|

विराटनगर : प्रदेश १ सरकार गठन भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन। नेकपा एमालेबाट एकल बहुमत दाबी गर्दै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य ३ सातादेखि ३ सदस्यीय मन्त्रिपरिषदको नेतृत्व गरिरहेका छन्।

मन्त्रिपरिषदलाई पूर्णता दिने उनका प्रयासले सफलता पाएका छैनन्। मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट उनले पहिले आफ्नै समूहमा रहेका २ सांसदलाई मन्त्रिपरिषदमा सामेल गराए।

त्यसपछि विभाजनको पक्षमा उभिएका सांसदलाई फकाउन भदौ २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नगरी पर्खेर बसे। तर, त्यसमा पनि सफलता हात लागेन।

नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तर्फ लागे। ५१ जना सांसदसहित बहुमतमा भएको एमालेका १० जनाले पार्टी छोडेपछि अल्पमतमा पर्‍यो। त्यसपछि उनलाई मन्त्रिपरिषद विस्तार गर्न झन् कठिन भयो।

बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले भूतले खाजा खाने बेलामा मन्त्री बन्दिनँ भनेर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई जवाफ दिएपछि प्रदेश १ मा पनि त्यस्तै अवस्था आउने डरले मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद विस्तार गर्न अझै केही समय पर्खिने योजना बनाएको देखिन्छ।

मन्त्रिपरिषद विस्तार गर्न कुन विषयले जटिल बनाएको छ भनेर सत्तारुढ दल र स्वयं मुख्यमन्त्रीले पनि मुख खोलेका छैनन्। मन्त्रिपरिषद विस्तारबारे प्रश्न गर्दा मुख्यमन्त्री आचार्य खासै खुलेनन्। 'मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ’ भन्ने मात्र छोटो जवाफ दिए।

मन्त्रिपरिषदलाई किन पूर्णता दिन के अप्ठ्यारो छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘समयक्रमसँगै छिटै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ छोटो समयका लागि सांसदहरू मन्त्री बन्न तयार नभएर हो भन्ने प्रश्नमा उनले ‘छिट्टै हुन्छ ’ भन्ने जवाफ मात्र दिएर उम्किए।

मन्त्रिपरिषद विस्तारबारे स्पष्ट जवाफ दिन नचाहेका मुख्यमन्त्री आचार्यले कहिले विश्वासको मत लिनुहुन्छ भन्ने प्रश्नको जवाफ पनि स्पष्ट दिन चाहेनन्। उनले भने, ‘यो पनि छिट्टै हुन्छ।’

प्रदेश १ सरकारले ढिलोमा असोज २३ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। त्यसैले पनि उनलाई मन्त्रिपरिषद विस्तार गर्ने र विश्वासको मत लिन थोरै मात्र समय बाँकी छ।

मुख्यमन्त्री आचार्य सरकारले विश्वासको मत पाउनेमा भने आशावादी देखिए। उनले भने, ‘यो काम गर्ने सरकार हो, काम गर्नका लागि गठन भएको सरकारलाई विश्वासको मत नदिएर कसलाई दिन्छन् र?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.