आफू इन्चार्ज भएको दुवैको दाबी, निकटका नेताहरुसँग परामर्श

|

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जमा आ-आफ्नै दाबी गरेका छन्। 

सुदुरपश्चिम प्रदेशको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएर नेता भट्ट नै इन्चार्ज भएको बताएपछि विवाद सुरु भएको हो। 

प्रदेश इन्चार्जमा आआफ्नो दाबी गरिरहेका उपाध्यक्ष रावल र भट्ट दुवै सुदूरपश्चिममा आफू निकट नेताहरुको भेला चलाइरहेका छन्। 

उपाध्यक्ष रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्। भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनसँगै पत्रकार सम्मेलनमा सहभागी भए। 

फरक कार्यक्रममा दुवै नेताले आफैं सुदुरपश्चिम प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन्। धनगढीमा सम्बोधन गर्दै रावलले आफू एमाले उपाध्यक्ष र सुदूरपश्चिम इञ्चार्जको हैसियतमा रहेको बताए।

‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा छु,’ रावलले कार्यकर्ता भेला सम्बोधनको क्रममा पटकपटक भने, ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन।’ 

उता, कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा पनि भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको दाबी गरे। 

पूर्वमन्त्रीसमेत रहेका भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर मलाई प्रदेश इन्चार्ज तोक्नुभएको हो। इन्चार्जको विषयमा कुनै विवाद छैन।’

अध्यक्ष ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। रावल १० बुँदे सहमतिअनुसार पार्टी ०७५ जेठ २ मा फर्किएको र सो अनुसार आफू नै सुदूरपश्चिम इञ्चार्ज भएको दाबी गर्दै आइरहेका छन्। 

सभामुखप्रति आक्रोश 

यस्तै, नेता भट्टले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई भेदभावपूर्ण व्यवहार देखाएको आरोप लगाए। भट्टले निष्पक्ष हुनुपर्ने सभामुख एक पक्षीय भएको आरोप लगाए। 

सभामुखले दिनु पर्ने निष्पक्षता दिन नसकेर माओवादी केन्द्रको कार्यकर्ता बनेको उनको भनाइ छ। आफूहरुलाई माओवादीले कारबाही गरेको सूचना दुई घण्टा भित्रै प्रकाशित गरेर निर्वाचन कार्यालयलाई पठाएको समेत उनले बताए। 

एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगर्नु सभामुखको कमजोरी भएको उनकाे ठम्याइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.