|

इलाम : एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ। टोली सोमबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो।  उज्वेकिस्तान प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार दिउँसो टोलीलाई बिदाइ गरेको थियो।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ (असोज २) मा खेल्दै छनोटको सुरुवात गर्नेछ।

यस्तै‚ नेपालले सेप्टेम्बर २१ (असोज ५) मा हङकङको सामना गर्नेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुवरी ६ सम्म हुनेछ।

पुनमले गुमाउँदै उज्वेकिस्तान भ्रमण

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर पुनम जर्घा मगरले मुटुमा समस्या देखिएपछि उज्वेकिस्तानको प्रतियोगिता गुमाउनेछिन्। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रक्षक पुनमको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ। फिफा प्रि कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी)मा मुटुको समस्या देखिएपछि उनले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल समेत गुमाएकी थिइन्।

पछिल्लो समय खेल दौरान धेरै खेलाडीको स्वास्थ्य समस्याका कारण दुर्घटना हुन थालेपछि फिफाले खेलअघि नै स्वास्थ्य जाँच गर्नुपर्ने प्रावधान राखेको छ। सोही प्रावधानअनुसार जाँच गरिँदा पुनमको मुटुमा समस्या देखिएको थियो। शुक्रबार पुनः परीक्षण गरिएको थियो। शनिबार त्यसको रिपोर्टमा पनि मुटुमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। पुनम सन् २०१४ देखि नेपालको नियमित सदस्यको रुपमा रहेकी छन्। 

नेपाली टिम

अन्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना,  हीरा भुजेल, इन्द्र राई, मन्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, र  सिर्जना सिंह।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.