्रदेशसभामा आएपछि एमाले विभाजनबाट बनेको समाजवादीले औपचारिकता पाएको थियो।

औपचारिकता पाएसँगै समाजवादीले संसदीय दलको पहिलो बैठक बसेर दलको नेता चयन गरेको छ भने मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारलाई समर्थन नदिने निर्णय पनि गरेको छ।

एकीकृत समाजवादीको आधिकारिकता कुरेर बसेको विपक्षी गठबन्धनले सोमबार बिहान बैठक बस्ने बताएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले सोमबार शाक्य नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।

उनले गठबन्धनमा रहेको समाजवादीले आधिकारिकता पाएपछि बस्ने बैठकले सरकारविरुद्ध कसरी जाने निर्णय गर्ने बताए। ‘हामीसँग दुई विकल्प छन्। सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने कि बहुमत पुर्‍याएर सरकार बनाउन प्रदेश प्रमुखकोमा जाने। जुन प्रक्रियाबाट छिटोभन्दा छिटो सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन सकिन्छ, त्यही प्रक्रियाबाट हामी अघि बढ्छौं,’ उनले भने। उनले शाक्य नेतृत्वको सरकारको आयु धेरै दिनको नभएको दाबी गरे।

यसैगरी, बागमतीमा सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसले पनि सोमबार संसदीय दलको बैठक बोलाएको छ। प्रदेशमा विपक्षी गठबन्धनको सरकार गठनको आन्तरिक तयारी गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

प्रदेशसभा सचिवालयको कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार दिउँसो २ बजे बैठक बस्ने तय भएको सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए। मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको र गठबन्धनको सरकार बन्ने निश्चित भएकोले सोबारे छलफल गर्न दलको बैठक बोलाइएको उनको भनाइ छ।

सरकारको नेतृत्व कस्ले गर्ने भन्ने टुंगिएसँगै मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर अगाडि बढ्ने तयारीमा विपक्षी गठबन्धन छ।

मुख्यमन्त्रीमा  समाजवादीको दाबी

निर्वाचन आयोगबाट मान्य भएर प्रदेशसभामा आधिकारिकता पाएसँगै एकीकृत समाजवादीले मुख्यमन्त्री आफैंले पाउने दाबी गरेको छ। समाजवादीको दलका नेता राजेन्द्र पाण्डेले बागमती सरकारको नेतृत्व आफूले नै गर्ने दाबी गरेका हुन्।

उनले ७ वटा प्रदेशमध्ये एउटामा जनता समाजवादीले नेतृत्व गरेको र ६ वटा प्रदेशमा ३ वटा पार्टीले २/२ वटा भाग लगाएको स्थितिमा बागमती प्रदेशमा समाजवादीले नै मुख्यमन्त्री पाउने बताए।

गण्डकी प्रदेशमा कांग्रेसले नेतृत्व गरिरहेको भन्दै कर्णाली प्रदेशमा पनि माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय भएको हुँदा बागमती र प्रदेश १ मा समाजवादीलाई नेतृत्व गर्न दिने केन्द्रीय गठबन्धनका शीर्ष नेताको समझदारी भएको उनको भनाई छ।

पाण्डेले बागमतीमा कांग्रेस संसदीय दलको नेता ईन्द्र बानियाँको दाबी रहे पनि आफू नै मुख्यमन्त्री हुने दाबी गरे। ‘उहाँले चाहना गर्नुभएको हुनसक्छ। तर, गठबन्धनको निर्णयअनुसार अगाडि बढ्ने कुरा भएको हुँदा बागमती सरकारको नेतृत्व समाजवादीले गर्नेछ। त्यहीअनुसार नै कुरा अगाडि बढिरहेको छ,’ उनले भने।

बागमती प्रदेशसभामा एमाले ४३ सांसदका साथ पहिलो, २३ सांसदका साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसदका साथ कांग्रेस तेस्रो, १३ सांसदसहित नेकपा एकीकृत समाजवादी चौथो, ३ सांसद भएको विवेकशील साझा पाँचौं, २/२ सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौं र सातौं स्थानमा छन्।

प्रदेशसभामा एक जना सांसद स्वतन्त्र छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.