काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।
माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।
प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा दुई नयाँ दल अस्तित्वमा आएका छन्।
जसपा नेपाल विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमा बनेको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन्। त्यस्तै नेकपा एमाले विभाजित समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यले सनाखत गरेका छन्।
अहिले प्रदेशसभामा जसपा नेपालका ३९, नेपाली कांग्रेसका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।