पार्टी फुटेको बेला सहयोग गरेकोमा लेखराजलाई जिम्मेवारी

|

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्।

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा छलफल गर्न आइतबार बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायत नेतालाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। लेखराज नै इन्चार्ज रहेको बताउँदै एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्नसमेत आग्रह गरेका छन्।

सुदूरपश्चिमको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरू भट्ट र थापा बालकोट पुगेका थिए। छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए। तर, रावलले भने १० बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए।

१० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो। १० बुँदेअनुसार एमाले पार्टी संरचना २ जेठ ०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने अडान रावलले लिए।

तर, ओलीसँगै अरू नेताले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने राय राखेको बैठकमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार, ओलीले भट्ट इन्चार्ज र प्रदेश अध्यक्ष कर्ण थापा नै हुने बताए।

‘१० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको थियो। तर, जाने त गई नै सके, अब मिलेर चलेको पार्टीमा समस्या ल्याउने गरी भूमिका फेरिँदैन,’ ओलीलाई उद्धृत गर्दै ती नेताले बताए। १० बुँदे कार्यान्वयनमा समस्या देखिएको भन्दै नेताहरू बालकोट पुगेका थिए।

यसअघि रावललाई पार्टी अध्यक्ष बन्नका लागि एमालेमै रहने निर्णय गरेको आरोपसमेत लागेको थियो। पार्टीमै पनि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने चर्चा थियो। अहिले भने ओलीसँग रुष्ट रहेको र प्रदेश इन्चार्जबाट समेत हट्नुपर्ने भन्दै उनी आन्तरिक छलफलमा व्यस्त रहेको बताइएको छ।

ओली किन उभिए लेखराजका पक्षमा ?

एमाले विभाजनपछि पनि पार्टीमा र नेताहरूको जिम्मेवारी फेरबदल भयो। यसअघि एमालेको किचलोका बेला ओलीले जेठ २ अघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका थिए।

तर, एमाले विभाजनपछि जेठ २ अघिको संरचनाअनुसार पार्टीको संगठन सक्रिय हुने भनेर बताए पनि सुदूरपश्चिममा भने पुरानै अवस्थामा नेतृत्व फर्काउन नसकिने अडान ओलीले लिएका छन्। यसअघि १० बुँदेअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान उनी तयार भएका थिए।

जेठ २ अघिको अवस्थामा फर्किएपछि आफू नै इन्चार्ज हुनुपर्ने भन्दै भीम रावलले असन्तुष्टि जनाएपछि ओलीले बोलाएर प्रदेशको नेतृत्वमा लेखराज नै रहने र त्यसमा सहमत हुन रावललाई आग्रह गरेका छन्।

एमालेका एक नेताका अनुसार पार्टी फुटेको बेलामा समेत माओवादीबाट सांसद त्यागेर आएका नेतालाई दिइएको जिम्मेवारी खोसेर अन्याय गर्न नहुने भन्दै ओलीले उपाध्यक्षको हैसियतमा संयोजनकारी भूमिका निर्वाह गर्न रावललाई आग्रह गरेको बताइएको छ।

जेठ २ अघिको अवस्थामा फर्कने नाममा माओवादीबाट आएर एमालेमा जिम्मेवारी पाएका नेतालाई हटाउनु भनेको फर्केर जा भनेको सन्देश हुने भन्दै रावललाई मनाउने काममा अध्यक्षदेखि पार्टीका अन्य शीर्ष नेता जुटेका छन्।

रावल अन्तिम समयमा एमालेमै फर्किएपछि उनले पुरानै भूमिका खोजिरहेका छन्। तर, रावललाई अध्यक्षपछिको संयोजनकारी भूमिका दिने आश्वासन ओलीले दिएका छन्। तर, रावल भने त्यसमा सहमत भइसकेका छैनन्। 

रावल नै इञ्चार्ज भएको दाबी

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट नै हुन् भनेपछि रावल असहमत देखिएको धारणा सार्वजनिक हुन थालेका छन्। रावल निकटका नेताहरूले प्रदेश संयोजक जिम्मेवारी फेरबदल नभएको दाबी गर्दै आएका छन्। 

सोही विषयमा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले थाहाखबरसँग भने, ‘०७५ जेठ २ भन्दा अगाडिको पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल हुनुहुन्छ। त्यहाँ इन्चार्जको व्यवस्था छैन। त्यसो भएको हुनाले सुदूरपश्चिम प्रदेशको संयोजक भने पनि, इन्जार्ज भने पनि पार्टीको मुख्य मान्छे भने पनि भीम रावल नै हुन्। अहिले जे कुरा बाहिर आएको छ त्यो व्यक्तिगत कुरा होला। यस विषयमा आधिकारिक निर्णय भएको छैन।’ 

रावललाई पार्टीको कार्यवाहक अध्यक्ष दिनेबारे भने आफूलाई कुनै जानकारी नभएको उनले बताए। सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन गर्न प्रक्रिया सुरु भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.